देउपुर नपाका जनप्रतिनिधिको भत्ता नलिने निर्णय



मोतीराम तिमल्सिना, मण्डनदेउपुर, काभ्र्रे ।

मण्डन देउपुर नगरपालिकाका जनप्रतिनिधिहरुले अघिल्लो आर्थिक वर्षमा लिएको भत्तामा लेखा परिक्षणको क्रममा बेरुजु देखाए पछि चालु वर्ष देखि भत्ता नलिने निर्णय गरेका छन् ।

‘हामी जनप्रतिनिधिहरुले पनि कर्मचारीहरुकै जस्तो मासिक तलब बुझेका छौं, वडा अध्यक्ष, मेयर, उपमेयरले गाडी तथा अन्य सवारी साधनको सुविधा लिएका छौं, अनि किन लिनु प¥यो भत्ता ?’– नगर प्रमुख टोकबहादुर वाईवाले बार्षिक समिक्षा कार्यक्रममा भन्नुभयो–‘जनताको सेवा गर्न निर्वाचित भएकाले अन्य थप सुविधा नलिने निर्णय गरेका हौं ।’ मण्डनदेउपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०७५/२०७६ को बार्षिक समिक्षा तथा नयाँ बजेटका सन्र्दभमा सरोकारवालाहरुसँग अन्र्तक्रिया गरेको थियो ।

नगरपालिका प्रमुख मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवाले चालु आर्थिक वर्षमा भएका महत्वपूर्ण कार्यहरु, चुनौतीहरु र आगामी वर्ष चयन गरिने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यपालिकाको बैठक बेगर आर्थिक सहायता उपलब्ध गराउने नगरिएको बताउँदै नगर प्रमुख वाईवाले वर्षे अधिबेशनबाट छनौट गरिएका योजनाहरुको हिउँदे अधिबेशनमा पेश गरेर मात्रै शिर्षक परिवर्तन गरिएको बताउनु भयो ।

वडामा भएका योजनाहरुको अनुगमन वडा स्तरबाटै पनि भईरहेको र जनप्रतिनिधिले मासिक तलब बुझ्ने गरेकाले भत्ता बन्द गरिएको बताउनु भयोे । नगरपालिकाले शुरु गरेका योजनाहरु अधुरा नछाड्ने निर्णय भएको नगर प्रमुख वाईवाले बताउनु भयो । नगरपालिकाका सबै सडकहरु ९ मिटर कायम गरिएको बताउँदै उनले ग्रामिण सडकहरुको अवस्था सुदृढ बनाउन बर्षातको समयमा हाते ट्रयाक्टर र टिपरलाई निधेष गर्ने निर्णय गरेको नगर प्रमुख वाईवाले जानकारी दिनु भयो ।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख वाईवाले ६० जना ब्यक्तिहरुलाई प्रधानमन्त्री स्वरोजगार कोषबाट रोजगार दिन लागिएको बताउनु भयो । सडक सिमांकन, विद्यालय भवन निर्माण, सिंचाई लगायतका काममा उनिहरुलाई खटाईने छ । नगरपालिकाले एक घर एक धारा अभियान अन्र्तगत २ हजार घर धुरीमा धारा जडान गरिसकेको बताउँदै वडाबाट उठ्ने राजश्वलाई कडाई गरिएको बताउनु भयोे ।

चालु वर्षको ६५ करोड ७९ लाख मध्ये ५४ प्रतिशत चालु खर्च र ४५ प्रतिशत पुँजिगत खर्च भएको जानकारी गराउँदै राजश्व संकलनको ८० प्रतिशत लक्ष्य पुरा भएको र असार मसान्तसम्ममा लक्ष्यमा पुरा हुने जानकारी दिनु भयो । विकास बजेट कम खर्च भएको देखिनुमा योजना सम्पन्न नभई भुक्तानी नदिने ब्यवस्था भएकाले भएको बताउँदै नगर प्रमुख वाईवाले आर्थिक वर्षको अन्त्यसम्ममा ८० प्रतिशत योजनाको कार्य सम्पन्न हुने बताउनु भयो ।

दलित महिलाको भत्तामा नगरपालिकाले एक हजार थप गरेर वितरण गरेको बताउँदै नगर प्रमुख टोकबहादुर वाईवाले विद्यालय समायोजन र विद्यार्थी नभएका विद्यालय बन्द गरिएको बताउनु भयो ।

डेडिथुम्का क्याम्पसका अध्यक्ष कश्यप पौड्यालले स्थानीय पाठ्यक्रम तयार गर्न, सिप सँगै जनशक्ति उत्पादन गर्न, दक्ष जनशक्तिलाई सुचिकृत गर्न, सार्वजनिक पोखरी, चौतारा, पार्टी संरक्षण गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा नगरपालिका उपप्रमुख निर्मला शाही, नेकपा नेता विदुर सापकोटा, नेपाली कांग्रेसका नेता रामहरी सापकोटा, सल्लाहकार गोकुल गौतम, राप्रपा इन्द्रलाल श्रेष्ठ, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुले बजेट कार्यान्वयन गर्न र नमुना नगर बनाउन सुझाव दिएका थिए ।

आगामी वर्षमा प्रत्येक वडामा जम्मा ५ वटा योजना छनौट गर्ने निर्णय भएको नगर प्रमुख वाईवाले बताउनु भयो । अघिल्लो वर्ष ३ सय भन्दा धेरै योजनाबाट चालु वर्षमा २ सय ७० वटा योजना छनौट गरिएकोमा चालु वर्षमा १ सय भन्दा धेरै योजना नबनाउने गरी वडाबाट कम योजना तर कार्यान्वयन गर्न सहज हुने छनौट गर्ने तयारी भएको नगर प्रमुख वाईवाले बताउनु भयो ।

मण्डन देउपुर नगरपालिकाले असार १० गते नगर अधिबेशन आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्