मोर्गानको विश्वकपमा नयाँ कीर्तिमान



लन्डन, (एजेन्सी)
आईसीसी क्रिकेट विश्वकपअन्तर्गत इंग्ल्यान्डका कप्तान आयन मोर्गानले छक्काको विश्व कीर्तिमान बनाएका छन्।

मंगलबार म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा भएको खेलमा मोर्गानले अफगानिस्तानविरुद्ध १७ छक्का प्रहार गर्दै वानडे अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान रचेका हुन्। उनले भारतका ओपनर रोहित शर्मा, वेस्ट इन्डिजका ओपनर क्रिस गेल र दक्षिण अफ्रिकाका पूर्वकप्तान एभी डिभिलियर्सलाई पछि पारेका छन्।

उनीहरू तीनैजनाले समान १६–१६ छक्का प्रहार गरेका छन्। रोहित र गेल इंग्ल्यान्डमा जारी विश्वकपमा खेलिरहेका छन् भने डिभिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका छन्।

यस्तै मोर्गान इंग्ल्यान्डमा जारी विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने पहिलो खेलाडीसमेत बनेका छन्। १ सय ४८ रनमा आउट भएका उनले ५७ बलमा शतक प्रहार गरेका हुन्। विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान भने केभिन ओ ब्रायनको नाममा छ। उनले ५० बलमा शतक प्रहार गरेका हुन्।

यसै गरी अफगानिस्तानविरुद्ध ३ सय ९७ रनको योगफल बनाउँदा इंग्ल्यान्डले अर्को कीर्तिमान पनि राख्यो। यो विश्वकपमा इंग्ल्यान्डको उच्चतम योगफल हो। त्यस्तै टोलीका लागि कुल २५ छक्का प्रहार हुँदा पछिल्लो २४ छक्काको कीर्तिमान पनि तोडिएको छ।

प्रतिक्रिया दिनुहोस्