४० हजार घूस काण्डः प्रहरीले फुटायो वडा कार्यालयको ताला



हेटौंडा ।
हेटौंडा–७ वडा कार्यालयमा स्थानीयले लगाएको ताला प्रहरीले बल प्रयोग गरी फुटाएको छ । उपभोक्ता समिति अध्यक्ष नवराज कोइराला र वडा अध्यक्ष राजन थापाको मिलेमतोमा लाखौं भ्रष्टाचार भएको भन्दै स्थानीयले वडा कार्यालयमा ताला लगाएका थिए । तर, प्रहरीले बुधबार साँझ ताला फुटाएको हो ।

स्थानीयले लगाएको ताला प्रहरीले फुटाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–घोटालाको विषयमा छानबिन हुन्छ तर वडा कार्यालय नै बन्द गराएर सेवाग्राहीको काम रोक्न मिल्दैन । त्यसकारण ताला फुटाएका हौं ।

वडा कार्यालय क्षेत्रमा रहेको नागस्वती पार्क निर्माणका क्रममा हिनामिना भएको भन्दै स्थानीयले ताला लगाएका थिए । पार्क निर्माणका क्रममा हिनामिना गर्ने निर्माण समिति संयोजकलाई कारबाही माग गर्दै स्थानीयले बुधबार दिउँसो २ बजे तालाबन्द गरेको स्थानीय दिनेश गौतमले बताउनुभयो । तर प्रहरीले साँझ सवा ५ बजे ताला फुटाएको हो ।

यसअघि गौतमसहित ५ युवालाई प्रहरीले वार्ताका लागि भन्दै प्रहरी भ्यानमा लगेको छ । उहाँहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर पु¥याइएको जनाइएको छ । सयौंको संख्यामा वडा कार्यालय पुगेका स्थानीयले वडा अध्यक्ष थापासँग दोषीलाई कारबाही माग र निर्माण समिति संयोजक खतिवडा छलफलमा नआएपछि स्थानीयले तालाबन्दी गरेको जनाइएको छ । तालाबन्दीपछि वडा कार्यालयमा प्रहरी टोली पुगेको थियो ।

स्थानीय बाबु लामाले भन्नुभयो–भ्रष्टाचारीलाई कारबाही माग गर्दै ताला लगाएका थियौं । सम्बन्धित निकायले यस विषयलाई चासो दिएर भ्रष्टाचारीलाई कारबाही हुनुपर्ने उहाँले दाबी गर्नुभयो । वडा कार्यालयको पर्खालसहित फलामे बार लगाउन १७ लाखको काममा भएको घोटाला लुकाउन स्थानीय नवराज खतिवडालाई ४० हजार घुस दिएको सार्वजनिक भएपछि स्थानीयले विरोध गरेका हुन् ।

पर्खालसहित फलामे बार लगाउने काम सम्पन्न भइसकेको भन्दै वडा अध्यक्ष थापाले सिफारिस दिएकोले भ्रष्टाचारमा वडाध्यक्षको पनि संलग्नता रहेको भन्दै स्थानीयले कार्यालयमा ताला लगाएका हुन् । वडाध्यक्ष थापाले पर्खालसहित फलामे बार लगाउने काम सम्पन्न भएको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले लगिसकेकोले आफूले यस विषयमा केही भन्न नमिल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्