शैक्षिक सुधारका लागि नयाँ अभ्यास, विद्यालयमा अभिभावककै हाजिरी !



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
स्थानीय तह निर्वाचन पश्चात शैक्षिक सुधारको मुद्धा प्राथमिकताका साथ उठिरहेको छ ।

गाउँ नगरले शैक्षिक सुधारका लागि नयाँ नयाँ अभ्यास गरिरहेका बेला जिल्लास्थित त्रिपुरासुन्दरी गाउँपालिकाको एक विद्यालयमा शैक्षिक सुधारका लागि विद्यालयमा अभिभावककै हाजिरीको सुरुवात गरिएको छ । शिक्षकले मात्र सामुदायिक विद्यालय सुधार गर्न नसकिने भन्दै अभिभावकहरुलाई नै शैक्षिक सुधारमा अघि सारिएको हो ।

त्रिपुरासुन्दरी गाउँपालिका ३ स्थित महेन्द्रप्रताप माध्यमिक विद्यालयमा हरेक दिन अभिभावकहरु विद्यालयमा आउन थालेका छन् । विगत एक महिनादेखि अभिभावकलाई नै विद्यालयमा ल्याउन सुरुवात गरेको महेन्द्रप्रताप माध्यमिक विद्यालयमा अभिभावककै हाजिरी हुन्छ ।

एकजना अभिभावक महिनामा कम्तीमा एकपटक स्कुल टेक्छन् । कतिपय त हप्तैपिच्छे स्कुल आउँछन् । विद्यालयमा आउने अभिभावकहरुको आफ्नै कार्यसूची छ । विद्यालयमा आएर उनीहरु शिक्षक समयमै आए नआएको अनुगमन गर्दछन् ।

कोही विद्यार्थीलाई कक्षा बाहिर देखे अभिभावकले नै कक्षामा लगिदिन्छन् । त्यतिमात्र हैन, अफिसकोठामा खानेपानीका फिल्टर भर्नेदेखि विद्यालय परिसर सरसफाई समेत अभिभावकहरुले गरिदिन्छन् । कक्षाकोठामा विद्यार्थीका पोषाक उध्रिउमा सिलाइदिनेदेखि, उनीहरुको सरसफाई पनि स्कुल पुगेका अभिभावकले गरिदिन्छन् ।

वडा कार्यालयको अगुवाई जेठदेखि विद्यालयमा अभिभावक कार्यक्रम सुरु गरिएपछि महेन्द्रप्रताप माध्यमिक विद्यालयमा परिवर्तन देखिन थालेको शिक्षकहरु बताउँछन् ।

विद्यालयमा अभिभावक कार्यक्रम सुरु गरिएपछि वर्षभरि स्कुलमा नआउने अभिभावकहरु पनि स्कुल आउन थालेको वडाध्यक्ष सुकदेव रिसालले बताउनुभयो ।

‘एउटा शिक्षकले मात्र चाहेर हुँदैन, अभिभावकहरु पनि आफ्ना बालबच्चाका पढाईप्रति जिम्मेवार बन्नुपर्दछ’। वडाध्यक्ष रिसालले भन्नुभयो, ‘वडाध्यक्षका हैसियतले मैंले यो नयाँ अभ्यास सुरु गरें, सुधारका लक्षण देखिन थालेका छन् ।’ महेन्द्रप्रतापमा विद्यालयमा अभिभावक कायृक्रम प्रभावकारी बनेमा वडाका अन्य विद्यालयहरुमा पनि यो कार्यक्रम सुरु गरिने वडाध्यक्ष रिसालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्