टुहुरा बालबालिकालाई नगरपालिकाले पढाउने



विमल विष्ट, डोटी ।
बुबाले आमाको हत्या गरेपछि टुहुरा बनेका जिल्लाको दिपायल सिलगढी नगरपालिका वडानं. ३ का पाँच जना बालबालिकाको पठनपाठनको जिम्मा दिपायल सिलगढी नगरपालिकाले लिने भएको छ ।

यहि असार २ गते राति घरायसी विवादलाई लिएर ४५ वर्षीय श्रीमान कृष्ण नेपालीले आफ्नै श्रीमती ४० वर्षीया मीना नेपालीलाई लुगा काट्ने कैंची प्रहार गरी विभत्स हत्या गरेका थिए ।

आमाको हत्या अभियोगमा बुबा पनि जेल जाने भएपछि उहाँका छोराछोरी टुहुरा बनेका हुन् । कृष्णका ५ छोराछोरीमध्ये जेठो छोरी सृजना कक्षा ११ मा पढ्दैछन् । २० वर्षीया सृजनालाई तत्काल कुनै रोजगारीमा जोड्नका लागि पहल गर्ने दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सृजनालाइ रोजगारी दिन्छौँ र टुहुँरा बनेका उनका भाई बहिनीलाई नगरपालिकाले पढाउने छ ।”

त्यस्तै १६ वर्षका छोरा अंकित कक्षा ८ मा पढ्दैछन् । उनले आमाको क्रिया गरिरहेका छन् । त्यसैगरी १२ वर्षीया छोरी सन्ध्या कक्षा ४ मा र ८ वर्षीया छोरी सोनीया कक्षा २ मा पढ्दैछन् भने कान्छो छोरा विनायक एल.के.जी.मा पढिरहेको वडानं. ३ का वडा अध्यक्ष चक्रबहादुर माझीले जानकारी दिनुभयो ।

विपन्न दलित परिवारमा जन्मिएका ती बालबालिका विचल्लीमा परेपछि स्थानीय सरकारको अनुभूति दिलाउने गरी उनिहरुलाई पठन पाठनको जिम्मा नगरपालिकाले लिएको नगरप्रमूख मलासीले बताउनुभयो ।

आगामी शैक्षिक वर्षमा ति बालबालिकाहरुलाई आवासीय विद्यालयमा पठनपाठनको व्यवस्थाका लागि नगरपालिकाले पहल गर्ने भएको हो । यसका साथै क्रिया खर्चका लागि पनि नगरपालिकाबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।

कैंची प्रहार गरी श्रीमतीको हत्या गर्ने कृष्णका बारेमा विस्तृत अनुसन्धान भइरहेको र अनुसन्धान रिपोर्टसहित अदालत पेश गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्