मेसी र अर्जेन्टिना दबाबमा



लन्डन, (एजेन्सी)

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार बिहान भएको खेलमा अर्जेन्टिना बराबरी नतिजामै खुम्चिएको छ।
बेलो होरिजोन्टेमा भएको खेलमा पाराग्वेसँग १–१ बराबरी खेल्दा लियोनल मेसीले नै इज्जत जोगाएका हुन्। बार्सिलोनाका फरवार्ड मेसीले ५७औं मिनेटमा पेनाल्टी गोल गर्दै टोलीलाई बराबरीमा पु¥याएका थिए। यसअघि पाराग्वेलाई रिचार्ड सान्चेजले गोल गर्दै १–० को अग्रतामा राखेका थिए।

समूह ‘बी’ मा अर्जेन्टिनाले दुई खेलबाट एक अंक जोडेको छ। यसअघि पहिलो खेलमा कोलिम्बायासँग हारेको अर्जेन्टिनाका लागि अर्को चरणमा पुग्न दबाब बढेको छ। अर्जेन्टिनाले आइतबार हुने समूहको अन्तिम खेलमा पाहुना टोली कतारसँग खेल्दै छ। उता कोलम्बियाले कतारलाई १–० ले हराएर दुई खेलमा ६ अंक जोड्दै क्वार्टरफाइनलमा पुग्ने पक्का गरिसकेको छ।

१२ टोलीलाई ३ समूहमा विभाजित गरेर खेलाइएको प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन्। बाँकी २ टोली उत्कृष्ट भएको आधारमा नकआउटमा पुग्नेछन्। यसैले पनि अर्जेन्टिना र स्टार खेलाडी मेसीका लागि दबाब सिर्जना भएको छ। अर्जेन्टिनाले कतारसँग जिते पनि अर्को खेल कोलम्बिया र पाराग्वेबीचको नतिजा कुर्नुपर्ने हुन्छ।

यदि पाराग्वे जितेमा अर्जेन्टिनालाई तेस्रो स्थानमा उभ्याउनेछ। यदि पाराग्वे हारेमा वा बराबरी खेलेमा अर्जेन्टिनाले यदि जितेको खण्डमा अन्तिम आठमा स्थान बनाउन सक्नेछ। हारेमा वा बराबरी खेलेमा पनि अर्को खेलमै निर्भर हुनेछ। समूहमा पाराग्वेको २ अंक छ भने कतारको अर्जेन्टिनासरह १ अंक नै छ।

प्रतिक्रिया दिनुहोस्