नाै मन्त्री र चार सदस्यसचिवले देखेको पौडीपोखरी तयार



बाँके ।
नेपालगञ्ज रंगशालामा निर्माण थालिएको बहुप्रतिक्षित पौडी पोखरी तयार भएको छ । वि.सं. २०६६ सालमा तत्कालिन खेलकुदमन्त्री गणेश नेपालीले शिलान्यास गरेको पौडी पोखरी अहिले आएर तयार भएको हो । शिलान्यास पछि पौडीपोखरीले नौ जना मन्त्री पाएको छ भने चार जना सदस्य सचिव ।

आठौं राष्ट्रिय खेलकुदमा पौडी प्रतियोगिता यही सञ्चालन गर्ने गरी काम थालिएको भएपनि काम नसकिएपछि होटलमा प्रतियोगिता गराइएको थियो । आठौंको पौडी प्रतियोगिता होटलमा आयोजना गरिएपछि खेलसम्बद्धले चर्को आलोचना खेप्नु परेको थियो ।

१८ करोडको लागतमा पौडी पोखरी एक दशकमा तयार भएको हो । नेपालगञ्ज रंगशाला परिसरमा बनाइएको पोखरीको काम सकिएपछि शुक्रबार उद्घाटनको तयारी गरिएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गर्दैछन् ।

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीका अनुसार, २०६६ सालमा डिपीआर तयार गर्न ८ लाख, ०६७ र ०६८ मा डेढ÷डेढ करोड, ०६९ मा एक करोड पैसा आएको थियो । ०७० मा २ करोड ५० लाख रुपैया आएपनि फ्रिज भएर गयो । त्यसपछि ०७१, ०७२ र ०७३ सालमा पौडी पोखरीका लागि पैसा नै आएन । २०७३ पुस १५ गते आठौं राष्ट्रिय खेलकुद आयोजना गर्न नेपालगञ्जका खेल अधिकारीले झण्डा बोकेपछि फेरि पैसा आउन थाल्यो । ०७४÷७५ मा १८ करोड परेकोमा साढे १४ करोडको टेण्डर परेर काम सकिएको छ ।

अब काठमाडौं बाहिर नेपालगञ्जले पौडीका ठूला प्रतियोगिता गराउन सक्ने अध्यक्ष वलीले बताउनुभयो । करोडौका खेल संरचनाहरु बनिरहदा र पौडी पोखरी अलपत्र पर्दा रंगशाला पुग्ने जोकोहीले खल्लो महसुस गर्ने गरेका थिए । नेपालगञ्ज रंगशाला परिसरमा अत्याधुनिक पौडी पोखरी बनेसँगै प्रचण्ड गर्मी झेलिरहेका नेपालगञ्जवासीले त्यहाँ गएर केहीबेर राहतको महसुस गर्ने भएका छन् ।

क्षेत्रीय खेलकुद विकास समितिले निश्चित मापदण्ड बनाएर पौडी पोखरीमा सर्वसाधारणलाई समेत जान सक्ने व्यवस्था गर्ने तयारी गरेको छ । समितिका उपाध्यक्ष नरेन्द्र थापाले पौडी पोखरी क्षेत्रले सञ्चालन गर्ने कि निजी क्षेत्रलाई सञ्चालन गर्न दिने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार, जसले सञ्चालन गरेपनि सर्वसाधारणलाई निश्चित रकम लिएर पौडी खेल्ने सुविधा दिइन्छ ।

पौडी पोखरीमा मासिक ११ देखि १३ लाख रुपैया खर्च हुने आकलन गरिएको छ । होटलको स्वीमिङ पुलमा भन्दा केही सस्तोमा पौडी खेल्ने व्यवस्था मिलाउने तयारी भइरहदा रंगशाला भीडकाभीड हुने अनुमान गरिएको छ । पौडी पोखरी असारसम्म ठेकेदार कम्पनीको जिम्मा रहेको छ । साउनदेखि उसले क्षेत्रलाई हस्तान्तरण गर्छ । पौडी पोखरी तयार भइसकेकाले अहिलेदेखि नै सर्वसाधारणका लागि खुल्ला गर्ने कि ठेकेदारले हस्तान्तरण भइसकेपछि गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको उपाध्यक्ष थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्