चीनमा शक्तिशाली भूकम्प, १२ जनाको मृत्यु



बेइजिङ, (एजेन्सी)

दक्षिण पश्चिमी चिनियाँ प्रान्त सिचुआनमा आएको शक्तिशाली भूकम्पमा कम्तिमा १२ जना मानिसको ज्यान जानुका साथै अन्य १ सय जनाभन्दा बढी घाइते भएको चिनियाँ आधिकारिक समाचार निकाय सिन्ह्वाले जनाएको छ।

यस प्रान्तको राजधानी चेँगदुदेखि दक्षिणपूर्वमा पर्ने चाँगनिन काउन्टिको यिविन नजिक केन्द्रविन्दु बनाउँदै सोमबार राति ६ रेक्टर स्केलको भूकम्प स्थानीय आधिकारीहरूले पुष्टि गरेका छन्। यसपछि पटक–पटक अन्य शक्तिशाली पराकम्पन आएको थियो।

सरकारी टेलिभिजनका फुटेजहरूमा उद्धारकर्मीले भत्केका भवनहरूका भग्नावशेषबाट घाइते व्यक्तिहरूलाई तान्दै गरेको देखिन्छ। एएफपीले सार्वजनिक गरेका तस्वीरहरूमा उद्धारकर्मीहरूले रातभरि भग्नावशेषबाट जीवित व्यक्तिको उद्धार गर्दै भन्ने क्याप्सन राखिएका छन्।

सिन्ह्वाले घरहरू क्षतिग्रस्त हुन पुगेका चार हजारभन्दा बढी व्यक्तिलाई सुरक्षित गन्तव्यमा पुनर्वास गराइएको जानकारी दिएको छ। चाइना सेन्ट्रल टेलिभिजनले उक्त, भूकम्पलगत्तै आएको डरलाग्दो पहिरोले सडक अवरुद्ध भएको र एउटा लरी हेर्दाहेर्दै भग्नावशेषमा पुरिएको देखाएको छ।

यिविन शहर र सुयोंग काउन्टिबीचको राजमार्गलगायत थुप्रै प्रमुख शहरहरू क्षतिग्रस्त भएका छन्। सिन्ह्वाका अनुसार भूकम्प आउनु एक मिनेटअगाडि भूकम्पको केन्द्रविन्दुदेखि करिब ३ सय किमि टाढाको चेँगदु शहरभरि नै सुनिने गरी भूकम्पको चेतावनीस्वरूप साइरन बजाइएको थियो।

यिविनको पूर्वमा पर्ने चेँगदु र चोँगकिङ शहरमा पनि कम्पनको महशुस गरिएको थियो। भूकम्प प्रभावित क्षेत्रमा ५ सय जनाभन्दा बढी अग्निनियन्त्रक तैनाथ गरिएको छ भने उद्धारकर्मीहरूले तत्कालै त्यहाँ ५ हजार पाल तथा १० हजारवटा पट्याउन मिल्ने खाटलगायत अन्य अत्यावश्यक वस्तुहरू ल्याइपु¥याएका थिए। सिचुआन प्रान्तमा बारम्बार भूकम्प जाने गरेको छ।

सन् २००८ मा चेँगदुदेखि ८० किलोमिटर उत्तर पश्चिममा आएको ७ दशमलव ९ रेक्टर स्केलको भूकम्पमा ८७ हजार मानिसको ज्यान गएको थियो। त्यसै गरी सन् २०१७ मा चेँगदुको उत्तरी भागमा आएको ७ रेक्टर स्केलको भूकम्पमा २० जनाभन्दा बढी मानिसको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्