औंसीमा ठीक पूर्णेमा बेठीक



औंसीमा ठीक पूर्णेमा बेठीक गाडी भाडा बढ्यो, चार घन्टा पनि बित्न नपाउँदै निर्णय फिर्ता। विरोध थेग्न नसकेसी गुठी विधेयक फिर्ता। भनेसी, मिडिया विधेयक पनि त्यही लाइनमा हो, कि सरकारले फिर्ता लिने साइत कुर्या हो ? एकपछि अर्को निर्णयबाट सरकार लच्किनु दुई तिहाइको बोझ हो कि जनआवाजको चोट हो, धरहराले ठम्याउन सक्या छैन।

संसद्को मंगलबारको दृश्यले पनि धरहरा निकै अलमलमा पर्या छ। ‘म पहिला बोल्छु’, ‘हैन मै बोल्छु’ पीएम ओली र छाया पीएम देउवाको जुहारी तथा प्रतिपक्षीको हुटिङले संसदै अवरुद्ध बन्यो। ओली भन्छन्– ‘कांग्रेसले बालबालिकाझैं जिद्दीपन देखायो, मलाई आश्चर्य लाग्यो (देउवा) उहाँलाई संसदीय मर्यादा थाहा हुनुपर्ने हो।’ गणतन्त्र, संघीयता, जनताको सार्वभौमसत्ताविरुद्ध अलोकतान्त्रिक मोर्चाबन्दी शुरू भएको उनको तर्क छ।

उहिले आफ्नै पार्टीले लगातार दुई महिनासम्म संसद् अवरुद्ध गर्या कुरोचाहिँ कम्रेड ओलीले बिर्सिया हुन् कि क्या हो ? ऊ बेलाको विरोध गणतन्त्रअगावैको भएकाले संसदीय मर्यादाभित्रैको पो थ्यो कि ⁄ यस्तै यस्तै भएसी धरहरा मात्रै होइन आम नेपाली अचम्ममा पर्या छन्। अनि प्रतिपक्षी कांग्रेस धेरै दिनपछि संसद्मा चलमलाएको देख्दा स्वयं कांग्रेसका नेता र क्रियाशील सदस्य सपना हो कि विपना हो भन्दै कन्फ्युज भएको धरहराबाट प्रस्टै देखिन्छ।

प्रतिक्रिया दिनुहोस्