कांग्रेसमा कारबाही शुरू



नेपाल समाचारपत्र, काठमाडौं
नेपाली कांग्रेसले २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा एवं संघीय संसद्को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका २५ जिल्लाका १ सय ७६ जना नेता तथा कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ।

केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। जसअनुसार पर्साका ३२, रूपन्देहीका २२, दाङका २२, काठमाडौंका १५, चितवनका १३, बाँकेका ११, धनुषाका १०, ललितपुरका ९, ओखलढुंगाका ८ जना रहेका छन्।

नेपाली कांग्रेसको विधान–२०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा ४ (क) बमोजिम तीनै तहको निर्वाचनमा आधिकारिक उम्मेदवारका विरुद्ध बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका सबै तहका नेता तथा कार्यकर्तालाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएको छ।

साथै, त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावली हालसम्म केन्द्रीय अनुशासन समितिमा पठाउन बाँकी जिल्लाहरूलाई तत्काल नामावली पठाइदिनसमेत निर्देशन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्