पाटन अस्पतालमा विज्ञको नाममा गैर–विज्ञको सेवा, मेडिकल काउन्सिल र अख्तियारमा उजुरी



भगवती तिमिल्सिना, काठमाडाैं ।
दिन–प्रतिदिन बिरामीहरुको उपचारमा लापरवाही भयो, बिरामीको अंगभंग भयो, मृत्युसमेत भयो भन्ने घटना बढी रहेको अवस्थामा पाटन अस्पतालमा विशेषज्ञले गर्ने सेवा गैरविशेषज्ञबाट भैरहेको व्यहोरा बाहिर आएको छ ।

नेपाल डेन्टल एशोसियसनले पाटन अस्पतालको गम्भीर त्रुटिलाई सुधार्न आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय अनुसन्धान ब्युरो, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ओदान लगायतका निकायमा उजुरी दिएको छ ।

एशोसियसनले जेठ ३० गते दर्ता गरेको उजुरीमा –देशको प्रतिष्ठिन स्वास्थ्य संस्था, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त चिकित्सा विभागको अर्योडन्टिक्स तथा डेनटोफेसिय अर्थोपेडिक विभागमा गैर–चिकित्सकलाई विशेषज्ञ चिकित्सकको रुपमा काम गराई सेवाग्राही बिरामीको आधारभूत अधिकारको समेत हनन हुनेगरी ठगी काम भैरहेको देखिएकोले कारबाही गरिपाऊँ ।

उजुरीमा भनिएको छ, देशमा कुचिकित्सकका कारण स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरुको पेशा निकै कमजोर र चुनौतीपूर्ण भएको अवस्थामा, यस्ता बदमासीप्रति मौन बस्न मिल्दैन, सेवाग्राहीको हकहित र इमान्दार पेशाकर्मीलाई समेत लाग्ने आक्षेपबाट बचाउन तत्काल कारबाही आवश्यक छ । ‘हामीसँग हाम्रो दावी प्रमाणित गर्ने अकाट्य प्रमाण छ कि, यस्तो अनैतिक अमर्यादित र गैरकानूनी कार्यमा संलग्न व्यक्ति तथा संस्थालाई कडाभन्दा कडा कारबाही गर्नुहुन प्रमाणका लागि तस्वीर, भिडियोसहितको पेस गर्दछु ।’

पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले नेपाल समाचारपत्रलाई अनुगमनमा को आयो थाहा नभएको बताउनुभयो । ‘पत्र पनि मैले पाएको छैन र उपचार गैर विशेषज्ञले गरेको छैन । पाटन अस्पताल प्राइभेट हैन, प्राइभेट भएको भए पैसाको लागि त्यसो गरे कि भन्ने हुन्थ्यो, त्यस्तो छैन ।’

तर शर्माले कसै–कसैले डाक्टरलाई मद्दत गरेको हुनसक्छ भन्ने चाहिं स्वीकार गर्नुभयो ।

यता उजुरी परेको निकाय नेपाल मेडिकल काउन्सिलका सदस्य डा. ढुण्डी पौडेल भन्नुहुन्छ–उजुरी परेको छ, छानविन गर्छौं । ‘विशेषज्ञले गराउने काम अरुलाई गराउन पाइन्न ।

पाउँदै नपाएको योग्यताको काम गरेमा छानविन गरिन्छ, सचेत गराइन्छ, कसैको ज्यान जोखिमा परेमा उपचारमा संलग्न व्यक्तिलाई जेल सजाय तथा क्षतिपूर्ति र संस्थालाई पनि क्षतिपूर्ति भराई सचेत गराउने कानुनी व्यवस्था’ डा. पौडेल, स्तरीय सेवा प्रत्याभूत गराउने दायित्व हरेक स्वास्थ्य संस्थाको हुने स्मरण गराउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्