नपाले चलायो घरमाथि डोजर, अनशन बसेकाको अवस्था बुझ्न पुगे संसदीय समिति



यमलाल भुसाल, बुटवल ।
प्रदेश– ५ प्रदेश सभाको प्रदेश मामिला तथा कानून समितिले बुटवल उपमहानगरपालिकाले डोजर लगाएर घर भत्काइदिएपछि अनशनमा बसेका अनशनकारीहरुको अवस्था बुझ््न स्थलगत अनुगमन गरेको छ ।

बुटवल उपमहानगरपालिकाले वडा नं १ का १६ घर परिवार बसोबास गर्दै आएको तत्कालिन श्री ३ मुमाबडामहारानीको नाउमा रहेको जग्गामा वस्दै आएका परिवारको घर गत विहिवार डोजर लगाएर भत्काइदिएपछि पिडितहरु गत शनिबार देखि सोही स्थानमा अनशन बस्दै आएका हुन ।

अदालतमा मुद्धा बिचाराधीन रहेको अवस्थामा बुटवल–१ स्थित जामे मस्जिद अगाडि २ कठ्ठा बढी जग्गामा २०२८ सालदेखि बस्दै आएका १६घर परिवारका टहरा उपमहानगरले डोजर लगाएर भत्काइदिएको समाचार सार्वजनिक हुनुका साथै प्रदेशसभा बैठकमा समेत सो कुरा उठेपछि प्रदेशसभाको प्रदेश मामिला तथा कानून समितिले मंगलवार घटनास्थलको अनुगमन गरेको हो ।

समितिका सदस्य भोज प्रसाद श्रेष्ठको संयोजकत्वको टोलिले घटनास्थलको अनुगमन गर्नुकासाथै पिडितहरुको अवस्थाको बारेमा जानकारी लिएको हो । अनुगमनमा गएको टोलि समक्ष पिडितहरुले उपमहानगरपालिकाले आफुहरुमाथि अन्याय गरेको भन्दै विकल्प दिन माग गरेका छन । उनिहरुले पीडित १६ घर परिवारलाई सोही वडामा घरबासको व्यवस्था गर्नुपर्ने माग समेत गरेका छन ।

नेताहरु चुनावका बेला भोट माग्न मात्रै आउने आफुहरुलाई समस्या पर्दा कोही नआउने भन्दै उअनशनकारी आक्रोसीत भएका थिए ।
डोजर लगाएर बस्ती हटाइएको स्थानमा उपमहानगरपालिकाले ४८ लाखको लागतमा वहुउद्देशीय कभर्ड हलबनाउनका लागि शनिवार शिलान्यास समेत गरिसकेको छ । उपमहानगरपालिकाले वस्तीमा डोजर लगाएर ४८ वर्षदेखि वस्दै आएकाहरुको विचल्ली भएको छ ।

प्रतिक्रिया दिनुहोस्