प्रतिबद्धता पूरा गर्दै प्रहरी महानिरीक्षक खनाल



दीपक रिजाल /मधुसूदन रायमाझी।
पाल प्रहरीको नेतृत्व सम्हालेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल संगठनको कार्यशैलीमा परिवर्तन ल्याउन सफल हुनुभएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत प्रहरी संगठनले समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सफल भएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अवधारणा विकास गरेर सफलतापूर्वक लागू गर्न सफल हुनुभएका महानिरीक्षक खनालले देशभित्र मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि प्रहरी संगठनको छवि राम्रो बनाउन सफल हुनुभएको छ।
संगठनभित्र रहेको गलत संस्कृतिका विरुद्ध खरोरूपमा उत्रिनुभएका उहाँले संगठनभित्र नै शुद्धीकरणको अभियान सञ्चालन गर्नुभएको छ। गलत काम गर्नेलाई दण्ड र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने संस्कार विकसित गर्नुभएका महानिरीक्षक खनालको अभियानले संगठनमा नयाँ आशा र उत्साह थप्न सफल भएको छ।
संगठन सञ्चालनको नयाँ अभ्यास, स्पष्ट नीति र लक्ष्यका साथ संगठनको नेतृत्व गर्नुभएका उहाँले समय र परिस्थिति अनुकूल संगठनलाई स्रोतसाधन सम्पन्न बनाउने कार्यमा पनि लाग्नुभएको छ। केही अपवादको घटनाबाहेक संगठनलाई गतिशील बनाउने, समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने, गुन्डागर्दी अन्त्य गर्ने कार्यमा आफूलाई समर्पित गर्दै आउनुभएको छ। साथै संगठनको मनोबल उच्च बनाउने, प्रहरीलाई प्रविधिमैत्री बनाएर समाजमा हुन सक्ने सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने काममा पनि उहाँ अहोरात्र खटिँदै आउनुभएको छ।
महानिरीक्षक खनाल भन्नुहुन्छ– ‘देश र जनताको सेवा गर्न पाउनु निकै गर्वको कुरा हो, संगठनका हरेक सदस्यले गर्व गर्नुपर्छ।’ शान्ति सुरक्षा, अमन चयनको मुख्य जिम्मेवारी पाएको प्रहरीले आफ्नो दायित्व र कर्तव्य पूरा गर्दै आएको उल्लेख गर्दैै उहाँले केही घटनालाई कारण देखाएर प्रहरीले गरेको राम्रो कामको अवमूल्यांकन गर्न नहुने बताउनुहुन्छ। संगठनको नेतृत्व सम्हालेपछि गरेका प्रतिबद्धतालाई पूरा गर्न अहोरात्र खटिँदै आउनुभएका खनालले आफूले गरेको प्रतिबद्धता पूरा गर्न काममा लाग्नुभएको छ।
मानव बेचबिखन र साइबर अपराधको बढ्दो चुनौतीलाई सम्बोधन गर्न खनालले विशेष ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो, लागूऔषध नियन्त्रण ब्युरो, महानरीय प्रहरी अपराध महाशाखा, साइबर ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरो इकाइलाई प्रभावकारीरूपमा अगाडि बढाउनुभएको छ।
२०७५ वैशाख १ गतेदेखि २०७६ वैशाख मसान्तसम्म प्रहरीमा ४१ हजार १ सय १६ मुद्दा दर्ता भएका छन्। सबैभन्दा बढी सार्वजनिक अपराधमा मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ। प्रहरीले एक वर्षको अवधिमा ४१ हजार ३ सय २८ अभियुक्तलाई पक्राउ गरेर मुद्दा चलाएको छ।
महानिरीक्षक खनालले संगठनलाई सदृढ बनाएकै कारण एक वर्षको अवधिमा प्रहरीले ९० किलो ४ सय ५ ग्राम अवैध सुन विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको छ। जसबाट ५१ करोड ३४ लाख ४० हजार रुपियाँ राजस्व असुली भएको  छ भने अवैध सुन कारोबारमा संलग्न १ सय ३७ जनालाई पक्राउ परेका छन्।
पछिल्लो समय अवैध सुन कारोबार नियन्त्रण गर्न प्रहरी सफल बनेको छ। त्यसै गरी राजस्व चुवहावट नियन्त्रणतर्फ पनि प्रहरीले एक वर्षको अवधिमा अवैध सामग्री बरामद गरेर ४२ करोड २३ लाख राजस्वमा योगदान गरेको छ। अवैध कारोबार गर्ने २ सय ८१ जनालाई पक्राउ गरेको छ।
निर्मला हत्याकाण्डमा आलोचित बनेको प्रहरीले निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचन, युवा संघका कार्यकर्ता दुर्गा तिवारी हत्यामा संलग्न मुख्य योजनाकारलाई पक्राउ गर्न सफल देखिएको छ।
महानिरीक्षक खनालले समग्रमा देशको आन्तरिक सुरक्षाको प्रभावकारी व्यवस्थापन, कानुन कार्यान्वयन र संगठनको व्यवस्थापन गर्न सफल रहेको बताउँदै अन्तर्राष्ट्रिय कानुन र संविधानद्वारा प्रत्याभूत नागरिक तथा राजनीतिक हक अधिकारको पूर्ण उपभोग गर्ने वातावरण रहेको बताउनुभयो।
अन्तर्राष्ट्रिय, क्षेत्रीय आतंकवाद तथा राष्ट्रिय अतिवादका गतिविधिमा प्रभावकारी नियन्त्रण गर्न प्रहरी सफल रहेको बताउँदै उहाँले अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा छिमेकी मुलुकका सुरक्षा चासोका सम्बन्धमा सरकारले अवलम्बन गरेका सुरक्षा र विदेश नीतिको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध भएर लागेको बताउनुहुन्छ।
प्रहरीलाई साधन स्रोतले सम्पन्न बनाउने नीतिअनुरूप  महानिरीक्षक खनालले नेतृत्व सम्हालेपछि ५ सय मोटरसाइकल वितरण गर्नुका साथै ३ सय ४० खरिद प्रक्रिया रहेको बताउनुभयो। ‘एक प्रहरी चौकी, एक सवारी साधन पुर्याउने लक्ष्य छ’, उहाँले भन्नुभयो– ‘नयाँ स्थापना गरिएका ब्युरोका लागि आवश्यक मेसिनरी औजार र उपकरण खरिद गर्ने क्रममा छौं।’
बेरुजु फछ्र्योटमा गृह मन्त्रालय र अन्तर्गतका कार्यालयमा सर्वोकृष्ट स्थान हासिल गर्न सफल भएकामा मन्त्रीस्तरीय निर्णयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरेको छ।
संगठनभित्र शुद्धीकरणको काम अगाडि बढाउनुभएका खनालले एक वर्षे कार्यकालमा २ हजार ३ सय ५१ जना सिनियर प्रहरी अधिकृतदेखि लिएर प्रहरी जवानसम्म कारबाहीमा परेका छन्। त्यसै गरी सिनियर प्रहरी अधिकृतिदेखि प्रहरी जवानसम्म गरी ४ हजार ९ सय ६८ जना पुरस्कृत भएका छन्।
गलत काम गर्नेमाथि कठोर निर्णय लिने उहाँको नीतिकै कारण राम्रो काम गर्ने प्रतिस्पर्धासमेत संगठनभित्र शुरू भएको छ। महानरीक्षक खनालकै सक्रियताका कारण महानगरी ट्राफिक प्रहरी कार्यालयअन्तर्गत कार्यरत ट्राफिक प्रहरीहरूको मनोबल अधिवृद्धिका लागि प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका २०७५ मन्त्रिपरिषद्बाट पारित भई लागू भएको छ। सूचना तथा प्रविधिको क्षेत्रमा पनि प्रहरी संगठन अब्बल सावित भएको छ। देशभर रहेका १ सय ४ वटा कार्यालयमा कम्प्युटर नेटवर्क विस्तार गर्दै नेपाल प्रहरी टाडा सेन्टरको स्थापना नेपाल प्रहरी मोबाइल एप्स निर्माण गरेर सञ्चालनमा ल्याएको छ।

सूचना प्रविधिको प्रभावकारी उपयोगद्वारा नागरिकलाई सहज एवं सुलभ सेवा प्रवाह गरेको भन्दै ‘डिजिटल गभरनेन्स आईसीटी अवार्ड २०१८’द्वारा प्रहरी संगठन सम्मानित भएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ५२ स्थानीय तहमा समझदारी भइसकेको छ। हालसम्म जिल्ला, नगरपालिका, गाउँपालिका, वडा, टोल र विद्यालयस्तरमा १९ हजार २ सय २५ साझेदारी समितिहरू गठन भइसकेका छन्।
समुदाय–प्रहरी साझेदारीपश्चात् हालसम्म १ हजार ५ सय ७ वटा सीसी क्यामेरा जडान भएका छन्, जसले गर्दा समाजमा हुने र हुन सक्ने सम्भावित अपराधका घटना नियन्त्रण गर्न प्रहरीलाई थप सहज भएको छ। संघीय संरचनाअनुसार देशभरबाट ७ सय ५० प्रहरी चौकीको माग गरिएको छ। त्यसका लागि २२ हजार ४ सय थप जनशक्ति आवश्यकता पर्ने प्रहरीले बताएको छ।
संगठनलाई सुदृढ गर्न र आम नागरिकको विश्वास जित्ने काममा मन, वचन र कर्मबाट लाग्नुभएको खनालकै कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदनअनुसार सेवा प्रवाहमा सबैभन्दा न्यून भ्रष्टचार हुने सरकारी निकायमा प्रहरी संगठन सफल सावित भएको छ। सेवा प्रवाहमा अधिकतम भ्रष्टाचार हुने निकायमा ३० दशमलव ५ प्रतिशत सेवाग्राहीले भ्रष्टाचार हुने गरेको उल्लेख गरेकामा अख्तियारको प्रतिवेदनले प्रहरीको सेवा प्रवाहमा भने शून्य दशमलव १ प्रतिशत सेवाग्राहीले मात्र भ्रष्टाचार हुने गरेको औंल्याएका छन्।

यी हुन् खनालका १० प्राथमिकता ः

– प्रहरी संगठनको संघीय संरचनामा सहज तथा औचित्यपूर्ण व्यवस्थापन
– संगठित अपराध, जघन्य अपराध, महिला तथा बालबालिकामाथिको अमानवीय कार्यप्रति कानुनी कठोरता
– विधिको शासन सुनिश्चितताका लागि फौजदारी अपराध संहिताको कार्यान्वयनमा वस्तुनिष्ठ आधार निर्माण
– मानव अधिकारको प्रवद्र्धन तथा जोखिममा परेका वर्गहरूलाई विशेष कानुन संरक्षण
– प्रहरी कर्मचारीहरूको व्यावसायिकता, पारदर्शिता र निष्ठामा उत्कृष्टता
– नेपाल सरकारप्रति प्रतिबद्ध एवं नागरिकमैत्री प्रहरीका रूपमा छवि विस्तारमा तीव्रता
– सांगठनिक सुदृढीकरण आन्तरिक शुद्धीकरण र भ्रष्टचारमाथि शून्य सहनशीलता
– विशेष प्रशिक्षणद्वारा आत्मबलयुक्त निर्भीक तथा प्रविधियुक्त प्रहरी मानवस्रोतको विकास
– प्रहरी कर्मचारीहरूको वृत्ति विकासमा सबलता र स्रोत साधनको चुस्त व्यवस्थापन
– प्रहरी कर्मचारीहरूको मनोबलमा उल्लेखनीय स्तरोन्नति र प्रहरी संगठनलाई ‘नमुना संगठन’ र सुशासनको पहरेदारमा रूपान्तरण

समुदाय–प्रहरी साझेदारी

– राष्ट्रिय प्राथमिकता र सरकारको दीर्घकालीन दूरदृष्टि तथा योजनामा समावेश
– राष्ट्रिय नीतिका रूपमा विकास र कार्यान्वयन
– सुरक्षा सचेतना र अपराध रोकथामका लागि राज्यको लगानीको सुनिश्चितता
– राष्ट्रिव्यापी सञ्जालको माध्यबाट हरेक घर, टोल, समुदाय र विद्यालयमार्फत हरेक नागरिकमा सुरक्षा सचेता अभिवृद्धि गर्ने र सुरक्षा व्यवस्थापनमा जन साझेदारी अभिवृद्धि गर्ने।

प्रमुख उपलब्धिहरू

१) ‘समुदाय–प्रहरी साझेदारी’ ः राष्ट्रव्यापी सञ्जाल र अपराध रोकथाममा प्रणालीगत सुधार
२) संगठित र पेशेवर आपराधिक गतिविधि नियन्त्रण
३)सशस्त्र एवं विध्वंसात्मक गतिविधिमा प्रभावकारी प्रहरी कारबाही र नियन्त्रण
४) प्रभावकारी प्रहरी परिचालनद्वारा कानुन र व्यवस्था कायम
५) नयाँ मुलुकी अपराध संहिताको वस्तुनिष्ठ कार्यान्वयन
६) सुरक्षा क्षेत्रमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि
७) विशिष्टीकृत अनुसन्धान इकाइहरूको स्थापना
८) सांगठनिक व्यवस्थापनमा सूचना प्रविधिको विकास
९) आर्थिक अनुशासन र आन्तरिक सुपरिवेक्षण प्रणालीमा प्रभावकारिता
१०) प्रभावकारी ट्राफिक व्यवस्थापन र  विपद् उद्धार
प्रतिक्रिया दिनुहोस्