जन्मदिनमा जाइराको रूप



हिजोआज कलाकारहरूले आप्mना फिल्मका प्रचार वा अन्य सामग्री जन्मदिनको अवसर पारेर सार्वजनिक गर्न थालेका छन्। यसै क्रममा नायिका तथा निर्मात्री नम्रता श्रेष्ठले पनि ३३ वर्ष पुगेको अवसरमा आफ्नो निर्माणाधीन फिल्म जाइराको पोस्टर सार्वजनिक गरिन्।

नम्रताले आफूद्वारा सञ्चालित एटिक बारमा शुक्रबार एक कार्यक्रमबीच जाइराको टिमसँग जन्मदिन मनाइन्। पोस्टर भने तयार नभएकाले पछि मात्र प्रकाशनमा आउन सक्यो। आगामी भदौ ६ गते अल नेपाल रिलिजमा आउने फिल्ममा नम्रताले मिक्स मार्सल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छन्। पोस्टरमा नम्रतालाई नै प्रमुख स्थान दिइएको छ। फिल्मको कथा उनको वरिपरि घुमेकाले फिल्मको प्रचार सामग्रीमा उनलाई नै विशेष स्थान दिइँदै आएको निर्माण समूहले जानकारी गराएको छ। जाइरालाई आशुतोषराज श्रेष्ठ निर्देशन गरेका छन्।

लभर गर्लको भूमिकामा रुचाइएकी नम्रताले जाइरा आप्mना लागि विशेष रहेको बताइन्। ‘स्क्रिप्टमा आशुतोषले निकै वर्क गरेको छ। स्क्रिप्टमा मात्र उसले ३ वर्ष खर्चेको छ। उसको मेहनत, लगाव र उसप्रति मलाई विश्वास भएर नै जाइरा गरेकी हुँ’, जन्मदिनको केक काट्दै नम्रताले भनिन्– ‘मैले मेरो क्यारेक्टरलाई शतप्रतिशत दिन सकिनँ भने दर्शकलाई सजिलै थाहा हुन्छ। दर्शकलाई झुक्याउन सकिन्न। त्यसैले म हरेक क्यारेक्टरलाई शतप्रतिशत दिने प्रयास गर्छु। मलाई हरेक क्यारेक्टर चुनौतीपूर्ण र हरेक फिल्म ड्रिम प्रोजेक्ट लाग्छ।’ उनले जाइराबाट आफूले लभर गर्लको छवि मेट्ने प्रयास गरेको पनि बताइन्।

हरेक फिल्मको अभिनयमा विविधता पस्किरहेकी नम्रता पहिलोपटक जाइरामार्फत एक्सन अवतारमा प्रस्तुत हुन लागेकी हुन्। फिल्ममा उनका साथमा अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, नव कलाकारहरू श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरले पनि मुख्य भूमिकामा अभिनय गरेका छन्।

कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्स प्रालिको प्रस्तुतिमा प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको जाइरामा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा, कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत, केशव थापाको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व, बाबु श्रेष्ठको डीओपी र लोकेश वज्राचार्यको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्