‘सरकारको समीकरण बदल्ने खेल’



काठमाडौं, (नेस)
सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले शान्ति प्रक्रियाको मुद्दा उचालेर सरकारको समीकरण बदल्ने खेल भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

विभिन्न विधेयकलाई लिएर सदन र सडकमा सरकारको विरोध भइरहेका बेला प्रमुख सचेतक गुरुङले सरकारको समीकरण फेरबदलको खेल भइरहेको खुलासा गर्नुभएको हो । प्रतिनिधिसभाको आइतबारको बैठकमा उहाँले नेताहरुको कमीकमजोरीबाट बाह्य शक्तिहरुले नाजायज फाइदा उठाइरहेको पनि स्पष्ट पार्नुभयो ।

बाह्य शक्ति केन्द्रसँगको मिलेमतोमा सरकारको समीकरण फेरबदलको तयारी भइरहेको उहाँको दावी थियो । ‘विदेशी शान्ति प्रक्रियालाई अवरोध गर्ने प्रक्रियामा लागिराखेको छ, यहाँका कतिपय दलका नेता यही मुद्दालाई लिएर समीकरणमा खेल्न सकिन्छ कि भनेर, सरकार फेर्न सकिन्छ कि भन्ने संकीर्ण सोचबाट पनि हेरिरहेका छन्’, उहाँले भन्नुभयो– ‘कतिपयले यही मुद्दालाई उठाएर पेलेको पेल्यै गरेर आफू सधै सत्तारुढ बन्न पाइन्छ भन्ने प्रकारको सोचले पनि काम गरिरहेका छन्, कतिपयले यही मुद्दालाई केन्द्रविन्दु बनाएर समीकरण फेर्ने, टुटाउने फुटाउने ढंगले जान सकिन्छ कि भनेर पनि सोचेका होलान् ।’

नेताहरुको कमजोरीबाट नाजायज फाइदा उठाएर फेरि नेपालमा विदेशी सेना भित्र्याउने चलखेल भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो । नेपाललाई विदेशी सेनाको क्रीडास्थल बनाउने र छिमेकी राष्ट्रको रुपमा प्रयोग गर्ने दिशामा मुलुक अघि बढेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘नेपालको सार्वभौमसत्ता र अस्मिता रहन्छ कि रहँदैन भन्ने स्थितिमा मुलुक पुगेको छ’, उहाँले भन्नुभयो– ‘नेपाल अब विदेशी सेनाको अखडास्थल बन्यो भने अफगानिस्थानजस्तो र दक्षिण कोरियाजस्तो मात्रै हुनेवाला छैन ।’ उहाँले दुईवटा छिमेकी राष्ट्रको बीचमा विदेशी सेनाको अखडा बन्यो भने नेपालको भूगोल रहन्छ कि रहँदैन भनेर समेत प्रश्न गर्नुभयो ।

पश्चिमा शक्तिले फेरि पनि शान्ति प्रक्रियासँग जोडिएको मुद्दालाई हतियारको रुपमा प्रयोग गर्न खोजिरहेको भन्दै उहाँले समयमै शान्ति प्रक्रियाका बाँकी विषय टुंगो लगाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्