इलाम बजारबाट तराई जोड्न फास्ट ट्रयाकले गती लिँदै



गणेश घिमिरे, इलाम ।
इलाम सदरमुकाम हुँदै झापाको बिर्तामोडसम्मको फास्ट ट्रयाक (द्रुतमार्ग) खुलेपछि अब इलाम सदरमुकाम आउन र झापा जान निकै छिटो भएको छ । मेची राजमार्गको बैकल्पिक मार्गका रूपमा इलाम सदरमुकाम–बिर्तामोड फास्ट ट्रयाक खुलेपछि आउ–जाउ पनि निकै सहज हुँदैछ । मेची राजमार्ग भएर पुग्न ८६ किलोमिटरको यो दूरी अब बढीमा ४७ किलोमिटरमा सीमित भएको छ ।

करीब तीन घण्टा लाग्ने मेची राजमार्गको यात्रा आधा छोट्टिएपछि इलामबासी हर्षित छन् । इलाम सदरमुकामबाट गोलाखर्क भञ्ज्याङ, सोयाक, चिसापानी र दानाबारी हुँदै झापा बिर्तामोड जोडिने यो मार्गमा सवारी साधन बाक्लै मात्रामा चल्न थालेको छ । गाउँमा उत्पादन हुने धान, तरकारी, केरालगायत कृषिजन्य उत्पादनले पनि भाउ पाएको छ ।

सोयाक बेलासेका जग्गा–जमिनको धेरै वर्ष भाउ थिएन, अब चाहिँ राम्रो मूल्यमा बिक्ने आशा जागेको बताउनुभयो । गाउँमा उत्पादन हुने अदुवा, कुचो, तरुल र तरकारीले राम्रो भाउ पाउन थालेको पनि उहाँको भनाई छ । पहाडी जिल्ला इलामका बासिन्दा किनमेलका लागि झापा बिर्तामोड झर्छन् । जिल्लाको पूर्वीका बासिन्दालाई तराई झर्नुपरे सदरमुकाम आउन नपरेपनि पश्चिमी क्षेत्रका बासिन्दा सदरमुकाम भएरै तराई झर्थे । स्थानीय तह पुनर्संरचनासँगै सडक पूर्वाधार विकास हुन थालेपछि पश्चिमी क्षेत्रका बासिन्दा सदरमुकाम नआई सोझै तराई झर्ने सुविधा भएको छ । पाँचथर र ताप्लेजुङका बासिन्दा समेत मेची राजमार्ग छाडेर राँके–रवि हुँदै सोझै तराई झर्दा इलाम सदरमुकाम ओझेलमा पर्ने सम्भावना रहेका बेला नयाँ फास्ट ट्रयाक खुलेपछि सुविधा थपिएको छ । अब इलाम सदरमुकामबाट सबैभन्दा छिटो तराई झर्ने मार्ग यही भएको स्थानीय भेषराज आचार्यले बताउनुभयो ।

सडक खुलेपछि यो क्षेत्रमा नयाँ घर बन्ने र पसल खुल्नेक्रम बढेको छ । मानिस आउ–जाउ बढेपछि गाउँमै व्यवसाय चल्ने आशाले स्थानीय हर्षित छन् । इलाम नगरपालिकाले यो सडकलाई कालोपत्रे गर्नेसम्मको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । सडकको ट्रयाक खुलिसकेकाले यसलाई कालोपत्रे गर्नसके इलाममा मानिसको आउ–जाउ बढ्ने र पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताउनुभयो । यो सडकलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको उहाँको भनाई छ ।

सरकारको रणनीतिक सडक योजनामा समेत उयो सडक परेको छ । चालु आवमा इलाम नगरपालिका–९ को भञ्ज्याङ, भाङटार, राकसे सडक खण्डमा तीन करोड ८४ लाख बजेट बराबरको काम भइरहेको डिभिजन सडक कार्यालय इलामले जनाएको छ । इलाम नगरपालिकाले वडा नं ९ को सडक खण्डमा सडकको नाली निर्माण र ग्राभेल भर्ने काम भइरहेको जनाएको छ । त्यस्तै नयाँ ठेक्कामार्फत थप दुई करोडमा सडकलाई थप चौडा बनाउने र थप ग्यावियन पर्खाल र अन्य संरचनाको कार्य अगाडि बढेको इञ्जिनियर ध्रुवकुमार झाले बताउनुभयो ।

सडकको निर्माणमा प्रति किलोमिटर तीन करोड दुई लाख १३ हजार खर्च लाग्ने अनुमान छ । यो सडक खण्डका आधा दर्जन खोलामध्ये माईखोलामा पुल बनिसकेको छ । पुवाखोलामा बन्न बाँकी रहेपनि अन्य खोलाहरूमा कुनैमा बनिसकेको र कुनैमा ठेक्का लागिसकाले सडक निर्माण पनि द्रुत गतिमै अघि बढेको हो । यो सडक निर्माण भए इलामले आर्थिक विकास, समृद्धि र पर्यटनमा छलाङ मार्छ भन्ने विश्वास रहेको मेयर बस्नेतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्