स्वस्थ समाजका साधक उदय



कविरस शर्मा

नेपाल टेलिभिजनको सुरुवातका दिनमा विज्ञापनमार्फत् आकर्षक र सुगठित शरीर पस्केर चर्चित बनेका कलाकार हुन् उनी। स्वस्थ र आकर्षक शरीर बनाउन ३० को दशकतिर जिमखाना धाउन सुरु गर्दा क्यामेरा अगाडि उभिनेछु भनेर उनले कहिल्यै सोचेका समेत थिएनन्। आफ्नो आकर्षक शरीरका कारण नै उनलाई नेपाली चलचित्र चोखो माया, दाजुभाई र केही सानो पर्दाको टेलिचलचित्र लगायत च्याम्पियन शूज, स्पार्क शूज, गोल्डेन ईगल बियर, ग्लूकोज डी जस्ता थुप्रै बिज्ञापनमा समेत मोडलिंगको अवसर मिल्यो।

त्यतिखेर उनी कलाबाट भन्दा पनि सुगठित र आकर्षक शरीरका कारण सर्वसाधारणमाझ चर्चित बने। हाल उमेरले ६ दशक पार गरिसकेका उनी नेपालको शारारिक सुगठन क्षेत्रमा नयाँ युगको थालनीकर्ता हुन्। उनी हुन् बडी बिल्डिंगका वरिष्ठ प्रशिक्षक उदय श्रेष्ठ। २०१५ सालमा काठमाडौंको इटुम्बहालमा जन्मेका उनले विभिन्न क्लब हुदंै हाल काठमाडौं बागबजारस्थित अक्सफोर्ड जिम एन्ड फिट्नेस सञ्चालन गरिरहेका छन्। सञ्चालक मात्र होइन, उनले त्यहां प्रशिक्षण पनि गराउनु हुन्छ।

श्रेष्ठको दैनिकी भने कुनै २५ वर्षे युवाको भन्दा कम छैन। उनी अहिले पनि हरेक दिन जिमखाना धाइरहेका हुन्छन्। यो उनको दिनचर्या नै बनेको छ। जिमसँग उनको रोचक दैनिकी जोडिएको छ।

बाल्यकालमा निक्कै दुब्ला थिए उनी। यस्तो अवस्थाबाट परिवर्तन चाहन्थे। जसको एकमात्र विकल्प थियो ब्यायाम। उनी पनि ब्यायामतिर नै आकर्षित भए। तर समय अहिले जस्तो थिएन।

ब्यायामशालाको नाममा नेपालकै जेठो जिम नेपाल ब्यायाम मन्दिर मात्र सञ्चालनमा थियो।
३३ साल ताका उनी पनि त्यहीं पुगे। प्राय जसो ब्यायाम औजारहरू काठबाट निर्मित थियो त्यहां।

जहां उनको ब्यायाम मोहले लय समात्यो। जुन लय उनको करियरकै कोशेढुङ्गा सावित बन्यो। उनले घनश्याम मुखियाको प्रशिक्षणमा ब्यायाम सुरु गरे। अनि आफ्नो दुब्लो शरीरलाई क्रमशः बलिष्ठ र आकर्षक बनाए।

पढाई नबिगार्ने शर्तमा उनको यस्तो क्रियाकलाप आमा दुर्गादेवीलाई सामान्य लागेको थियो। तर त्यसको विपरीत बुवा गोविन्द बहादुरलाई भने फिटिक्कै मन परेको थिएन। ब्यायाम मोहका कारण थुप्रै पटक बुवाको गालीको सामना गर्नुपरेका थिए उनले। त्यसका बावजूद पनि उनी विचलित भएन। ब्यायाममा निरन्तर लागि नै रहे।

अनि पहिले शरीरलाई बलिष्ठ र सुगठित बनाउन ब्यायामतिर होमिएका उदय अब बडी बिल्डिंग प्रतियोगितातिर पनि आकर्षित भए। नेपाली खेलकूद क्षेत्रकै पहिलो बृहत् राष्ट्रिय प्रतियोगिता भएको वर्ष हो २०३८। त्यही साल आयोजित मिस्टर नेपालमा पदक जिते उनले। त्यसपछि मिस्टर काठमाडौंमा पनि आफ्नो तौल (६५ केजीभन्दा माथि) मा उनले स्वर्ण जिते। यसबाट ब्यायाममा नै लागि रहन उनमा थप प्रेरणा मिल्यो। अनि सुरुमा आफुले बरालिँदै खोजी गरेको नेपाल ब्यायाम मन्दिरमा २०४० देखि २०४२ सम्म अध्यक्ष पदमा समेत उनी चयन भए।

जहाँ प्रशिक्षक समेत बनेका उनले राणा शासनविरुद्ध शहादत प्राप्त गरेका शहिद धर्मभक्त माथेमाको नाममा ‘धर्म श्री’ प्रतियोगिता आयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे। जुन अहिले नेपालको बडी बिल्डिंग क्षेत्रकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता समेत बनेको छ। ब्यायाम मन्दिरमा एक कार्यकाल मात्र नेतृत्व गरेका उनी त्यसपछि बडी बिल्डिंगको निर्णायक बन्नतिर लागे।

वि.सं २०४५ सालबाट राष्ट्रिय निर्णायकको मान्यता पाएका श्रेष्ठले वि.सं २०६६ सालबाट अन्तर्राष्ट्रिय निर्णायकको मान्यता समेत प्राप्त गरे। हाल निर्णायकको रूपमा नै तीन दशक लामो यात्रा गरेका उनले त्यसक्रममा बनारसमा सम्पन्न विश्व बडी बिल्डिंग च्याम्पियनशिप लगायत अन्य थुप्रै अन्तर्राष्ट्रियदेखि अनगिन्ती घरेलु प्रतियोगितामा समेत निर्णायकको भूमिका निभाईसकेका छन्।

तर निर्णायक बन्नु अघि नै उनले नेपालको ब्यायाम क्षेत्रमा एउटा आयाम कोरिसकेका थिए। कुरा ४५ सालभन्दा अघिको हो। उनलाई भेट्ने जो कोहीले पनि बडी बिल्डिंग सिकाउन आग्रह गर्थे। जसलाई उनले नजरअन्दाज गर्ने कुरै थिएन। यस्तो आग्रहको ओईरो नै आउन थालेपछि उनले जिमखाना नखोली सूखै पाएन। निजिस्तरबाट शारीरिक सुगठन प्रशिक्षण गर्ने कुनै पनि ब्यायामशाला सञ्चालन नभएको त्यस समयमा उनले ठूलो हिम्मत गरेर ब्यायामशाला खोले। जुन नेपालमा नै पहिलो पटक ब्यक्तिगत लगानीमा सुरु गरिएको जिम भएको उनको दावी छ।

२०४५ सालमा उनले आफ्नो निजी लगानीमा पहिलो पटक ताहाचलमा काठमाडौं जिम सेन्टर खोले। सञ्चालन गरेको छोटो अवधिमा नै त्यहां उनले सोचेभन्दा बढी प्रशिक्षार्थीको ओईरो देखेपछि यो पेशालाई अझ ब्यापक बनाउने निधो गरे। तर पुरानै औजार र ब्यवसायको हिसाबले ताहाचलस्थित जिम पायक नपरेको उनले महसूस गरे। जसलाई सूक्ष्म विश्लेषण गरेपछि उनले पुतली सडकमा आफ्नो जिमखाना सारे। अनि त्यहाँ आधुनिक उपकरण थपे र प्रशिक्षण पनि गराए।

आफ्नो प्रशिक्षणमा उनले थुप्रै खेलाडीहरू जन्माएका छन्। हालसम्म उनले लाखौ खेलाडी उत्पादन गरिसकेको बताउनु हुन्छ। जसमध्ये उनीबाट प्रशिक्षित कतिपय खेलाडीहरूले अहिले राष्ट्रियस्तरमा स्वर्णदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत पदक हासिल गरिसकेका छन्। यसबाट उनी आफूलाई गौरान्वित महसूस गर्छन्।

उनले अहिले पनि ब्यायामलाई निरन्तरता दिइरहेका छन्। समाजको अनेकौं चुनौतीको सामना गर्दै कुलतमा फसेका युवाहरूलाई आफ्नो अथक प्रयासले जिमतिर आकर्षित गराईरहेको छन्। तीमध्ये कतिपय युवाहरूलाई जिम प्रशिक्षण गराई असल नागरिक बनाउन समेत उनी सफल भएका छन्।

बोल्दा सरल र साधारण जीवन शैली रुचाउने शान्त स्वभावका उदयको बागबाजारस्थित अक्सफोर्ड जिम एन्ड फिट्नेसमा अहिले दैनिक डेढ सयको हाराहारीमा प्रशिक्षार्थीहरू ब्यायाम गर्न आउँछन्। जिमबाट अलग हुने कुरा अकल्पनीय भन्ने गरेका उनले ब्यायाम गर्ने तरिका पहिलेको तुलनामा धेरै बदलिसकेको बताउँछन्।

आधुनिक उपकरणको विकाससँगै प्रशिक्षण गर्ने शैलीमा आमूल परिवर्तन आएको छ। अहिले शरीरलाई आवश्यक खुराकको मात्रासमेत वैज्ञानिक आधारमा नापतौल गरी उपभोग गरिन्छ। साधारणतया जिमखाना धाउने जो कोहीले पनि मासिक ५ देखि ८ हजार र प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीले कम्तिमा पनि ५० हजारसम्म डाइट खर्च छुट्याउनु पर्छ।

ँपहिलेभन्दा अहिले ब्यायाम गर्ने शैलीमा देखिएको भिन्नताका कारण नै बिभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन उच्च हुन थालेको हो।ˮ–उनले भने,–ँविभिन्न संघसंस्थाबाट धेरै मान–सम्मान पत्र, अवार्ड, असंख्य आफ्ना प्रशिक्षार्थीहरूको माया, सम्मान पाएको छुँ।

यसले मलाई आनन्दित तुल्याएको छ। वास्तवमा यो ६२ वर्षको उमेरमा अरू क्षेत्रका भनौ सरकारी कर्मचारी भएको भए पेन्सन थापेर घरमै बस्थे, म चाहिँ सुरुदेखि नै खेलसँग आबद्ध भएको हुनाले अल्छीपन अझै सुरु भइसकेको छैन। स्वास्थप्रति युवाहरूको बढ्दो आकर्षणका कारण पनि जिम क्षेत्रमै आफूलाई ब्यस्त राख्ने कसरतमा छु।

युवाहरूको संगतले मलाई झन् जोसिलो बनाइरहेको छ। म जहाँ गएपनि जुन ठाउँमा रहे पनि शारीरिक सुगठन खेलको विकासका लागि निरन्तर रूपमा लागि रहने छु।ˮ

नेपाल आर्म रेस्लिंग संघका संस्थापक अध्यक्ष समेत रहिसेकेका उनी शारिरिक सुगठनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत् देशकै जेठो जिम नेपाल ब्यायाम मन्दिरबाट स्वर्ण पदक तथा अन्य विभिन्न क्षेत्रबाट थुप्रै प्रसंशापत्र, सम्मानपत्रले सम्मानित भइसकेका छन्।

ब्यायामले ँस्वस्थ मन स्वच्छ सोचˮ बनाउने मान्यतालाई आत्मसात गरेको यथार्थ उनलाई भेट्ने जो कोहीले पनि मान्छन्। उमेरले ६ दशक पार गरिसक्दा पनि २५ वर्षे युवा जस्तै जोस जाँगरका साथ ब्यायाममा तल्लीन उनले बडी बिल्डिंगमा विधावारिधी गर्ने सोच समेत बनाएका छन्।

जसको लागि अहिले उनी प्रक्रियामा समेत रहेका छन्। उनको सोचले सार्थकता पाउलान् वा नपाउलान् त्यो भविष्यको गर्वमा नै लुकेको छ, तर उनले बडी बिल्डिंग क्षेत्रमा पुर्याएको योगदान भने अतुलनीय छ।

प्रतिक्रिया दिनुहोस्