चिलीद्वारा जापान पराजित



लन्डन, (एजेन्सी)
कोपा अमेरिकाअन्तर्गत मंगलबार भएको खेलमा चिली विजयी भएको छ।
चिलीले जापानलाई ४–० गोलअन्तरले स्तब्ध पार्यो। चिलीको जितमा इडुवार्डा भर्गासले दुई गोल गरे भने एलेक्सिस सान्चेज र इरिक पुल्गारले एक–एक गोल गरे। खेलको ४१औं मिनेटमा पुल्गारले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा चिलीले तीन गोल गरेको थियो।
खेलको ५४औं मिनेटमा भर्गासले र ८२औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गरेपछि चिलीले ३–० को अग्रता लिएको थियो। ८३औं मिनेटमा भर्गासले व्यक्तिगत दोस्रो गोल गरेपछि चिली ४–० को जित निकाल्न सफल भयो। जितपछि चिली ३ अंक जोड्दै समूह ‘सी’को पहिलो स्थानमा छ। यसै समूहमा इक्वेडरलाई ४–० ले नै पराजित गरेको उरुग्वे भने दोस्रो स्थानमा छ।
सान्चेजले जनवरीपछि पहिलो गोल गरेका थिए। म्यानचेस्टर युनाइटेडका फरवार्डले गत वर्ष निकै कठिनसँग बिताएका थिए। घाइते भएपछि क्लबका लागि लयमा पनि नदेखिएका सान्चेजले आफ्नो राष्ट्रका लागि भने गोलको योगदान दिए। उनले भने– ‘खुट्टाको चोटले सिजन निकै गाह्रो भयो। मैले पहिलो ४५ मिनेट संघर्ष पनि गरें। मैले महसुस गरें म थाकेको तर दोस्रो हाफमा सुधार गरें।
जापानले कोपा अमेरिका दोस्रोपटक खेल्दै छ। यसअघि १९९९ मा सो प्रतियोगितामा खेल्दा टोली पहिलो चरणबाटै बाहिरिएको थियो। तर, अर्को एसियन टोली कतारले भने समूह ‘बी’को खेलमा पाराग्वेसँग २–२ बराबरी खेलेको थियो। कतार आगामी विश्वकप २०२२ को आयोजक राष्ट्र हो।

प्रतिक्रिया दिनुहोस्