तल्लो र मध्य मोदीमा अवरोध कायमै, निर्माण कार्य प्रभावित



दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्वतमा निर्माणाधिन दुई जलविद्युत आयोजनामा प्रभावित र कर्मचारीको आन्दोलनका कारण कायम भएको अबरोध हट्न नसक्दा निर्माण कार्य प्रभावित भएको छ ।

चौधरी ग्रुपले निर्माण गरिरहेको १४.८ मेघावाट क्षमताका मध्य मोदी जलबिद्युत आयोजना र मोदी इनर्जी प्रालिले निर्माण गरिरहेको २० मेघावाट क्षमताको तल्लो मोदी जलबिद्युत आयोजनामा तीन साता देखि अबरोध कायम हुँदा निर्माण कार्य प्रभावित बनेको हो ।

चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको मध्यमोदी जलबिद्युत आयोजनाको सुरुङ्ग निर्माण कार्यमा स्थानियबासीले क्षतिपुर्तीको माग गर्दै अबरोध गरेपछि जेठ ८ गते देखि निर्माण कार्य रोकिएको छ भने निर्माण कार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने र उपदान दिनुपर्ने लगायतका माग राखेर तालाबन्दी गरेपछि तल्लो मोदी जलबिद्युत आयोजनाको काम जेठ २० गते देखि ठप्प बनेको छ । निर्माण कार्य रोकिएपछि असार पहिलो साता परिक्षण उत्पादन गर्ने तयारीमा रहेको जलबिद्युत आयोजनाको उत्पादन मिति पर धकेलिएको छ ।

मध्य मोदी र तल्लो मोदी खोला जलबिद्युत आयोजनामा अबरोध भएपछि आयोजना तथा कर्मचारी र प्रभावित क्षेत्रका बासिन्दाका बिचमा सहमतिका लागि पटक पटक प्रयास भएपनि सहमति कायम हुन सकिरहेको छैन । जिल्ला समन्वय समितिको पहलमा स्थानिय प्रशासन र प्रभावित क्षेत्रका बासिन्दाका बिचमा सोमबार र मंगलबार भएका छलफल पनि बिना निष्कर्ष टुंगिएका छन । दुबै पक्षलाई राखेर प्राबिधीकको प्रतिबेदन तथा स्थानियको माग बमोजिम छलफल भैरहेको र बुधबार हुने छलफलमा पनि सहमतिको प्रयास हुने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल बताउनुहुन्छ ।

मध्यमोदी जलबिद्युत आयोजनाको सुरुङ्ग निर्माणका क्रममा बम बिष्फोटन गर्दा घर संरचनाहरुमा क्षति पुगेको भन्दै उचित क्षतिपुर्ती दिनुपर्ने माग प्रभावितहरुको छ । मोदी गाउँपालिका वडा नं. १ र २ का मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका बस्तीका घरहरु भूकम्पले झै भत्किन थालेपछि भुगर्वविद् र प्राविधिक टोलीले दिएको रिपोर्टका आधारमा क्षतिपुर्तिको रकममा पुर्नमुल्याँकन गर्नुपर्ने माग प्रभावितको छ ।
तल्लो मोदी जलबिद्युत आयोजनामा कार्यरत ४० जना कर्मचारीहरुले स्वतः स्थायी हुनुपर्ने र स्थायी नहुने तथा जागिर छाड्न चाहने कर्मचारीलाई एकमुष्ठ २० लाख उपदान स्वरुप रकम दिनुपर्ने माग राखेका छन । तर आयोजनाका सञ्चालकहरु भने निर्माणको समयमा ठेकदार कम्पनीमा कार्यरत कर्मचारीहरुले निर्माण कार्य सकिएपछि स्वतः अबकासमा जाने अबस्थामा अनावश्यक दबाब दिएको बताउँदै कर्मचारीका माग पुरा गर्न अस्विकार गर्दै आएको छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरे भने आयोजना र आन्दोलनरत पक्षलाई सहमतिको उचित बिकल्प सहित उपस्थित हुन भनिएपनि अहिले सम्म दुबै पक्ष नआएको बताउनुहुन्छ । ‘सहमतिको प्रयासका लागि हामी निरन्तर पहलमा छौ’ उहाँले भन्नुभयो ‘दुबै आयोजनामा जारी समस्या समाधान गर्न केही समय लागेपनि सहमति पछि काम सुचारु हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्