रुकुममा भुमे पर्वको रौनक



धनवीर दाहाल,रुकुम ।
मगर समुदायको बिषेश पर्व भुमे पर्वले रुकुममा मगर मात्र होइन अन्य समुदायलाई पनि उत्तिकै रौनकता थपेको छ । मगर समुदायको मौलिक पहिचान वोकेको भूमे नाचमा वर्षको एकपटक आफ्नै कला, पहिचान र रहनसहन झल्कने प्रस्तुतिहरु प्रदर्शन गर्छन् । भूमे पर्व मनाउँन घर वाहिर गएकाहरु पनि यतिवेला घर आउँने गर्छन् । मगर समुदायले दशैं तिहार भन्दा पनि भूमे पर्वलाई ठूलो महत्व दिन्छन् ।

पछिल्लो पिढिहरुमा मौलिक संस्कृत तथा परम्पराप्रति चिन्ता र चासो हराउन थालेको भन्दै आफ्नो संस्कृतिको संरक्षण, संवद्र्धन एवं प्रचार प्रसार कम हुँदै गएकोमा वुढापाकाहरु चिन्तित छन् । यस पर्वमा प्रत्येक दिन जम्मा भएर स्थानीयहरु एकैसाथ नाचगान गर्ने गर्छन् ।

नाचमा महिलाहरुले गुन्नी, चोली, पटुका, गादा, पछ्यौरी,र पुराना खालका गरगहनाहरु लगाएर नाच्ने गर्दछन् । पुरुषहरुले चौवन्दी, पाखीको पटुका, फेटा, गादा, ढाँका टोपी लगाई कम्मरमा खुकुरी भिरेर नाच्छन् । विभिन्न विधि पुर्याएर भूमे देवतालाई भेडाको वली चढाइन्छ ।

भुमे पर्वलाई अन्त्य गर्नु भन्दा एक दिनअघि अग्लो लेकमा गएर पन्थी देवतालाई ध्वजा र धुप जलाइन्छ । त्यसै ठाउँमा फुलेका ल्याएर वलीलाई सिंगारपटार गरि बलि चढाई पर्व दिइन्छ । रुकुम पुर्व र रुकुम पश्चिमका खाम मगर जातिले मौलिक पोशाक पहिरिएर बाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने परम्परा छ ।

भूमिको पूजा भएपछि देवता खुसी हुने र त्यसपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनैपनि प्रलय नआउने र दुःखको नाश भई पृथ्बीबासी सबैमा खुसी आउने जनविश्वासका छ । यो क्षेत्रका सबै मगरहरुले संगै भेला भएर रमाइलो गर्दा आफुहरुले दुःख पिर बिर्सने र मन खुसी हुने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्