बाल-यौन-हिंसामा मिलापत्र, ‘शून्य सहिष्णुता’ अलपत्र



मोतीराम तिमल्सिना, काभ्रे
कानुनतः यौन हिंसाजस्ता फौजदारी घटनामा मिलापत्र गर्न–गराउन निषेध छ । खासगरी बालिकामाथि भएको यौनहिंसालाई त शून्य सहिष्णुताको श्रेणीमा राखिएको छ । तर, व्यवहारमा बालिकालाई यौन दुव्र्यवहार गर्नेलाई मिलापत्र गरेर उन्मुक्ति दिनेहरु पनि स्वतन्त्र घुमिरहेका छन् ।

काभ्रेको महाभारत गाउँपालिकाकी एक बालिकालाई यौन दुव्र्यवहार गर्ने अभियुक्तलाई शिक्षक, सामुदायिक मेलमिलापकर्ता आफैले मिलापत्र गराएका थिए ।

गोकुलेस्थित स्थानीय स्वास्थ्य चौकीमा कार्यरत अहेव बुद्धिदास श्रेष्ठले २०७६ जेठ १२ गते दिउँसो १३ वर्षीया बालिकालाई सार्ववनिक सवारी साधनभित्रै यौनाङ्गमा चोट पुग्नेगरी दुव्र्यवहार गरेका थिए । पीडकले पीडितलाई एक लाख रुपियाँ दिने र पीडितले कतै मुद्दा नदिने शर्तमा जेठ १४ गते कागज गराएर सहमति गरिएको थियो ।

यस मिलापत्रमा गोकुले विद्यालयमा कार्यरत शिक्षक मोहनदास श्रेष्ठले संयोजकको भूमिका खेलेका छन् । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल अन्तर्गतका सामुदायिक मेलमिलापकर्ताद्वय दिलदास श्रेष्ठ र सन्देश वाईवाको पनि मिलापत्रमा सक्रियता थियो । स्थानीय पसलका साईलामान थिङ्गलगायत सात जनालाई साक्षी राखेर मिलापत्र गरिएको थियो ।

प्रथम पक्ष भन्दै बालिकाका बाबु–आमालाई सही गराइएको थियोभने दोस्रो पक्षमा उनै बलात्कारको प्रयास गर्ने बुद्धिदास श्रेष्ठलाई हस्ताक्षर गराइएको छ ।

तर, २०७६ जेठ २५ गतेभित्र एक लाख रुपैयाँ दिने सहमति केही दिनमै भाँडियो– जब बालिकाका बाबुले बुद्धिदाससँग पाँच लाख रुपियाँ माग गरे । घटना भएको १२ दिनपछि बनेपामा मिलापत्रको थप तयारी गर्दैगर्दा प्रहरीले सूचना पायो र बालिकासहित उनका आफन्तलाई नियन्त्रणमा लियो । प्रहरीले बुद्धिदासविरुद्ध बाल यौन दुराचारको अभियोगमा मुद्दा पनि दर्ता ग¥यो ।

महाभारत गाउँपालिका १ गोकुल घर भएका ३४ वर्र्षीय बुद्धिदास श्रेष्ठ गोकुले स्वास्थ्य चौकीमा अहेव चौथो तहका स्थायी कर्मचारी हुन् । गोकुलेबाट बनेपा आउँदै गरेको बोलेरो गाडीमा उनले बालिकालाई जर्बजस्ती यौन दुव्र्यवहारको प्रयास गरे । भाउजु नाता पर्नेसँग उनी गाउँपालिका कार्यालय जाँदै गर्दा सोलाभञ्ज्याङ्ग भन्ने स्थानमा बुद्धिदासले गाडीको पछाडी बसेकी बालिकामाथि दुव्र्यवहार गरेका थिए ।

‘मेरो छाती र योनीमा घाउ नै हुनेगरी उसले निच¥यो, म दुखेर छटपटाएँ, गाडीबाट झरें, अनि नजिकैका मान्छेहरुलाई भनें’ बालिकाको बयान प्रहरीले उजुरीमा लेखेको छ ।

गाडी साहु पनि आफै रहेका बुद्धिदासले बोलेरोको अगाडी अरु मान्छेहरुलाई राखेर आफू पछाडि चढेका थिए । घटनाको साक्षी त्यही गाडीमा कार्यरत उनकै सहयोगि थिए ।

जेठ १४ गते बालिकामाथि हातपात भएको तर त्यो यौन हिंसाको रुपमा नआएकाले आइन्दा यस प्रकारको कार्य नगर्ने शर्तमा मिलापत्र गरिएको मोहनदासले बताएका छन् । उनका अनुसार बुद्धिदासलाई कान समाई उठबस गराएर माफी मगाई मिलापत्र गराइएको हो । बालिकालाई धकेलेको मात्र भए बुद्धिदासले एक लाख रुपियाँ बालिकाको आफन्तलाई भुक्तानी गर्ने कुरामा किन सहमति जनाए भन्ने प्रश्नको जबाफ भने मोहनदाससँग छैन ।

एक लाखबाट बढाउँदै पाँच लाख पु¥याउने दलालीको काम सामुदायिक मेलमिलापकर्ता सन्देश वाईवाले गरेको पनि खुलासा भएको छ । ‘बनेपामा पाँच लाख रुपियाँको बार्गेनिङ्ग तीन दिनसम्म चल्यो । जब प्रहरीकोमा बालिकामाथि भएको यौन हिंसाका बारेमा जानकारी भयो तब बनेपा र जिल्ला प्रहरी कार्यालयको योजनामा पीडितलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा पु¥याइयो’ यस घटनामा भएको बार्गेनिङ प्रक्रियाका एक साक्षीले जानकारी गराए, प्रहरीले मिलापत्र गर्नेलाई भने आजसम्म पनि कारवाही गर्ने सुरसार गरेको छैन ।

मुलकी अपराध सहिताको दफा २१९ ले कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर अठार वर्षभन्दा कम उमेरकी कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालबालिकालाई करणी गरेको मानिनेछ । बाल यौन दुराचारका मुद्दामा तीन वर्ष कैद र ३० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ ।

फरार रहेका महाभारत गाउँपालिका गोकुले स्वास्थ्य चौकीका अहेब रमेशदास भनिने बुद्धिदास श्रेष्ठले २३ दिन पछि जिल्ला प्रहरी कार्यालयमा आफै आत्मसर्मपण गरेका छन् ।

प्रहरी प्रवक्ता डिएस्पी दिपक गिरीले बालिकाको सुरुवाल समेत तानेको बयान र जाहेरी भएकाले जर्बजस्ति करणीभन्दा पनि बाल यौन दुरुपयोग अभियोगमा मुद्दा दर्ता भएको बताउनुभयो । मिलापत्र गराउने व्यक्तिहरुलाई कारबाही चलाउने सम्बन्धमा भने ‘प्रहरी अनुसन्धानमा छ’ मात्र भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्