गुठी विधेयक फिर्ता होइन, खारेज हुनुपर्छः योगेश्वर अमात्य



आफ्नो भिन्न शैलीको स्वर तथा गायकी शैलीका कारण लोकप्रियता कमाएका गायक योगेश्वर अमात्य सरकारले जनमतविरुद्व ल्याउने प्रयास गरेको गुठी विधेयकको विरोध कार्यक्रममा अग्रपंक्तिमा देखिएका छन्।

ललितपुरमा भएको विरोध कार्यक्रममा प्रहरीलाई फूलको थुँगा दिएर सद्भाव चाहेको सन्देश दिएका उनले यो विधेयकका विरुद्व आज माइतीघर मण्डलामा हुन लागेको प्रदर्शनमा सरिक हुन दरोरूपमा आवान गर्दै आएका छन्। विधेयकलाई लिएर चौतर्फी विरोध भएपश्चात् यसको पूर्वसन्ध्यामा आएर भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सरकारले यो विधेयक फिर्ता लिने जनाएकी छिन् र पनि विरोध जारी छ। यिनै विषयमा गायक अमात्यसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ ः

विदुर गिरी

तपाईं गायक मान्छे पनि गुठी विधेयकविरुद्धको आन्दोलनमा देखिनुभयो?

आन्दोलनभन्दा पनि सरकारले ल्याएको यो विधयेक हामीलाई मन परेको छैन भन्ने कुरामा सहमति हो। सरकारलाई मलगायत धेरैलाई यो विधेयक चित्त बुझ्या छैन भनेर देखाउनका लागि म सहभागी भएको हुँ। यो विधेयक खारेज हुनुपर्छ।

अस्ति ललितपुरको आन्दोलनमा प्रहरीलाई फूल दिनुको अर्थ के थियो?

त्यसभन्दा अघि माइतीघर मण्डलामा आन्दोलनकारी र प्रहरीबीच जुन झडप भएको थियो, त्यो मलाई ठीक लागेन। पुलिस वास्तवमा हाम्रै सुरक्षाका निम्ति आएका हुन् भन्ठान्छु म। विदेशतिर यस्तो आन्दोलन भएको क्षेत्रमा प्रहरी अगाडि बस्दैन। स्ट्यान्डबाई हुन्छ, तर साइडमा बसेको धेरै ठाउँमा देखेको छु। पुलिस दाजुभाइ दिदीबहिनीलाई पनि घाममा बस्दा बस्दा, अटेन्सनमा बस्दा बस्दा स्ट्रेस र टेन्सनलाई कम गराउन र हामीहरू उहाँहरूकै साथीभाइ हौं, हामी तपाईंको दुश्मन होइनौं र तपार्इं हाम्रो दुस्मन होइन भनेर भलाकुसारी र सद्भावको भावना फैलाउनका लागि फूल दिएको हुँ।

विधेयकमा त्यस्तो के थियो, जसले गर्दा विदेशमा बस्ने नेपालीहरू पनि यसको विरोधमा छन् ?

त्यस्तो धेरै कुरा छन्, जुन मैले पनि राम्रोसँग पढ्न पाएको छैन। मलाई लागेको कुरा यो भूमाफियाको खेल हो। गुठी भनेको भूमि होइन। सरकारले विधेयक ल्यायो रे? तर गुठी विधेयक भूमि व्यवस्था मन्त्रालयले होइन, संस्कृति मन्त्रालयले ल्याउने हो नि। त्योभन्दा पनि गुठी भनेको त संस्कृति, धर्म र परम्परामा जोडिएको कुरा हो नि। खाली भूमि देखाएको छ, जग्गा देखाएको छ। हामीले किसानले जग्गा पाउनुपर्दैन भनेको होइन, पाउनुपर्छ। तर सरकारी जग्गा पो दिने हो त। पहिले सायद चन्द्रशमशेरको पालामा २५ हजार कमैयालाई मुक्त गर्न पशुपतिको ढुकुटीबाट पैसा निकालेर मुक्त गरेको हो नि। अर्को कुरा मठमन्दिरको जग्गामा कसरी मोही हक हुन्छ। त्योचाहिँ मैले बुझिनँ। किनभने त्यो अरूले मठमन्दिरका लागि दान गरेको जग्गा हो। हाम्रो धर्म, मठमन्दिरलाई अलग्गै छोडिदिनुस् न विन्ती भनेको मात्र हो। गुठी भनेको कम्युन हो। सबै जनासँगै काम गर्ने, सँगै रोप्ने, सँगै खाने, सहकार्य गर्ने हो। दरबारमार्गको नेपाल ट्रस्ट भनेको पनि गुठी नै हो नि। तर पहिला हस्पिटल कलेजहरू खोल्ने भनियो। तर अहिले होटल रेस्टुरेन्ट खोल्नलाई जग्गा दिइसक्यो। त्यो जग्गामा किन पार्क नबनाएको?

प्रस्तावित विधेयक आउँदा क–कसलाई के–के असर पर्छ?

गुठीको मान्छेहरूले गुठीको मर्म नै नबुझी भूमाफियाहरूको सल्लाहमा त्यो बनाएको जस्तो लाग्छ। यसबाट सबै नेपालीहरूलाई असर पर्छ। हाम्रो धर्म, संस्कृति र परम्परामा असर पर्छ। अहिले ३१ जना पूजारीहरूले सामूहिक राजीनामा दिन्छु भनिसकेका छन्। त्यस्तो धेरै मठमन्दिरका पूजारीले भनिसके। जनकपुरको जानकी मन्दिरका महन्थहरूले पनि सडकमा आउने भन्नुभएको छ। भक्तपुरको भैरव मन्दिरको पूजारीहरूले पनि पूजै रोक्नेदेखि राजीनामा दिनेसम्मको कुरा गर्नुभएको छ। यो विधेयक भनेको डण्डीबियो खेल्ने मान्छेलाई भलिबलको नियम बनाउन दिने र भलिबल सिकाउने कोचलाई बास्केटबलको नियम बनाउन दिने जस्तो भयो।

यो विधेयकले असर पार्ने नेवार समुदायलाई मात्र हो र?

होइन। देशले नै पशुपतिनाथ नेवारको मात्र हो भन्यो भने मेरो भन्नु केही छैन। तर डाइरेक्ट असरचाहिँ नेवारहरूलाई बढी परेको छ। अरूकोमा चाहिँ मठमन्दिर छ भने हाम्रोचाहिँ गुठी छ। पानी गुठी, हरेक कुरामा गुठी छ। हाम्रो बडाबाजेले धारा मन्दिरमा पूजाआजा गर्न, फूल उमार्न र धानखेती गर्नका लागि जग्गाहरू दान दिनुभएको छ। त्यो जग्गा राज्यले पनि पाउँदैन र मैले पनि लिन सक्दिनँ। त्यो जग्गाबाट कमाएर खाएकै छैनन्। किसानी नै गर्ने मानिसलाई एउटा रेभुलेसन चाहिएको छ।

किसानहरूलाई इजरायली ढंगबाट खेतीमा आकर्षण गर्नुपर्छ। सरकारले व्यापारीहरूलाई होइन, किसानहरूलाई जग्गा दिनुपर्छ तर मठमन्दिरको जग्गा होइन। हाम्रो मठ मन्दिरलाई गुठीयारले बचाइराख्छन्। धर्म नरहे देशै कहाँ रहन्छ होला। धर्म बचाउनका लागि संस्कृति र परम्परा एकदमै आवश्यक छ। गुठी पनि त्यसको एक भाग हो।

सरकारले विधेयक फिर्ता लिने घोषण गरिसकेको छ र पनि बुधबार (आज) माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने कुरा छ नि?

भूमि व्यवस्थामन्त्रीले हामीलाई गुठी विधेयकलाई लिएर भ्रम सिर्जना गरेको, उत्तेजित बनाउन खोजेको र वातावरण बिथोलेको लान्छना लगाउँदै विधेयक फिर्ता लिने भन्नुभएको छ। हामीले भ्रम सिर्जना गरेको हो? उत्तेजित सरकारले बनाउन खोजेको कि हामीले? त्यत्रो त्यत्रो बिल्डिङ बनाउने उहाँहरू, अनि वातावरणचाहिँ हामीले बिथोलेको। त्यसैले हामी आज शक्ति प्रदर्शन गर्छौं।

हामी सबैको मनस्थिति विधेयक फिर्ता होइन, खारेजी हुनुपर्छ भन्नेछ। प्रधानमन्त्रीलाई यत्तिका जनताको माया छ भने यो विधेयक फिर्ता गरेर हुँदैन, खारेज नै गर्नुपर्छ। मैले शक्ति प्रदर्शनका लागि धेरैलाई आवान गरेको छु। कारण यति मात्र हो कि यो सरकार हामीलाई कति चित्त बुझेको छैन भनेर नम्बरमा देखाउनुपर्छ। हामी त्यहाँ गएर ढुंगामुढा गर्दैनौं। मेरो योजनाचाहिँ अरूलाई पनि फूल दिने छ। मैले सबैलाई पनि रंगीचंगी बेलुन लिएर आउनु भनेको छु, ताकि त्यो ठाउँ नै रंगीचंगी होस् र सकारात्मक माहोल बनोस्।

मैले विवाहमा प्रयोग हुने ११ जनाको ब्यान्ड बाजाको समूहसमेत बुक गरेर पैसा दिइसकेको छु। बाजा बजाएर शक्ति प्रदर्शन गर्ने योजना छ।

मैले विवाहमा प्रयोग हुने ११ जनाको ब्यान्ड बाजाको समूहसमेत बुक गरेर पैसा दिइसकेको छु। बाजा बजाएर शक्ति प्रदर्शन गर्ने योजना छ। जनताको आवाज त सदनमा पनि सुनिदिनुपर्यो नि। मै हँु भनेर त भएन नि। स्विजरल्यान्डजस्तो देशमा हरेक महत्वपूर्ण विषयको निर्णयका लागि जनमत हुन्छ, जनताले भोट दिन्छन्। संसद्मा मात्र छलफल हुनुपर्छ भन्ने छैन। तसर्थ यस्ता विषयको निर्णय गर्दा जनताको आवाज पनि सुन्न एकदमै आवश्यक छ।

गुठीकै जग्गामा ठमेलमा छाया सेन्टर पनि बन्यो नि? जसलाई लिएर अहिले विरोध पनि भइरहेको छ।
त्यहाँका भाइहरूसँग कुरा भएको थियो। त्यहाँ एकदमै पावर प्ले भएको रहेछ। हेर्दाखेरी बिल्डिङ बनिसकेपछि मात्र उनीहरूले आवाज उठाएको जस्तो देखिन्छ। तर उनीहरूले पहिलेदेखि नै आवाज उठाइरहेका थिए। भित्रभित्रै पास भएर कसरी बन्यो, त्यो भगवान् जानून्। अझै पनि देशमा कानुन छ, हेरौं।

जनताको चित्तै नबुभ्mने गरी किन विधेयक ल्याउने प्रयास भएको होला?

यो भूमाफियाको खेल हो। नेपालमा भूमाफियाको नाम लिनुपर्यो भने ४ जना पनि छैनन् होला। तर उनीहरूको खेलमा विधेयक ल्याउने प्रयास भयो। जनताका लागि बनेको सरकारले दूधको दूध पानीको पानी, कुन ठीक कुन बेठीक छुट्याउन सक्नुपर्छ, सदियौंदेखि चलिआएको कुरालाई बिथोल्न हुँदैन। नेताहरूले सुत्दा उठ्दा, बस्दा जनताकै बारेमा सोच्नुपर्छ। आफ्ना लागि होइन। नभए किन राजनीतिमा लागेको त?

कलाकारिताको क्षेत्रबाट तपाईंले आवाज उठाएपछि मात्र अरू थपिए नि?

म जबरजस्ती नै आएँ। हामीजस्ता कलाकारहरू आउँदा एक पक्षीय जस्तो देखिन्छ। मानिसहरूले नेवार भएर नेवारका लागि बोल्न आयो भनेर एउटा बिल्ला लाइदिन्छन्। त्यो होला भनेर होला सायद अरू कालकार नआउनुभएको। सञ्जय श्रेष्ठ त पहिलेदेखि नै कराइरहेका थिए। दीपक वज्राचार्यहरू त आएको देखिएन। उनीहरूलाई पनि एउटा लेभल लगाइदेलान् भनेर होला।

तर यो नेवारको मात्र इस्यु होइन, नेपाल राष्ट्रकै हो। अहिले बोल्नेमा भने नेवार गायकहरू मात्र भए। अन्य गायकगायिकाहरू पनि बोल्छु भन्नुभएको थियो। तर पछि हट्नुभयो। उहाँलाई वादविवादमा नपरौं भन्ने लाग्यो होला। उहाँहरू नबुझेर नआउनुभएको जस्तो लाग्छ। तर हामी सरकारसँग कुस्ती खेल्न लागेका होइनौं। अर्को कुरा के भने धर्म निरपेक्ष देशमा किन यो टन्टा गरिरहेको सरकारले? धर्म निरपेक्ष देशमा त धर्मको बारेमा केही पनि वास्तै गर्नु हुन्न नि।

प्रतिक्रिया दिनुहोस्