स्याक्साफोनमा गुञ्जिए शुभबहादुर



संगीतकार शुभबहादुर सुनामले राजधानीमा स्याक्साफोन गुञ्जाए। जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित स्याक्सामाडौं कार्यक्रममा उनले स्याक्साफोनको मीठो धुन सुनाएर लगातार डेढ घण्टासम्म दर्शकलाई मन्त्रमुग्ध बनाए।

स्याक्साफोनवादनको आफ्नो एकल सांगीतिक साँझमा प्रस्तुत हुँदै सुनामले दर्जनभन्दा बढी गीतका धुन स्याक्साफोनमार्फत प्रस्तुत गरेर दर्शकलाई सांगीतिक आनन्द दिए। शुभबहादुरले कार्यक्रमको शुभारम्भमा स्वागत धुनअन्तर्गत विभिन्न धुन प्रस्तुत गरेर दर्शकको ताली र वाहवाही पाएका उनले आप्mना र अरूका गीतहरूको धुन सुनाएर सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए।

प्रस्तुतिको पहिलो चरणमा संगीतकार सुनामले नेपाली र अंग्रेजी गरेर आठ गीतको धुन स्याक्साफोनमार्फत प्रस्तुत गरे। त्यस क्रममा उनले मलाई नसोध कहाँ दुख्छ घाउ, आँखा छोपी नरोउ भनी, उकाली ओरालीहरूमा, राजमती वामती, मायाँ रे, हुँ यात्री म एउटाजस्ता गीतलाई स्याक्साफोनको धुनमा प्रस्तुत गरेर वातावरणलाई रोमाञ्चक बनाए।

सांस्कृतिक संस्थानका वाद्यवादकबाट प्रत्यक्ष वाद्यवादनमा साथ पाएका सुनामले पहिलो चरणमा हलिउड फिल्म टाइटानिकको माइ हार्ट विल गो अन, गोइङ होमजस्ता गीत स्याक्साफोनमार्फत प्रस्तुत गरेका थिए। उनले पिंक प्यान्थर, समर टाइमजस्ता धुन पनि स्याक्साफोनमा ढालेर दर्शकलाई रोमाञ्चित बनाएको थिए। उनले गोरेटो त्यो गाउँको गीतलाई स्याक्सोफोनमा प्रस्तुत गर्दा त्यस गीतका गायक प्रेमध्वज प्रधानले निरन्तर ताली बजाएर साथ दिए। यस्तै बाबा र जाउ, रेलिमाइजस्ता गीतमा पनि दर्शकले उनको स्याक्साफोन वादनको मज्जा लिए।

५२ वर्षदेखि स्याक्साफोन बजाउँदै आएका सुनामले ७ सयभन्दा बढी गीतमा संगीत गरिसकेका छन्। नेपालका अधिकांश गीतमा स्याक्साफोन पनि उनैले बजाएका छन्। कार्यक्रममा अमुल कार्की ढलीको टिमले सङबर्ड, स्टिल अन माइ माइन्ड र डिस प्यासिटियोजस्ता धुन स्याक्साफोनमा प्रस्तुत गरेको थियो। त्यसै गरी शुभबहादुरकै संगीत र स्याक्साफोन धुनमा उनका नाति रोमिल सेनामले २ गीत लभ विल र स्ट्यान्ड बाइ मी प्रत्यक्षरूपमा गाएर सुनाएका थिए भने गायिका सृष्टि केसीले स्याक्साफोनको धुनमा अंग्रेजी गीत बोनिता गाएकी थिइन्।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले वाद्यवादन कलाको प्रवद्र्वन गर्न सांस्कृतिक संस्थानले शुभबहादुरसँगको संयुक्त आयोजनामा स्याक्सामाडौं आयोजना गरिएको बताए। संस्थानलाई व्यवसायिकरूपमा अघि बढाउन यो कार्यक्रम टिकट बिक्री गरेर आयोजना गरिएको पनि महाप्रबन्धक थापाले जानकारी गराए।

शुभबहादुर भोलि शुक्रबार राजधानीको आर्मी अफिसर्स क्लबमा शुभबहादुर सुनाम एकल सांगीतिक साँझमा प्रस्तुत हुँदैछन्। कार्यक्रममा विभिन्न गायकगायिकाले उनीद्वारा संगीतबद्ध गीत प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्