ढल्केबर सबस्टेसन आगामी पुसभित्रै, अन्तर्देशीय विद्युत् व्यापार गर्न सहज हुने



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन ४०० केभीको ढल्केबर सबस्टेसन आगामी पुसभित्र सञ्चालनमा आउने भएको छ ।

स्वदेशी लगानीमा निर्माणाधीन ४००÷२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ ।

४००÷२२० केभीको सबस्टेसन सञ्चालनमा आएपछि नेपाल र भारतबीच नौ सय मेगावाट विद्युत् आयात–निर्यातका लागि पूर्वाधार तयार हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

‘ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइन यसअघि नै निर्माण सम्पन्न भई अहिले २२० केभीमा सञ्चालनमा छ, ढल्केबरमा ४००÷२२० केभी सबस्टेसनको निर्माण सकिएपछि ठूलो क्षमताका प्रसारण लाइनमार्फत दुई मुलुकबीच विद्युत् आदानप्रदान गर्न सकिने छ, यसबाट अन्तर्देशीय विद्युत् व्यापार थप सहज बन्ने छ,‘ उहा“ले भन्नुभयो–‘ ४५६ मेगावाटको माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएपछि नेपालमा वर्षायाममा विद्युत् बढी हुन गएको खण्डमा भारत निर्यात गर्नका साथै दुई मुलुकबीच इनर्जी बैकिङ गर्न समेत बाटो खुल्ने छ ।’

ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनलाई २२० केभीमा चार्ज गरी भारतबाट पिक समयमा दैनिक २२० मेगावाटसम्म विद्युत् आयात भइरहेको छ । अन्य विन्दुको तुलनामा मुजफ्फपुरबाट आयात हुने विद्युत््को मूल्य सस्तो छ । ढल्केबरमा २२०÷१३२ केभी सबस्टेसन पनि सञ्चालित छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले र सबस्टेसन निर्माण प्रगतिको स्थलगत निरीक्षण गरी निर्धारित समयमै काम सम्पन्न निर्देशन दिएका छन् । घिसिङले यो सबस्टेसन सरकारको उच्च प्राथमिकताको आयोजना भएकाले कुनै पनि वहानामा निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो ।

सबस्टेसन निर्माणको ठेक्का पाएको भारतीय कम्पनी एबीबीले ठेक्का सम्झौतामा निर्धारित समय अर्थात ३१ डिसेम्बर २०१९भित्र सबस्टेसन काम सकी चार्ज गर्ने प्रतिबद्धता जनाएको छ । सबस्टेसनको इन्जिनियरिङको ९५ प्रतिशत, उपकरणको उत्पादन तथा आपूर्तिको ६० प्रतिशत र जडान तथा सिभिल कार्यको प्रगति ४० प्रतिशत छ । प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले मकवानपुरको हेटौडा र सुनसरीको इनरुवामा पनि ४००÷२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ । उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्