अन्नपूर्ण गाउँपालिकाको प्राथमिकता कृषि र पर्यटन



टंकराज अधिकारी, कास्की ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषि र पर्यटनलाई आर्थिक समृद्धि र विकासको आधारका रुपमा लिदै प्राथमिकतामा राखेको छ । गाउँपालिकामा आज आयोजित आ.ब. २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुतीकरण सभामा अध्यक्ष युवराज कुँवरले कृषि र पर्यटनलाई यहाँको समृद्धि र विकाससँग जोड्ने बताउनुभयो ।

निर्वाहमुखी खेति प्रणालीलाई व्यवसायिक कृषि प्रणालीतर्फ उन्मुख गर्ने नीति अवलम्बन गर्दै गाउँपालिकाले युवा कृषि स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिकाका सवै वडामा कृषि र पशुपालनको लागि पकेट क्षेत्र तोक्ने नीति लिइएको छ ।
कृषि सहकारीलाइ प्रोत्साहन गर्दै यसलाइ उत्पादकत्व वृद्धिको आधार बनाउने लक्ष्य राखेको पर्यटकीय क्षेत्रमा स्थानीय उत्पादन प्रयोग गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । उन्नत पशुपालन, पशु, विमा, गोठ तथा भकारो सुधार जस्ता कार्यक्रम सञ्चालन गर्दै प्राथामिक पशु उपचार सेवालाइ निरन्तरता दिइने नीति तथा कार्यक्रममा भनिएको छ ।

एक घर एक फलफुल, एक विद्यार्थी एक फलफुल कार्यक्रम अभियानका साथ अगाडी बढाउँदै नगदे बालिका बिरुवा वितरण गरी त्यसबाट स्थानीय स्वरोजगारीमा जोड दिने योजना छ । कृषि विकास उत्पादन बृद्धिका लागि यान्त्रीकरण प्रविधिलाइ भित्राउने एवम् कृषकको सुविधाका लागि यन्त्र उपकरणमा दिइदै आएको अनुदानलाइ निरन्तरता दिने भएको छ ।

बाँझोखेत प्रयोग नीति अवलम्वन गर्न भुमि बैंकको खडा गर्ने, व्यवसायीक कृषक पहिचान गर्ने लगायतका विषय नीति तथा कार्यक्रममा समेटिएको छ । गाउँपालिकालाई कोदोमा आत्म निर्भर बनाउँदै र कोदोखेती प्रबर्द्धन गर्न अनुदानको व्यवस्था गरी सबै होटल तथा रेष्टुरेण्टमा कोदाको परिकार मेनुमा राख्न अनिवार्य गरिने भएको छ ।

आफ्नो क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने, परम्परागत कला संस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने, अन्नपूर्ण आधार शिविर, हिडन लेक, मरेडाँडा, टाडापानी, ताल चियाउने गह्रा जस्ता क्षेत्रको संरक्षण एवम् प्रबद्र्धन गर्दै पर्यटकीय गन्तव्यका रुपमा पहिचान गराउने योजना अघि बढाइएको छ ।

गाउँपालिकाको वडा नं. ८ बिरेठाँटी र वडा नं. ७ को पोथनामा विदेशी पर्यटकको गणना कार्यको सुरुवात गर्दै उक्त कार्यमा प्रति पर्यटक एक सय रुपैयाँ संकलन गरि पर्यटन सूचना केन्द्रको उपयोगमा लगाइने नीति लिएको छ ।

भदौरे, घान्द्रुक, लान्द्रुक, पोथना, अष्ट्रेलियन क्याम्प, पाउँदुरकोट, दाङसिङमा रहेका घरवासको प्रवद्र्धन व्यवस्थित गर्दै ती क्षेत्रलाई पर्यटन सुचना केन्द्रका रुपमा विकास गर्न पहल गर्ने अध्यक्ष कुँवरले बताउनुभयो ।

गाउँपालिका भित्रका पर्यटकीय पदमार्गको विस्तार तथा मर्मत संहार गर्ने, आन्तरिक पर्यटन वर्ष २०१९, छिमेकी आकर्षण पर्यटन बर्ष २०२० एवम् अन्तराष्ट्रिय पर्यटन बर्ष २२ घोषणा समेतलाई दृष्टिगत गरी अन्नपूर्ण क्षेत्रका होटेलको स्तरोन्नति एवम् क्षमता विस्तार गर्ने नीति लिइएको छ ।

पर्यटकको बसाइ अवधि लम्ब्याउन घान्द्रुक डाँडागाउँको गुरुङ संस्कृति झल्कने सङग्राहलय, मेलाचे पार्क, नौडाँडाको निर्माणाधिन भ्यु टावर, तालचियाउने गह्राको पार्क प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ ।

छोम्रोङ माथि अन्नपूर्ण आधार शिविरमा कुनैपनी पूर्वाधार विकासका नाममा मेशीनरी ओजारको प्रयोग नगर्ने र यस क्षेत्रलाइ पर्यापर्यावरण प्राकृतिक कुमारी क्षेत्र घोषणा गर्ने नीति लिइएको छ । विशेष राहत, उद्दार विपतको अवस्थामा बाहेक हवाइ हेली उडान कटौति गरी ध्वनी प्रदुषण रोक्ने नीति यथावत अवलम्वन गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

गाउँ पालिकाले एक घर एक तालिम अनिवार्य गर्दै सबै वडामा तालिम मार्फत रोजगारी सृजना गर्न अध्यक्षसँग रोजगार कार्यक्रम सञ्चालन गर्नेभएको छ । खास गरि ३÷३ महिने हाउस वायरिङ र प्लम्विङ तालिम मार्फत १०० जनालाइ स्वरोजगारी गरिने गाउँपालिकाको योजना छ ।
गाउँपालिकाले साविकमा रहेका करका दरलाइ परिमार्जन गर्न गाउँपालिकास्तरीय राजश्व परामर्श समिति, स्थानिय सरोकारवालाको छलफल समेतका आधारमा करका दर फराकिलो पार्दै सबै व्यवसायीलाई करको दायरामा ल्याउन पहल गर्ने भएको छ ।

दलित, आदिवासी, जनजाती, सिमान्तकृत वर्गको परम्परागत सीप विकास, भेष भुषा, भाषा लिपी तथा संस्कृतिको संरक्षण र सम्बद्र्धनमा ध्यान दिइने नीति तथा कार्यक्रममा भनिएको छ । त्यस्तै गाउँपालिकाको विकासको लागि जेष्ठ नागरिकमा भएको ज्ञान सिप र अनुभवलाइ पुस्ता हस्तान्तरण गर्ने नीति अवलम्बन गरिने उल्लेख छ ।

विद्यार्थी सिकाइ उपलब्धि परिक्षण गरी उत्कृष्ट विद्यालयलाइ प्रोत्साहन रकम उपलब्ध गराउने, खेलकुदको माध्यमबाट नयाँ प्रतिभा खोजि गरि क्षमता विकास गर्ने लगायतका नीति गाउँपालिकाले लिएको छ ।
गुरुङ समुदायको भाषा, लिपि एवम् संस्कृतिको संरक्षण गरी गुरुङ भाषामा आधारभुत तहमा कक्षा सञ्चालनको प्रयास गर्ने गाउँपालिकाको योजना छ ।
जनस्वास्थ्यलाई अत्यावश्यक, आधारभुत तथा मौलिक अधिकारका रुपमा स्थापित गर्दै स्वास्थ्य संस्थाको स्तरोन्नती एवम् स्वास्थ्य सेवा प्रवाहलाई गुणस्तरीय बनाइने नीति तथा कार्यक्रममा छ ।

गाउँपालिकाले घट्टेखोलादेखि नयाँपुलसम्मका सडक दुर्घटनामा प्राथामिक उपचारको व्यवस्थ ागर्न राजमार्ग अस्पताल स्थापना तथा सञ्चालनको पहल गर्ने भएको छ । साना सडकमा रकम लगानी गर्दा रकम छरिन गइ प्रतिफल प्राप्त हुन नसक्ने भएकाले गाउँपालिकाको ग्रामिण यातायात गुरुयोजना अनुसार क, ख र ग श्रेणीका सडकलाइ प्राथामिकताका साथ रकम विनियोजन गर्ने नीति लिइएको छ ।

गाउँपालिका भित्र प्रयोग विहिन अवस्थामा रहेका ढुंगा¸ गिट्टी¸ वालुवा¸ रोडा लगायतका प्राकृतिक श्रोतको उच्चतम उपयोगका लागि वातावरणीय प्रभाव मूल्याङकन लगायतका कानुनी प्रकृया पुरा गरी पूर्ण उपयोग गर्ने नीति लिएको छ ।

पुरातात्विक महत्वका स्थान मठ, मन्दिर, धार्मिक क्षेत्र खानेपानी मुहान, ताल तलैया आदि प्राकृतिक श्रोत साधनको अभिलेख व्यवस्थापन र संरक्षण गर्ने अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

अघिल्लो वर्षको अनुभव समेतका आधारमा नीति तथा कार्यक्रम ल्याइएको बताउँदै उहाँले यसको सफल कार्यान्वयनमा सम्बन्धित सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्