हाम्रो समय कहालीलाग्दो अवस्था थियो ः गौरी मल्ल



अभिनेतृ गौरी मल्लकोे सपना थियो स्टाफ नर्स बन्ने। उद्देश्य एउटा, बाटो अन्तै मोडियो। नायिका बनिन्। यसैबाट नाम कमाइन्। देश–विदेश घुमिन्। नामसँगै प्रशंसक र अवार्ड कमाइन्। विभिन्न प्रतियोगिता र फिल्म अवार्डको जुरी बनिन्। सानोदेखि ठूलो पर्दाका फिल्ममा अभिनय गरेरै जीवन अगाडि बढाइन्। दर्जनौं साना र ठूलो पर्दाका फिल्मका विभिन्न भूमिका निर्वाह गर्दै अहिले पनि यसै क्षेत्रमा सक्रिय छिन्। उनै कुशल अभिनेतृसँग विभिन्न विषयमा गरिएको केही गम्भीर र केही रोचक कुराकानी यहाँ प्रस्तुत छ ः
विदुर गिरी

हिजोआज के गर्दै हुनुहुन्छ?

हेल्परको बच्चालाई सञ्चोे नभएर ध्यान त्यतै दिइरहेको छु। उसको स्वास्थ्यलाभका लागि दौडधुपमै व्यस्त छु। दुई वटा स्क्रिफ्टको काम हातमा छ। वर्क आउट चलिरहेको छ।
दिनचर्या कसरी बितिरहेको छ?
बिहान पूजापाठ सकिएपछि मुवालाई नास्ता दियो, बाहिर निस्कनुपरे निस्कियो। घर बसेरै गरे हुने काम भए घरबाटै वा फोनबाटै काम गर्यो। यस्तै छ दिनचर्या। कस्तो भने फुर्सदमा पनि छैन, काम पनि छैन। योबाहेक फिल्म क्षेत्रकै लागि एउटा महवपूर्ण जिम्मेवारीको काम पनि गरिरहेको छु।

तीन दशकभन्दा लामो आफ्नो फिल्मी करियरलाई कसरी सम्झनुहुन्छ?

यो सुन्दर यात्रा थियो। काम गर्ने क्रममा जुन–जुन कुरा आए, त्यसलाई छिचोल्दै, पन्छाउँदै अगाडि बढें। कहिले मीठो, कहिले नमीठो, कहिले गुलियो र कहिले तीतो अनुभव गरियो। कहिले उकालो उक्लियो, कहिले ओरालो झरियो। जे भए पनि यात्रा जारी छ। यस क्रममा धेरै कुरा सम्झन्छु। त्यो दिन सम्झन्छु जुन बेला भर्खर–भर्खर यो क्षेत्रमा आइएको थियो। अहिलेजस्तो सिनेमा र हल पनि थिएन, आएको काम गर्यो, एक वर्षसम्म चुपोलागेर घर बस्यो। त्यो बेला म फिल्ममा आउनु र फिल्म खेल्नु नै मिराकल जस्तो लाग्छ। एम अर्कै थियो, काम अर्कै भयो। जान चाहेको बाटो अर्कै थियो, मोडियो अन्तै। यसरी मोडियो कि त्यो बाटो कहिल्यै फर्किएन। यति बेला सम्झन चाहन्छु निर्देशक प्रकाश थापालाई।

उहाँले मलाई विश्वासले सन्तानमा लिनुभएको थियो। डाइरेक्टरमा त्यो एउटा खुबी हुनुपर्छ। उहाँले त्यो मान्छेलाई अभिनयका लागि लिनुभयो, जसमा अभिनय गर्ने म नै अनभिज्ञ थिएँ। ममा केही नहुँदानहुँदै पनि विश्वास गरेर मलाई यो क्षेत्रमा ल्याउनुभयो। सन्तानपछि कन्यादान र महामायामा पनि मलाई लिइरहनुभयो। यादव खरेल सम्झिन्छु, जसले चेलीबेटी अनि मेन रोलमा आँधीबहेरी र लोभीपापीमा लिनुभयो। अनि सम्झिन्छु नीर शाहलाई, जसले फिल्म बन्नुभन्दा तीन वर्षअगाडि नै वसन्तीका लागि मलाई साइन गर्नुभएको थियो। वसन्तीमा मै मात्र त्यो कलाकार थिएँ, जो तीन वर्षअगाडि अनुबन्धित भएको थिएँ। मैले सम्झिनुपर्ने अर्को निर्देशक हुनुहुन्छ छिरिङ रितार शेर्पा। जसले केवल फर्मुलमा मात्र फिल्म बन्ने समयमा मिथिला शर्मा, रतन सुवेदी र मलाई लिएर मुकुन्डो जस्तो फिल्म बनाएर रिस्क मोल्नुभयो। त्यो मेरो लागि ठूलो एचिभमेन्ट थियो। फिल्म ओस्कारमा समेत गयो।

अनि सम्झन्छु ती दिनहरू, जुन दिन कति ठाउँमा सिरक, डस्ना, तकिया, तन्नाजस्ता गुन्टा बोकेर सुटिङका लागि गइन्थ्यो। चोट फिल्ममा काम गर्न हामी पनौती जाँदा होटल लिएको थिएन, घर लिएको थियो। त्यसैले बेडिङको सामान बोकेर गएका थियौं। कति ठाउँमा शौचालयको व्यवस्था हुँदैन थियो, ड्रेस चेन्ज गर्ने ठाउँ हुँदैन थियो। अहिले पो जिल्ला–जिल्लामा ठूल्ठूलो होटल बने। त्यो बेला त कहालीलाग्दो अवस्था थियो। त्यस्तो अवस्था पार गरेर आइयो। अहिले टेक्निकल वा सुविधा सबै हिसाबले सजिलो छ। सिक्ने ठाउँ छ, स्कुल छ। मानिस डिग्री लिएर आएका छन्। हामीले पढ्न पनि पाएको भए…।

कलाकार नभएर के बन्ने सोच थियो?

मेरो सपना मेडिकल फिल्डमा थियो। नर्स बन्ने चाहना थियो। नर्स बन्नका लागि स्टाफ नर्सको ट्रेनिङ लिने बिचारमा थिएँ। बिरामी भएकाले काठमाडौं आएँ। यहाँ आएपछि वसु (वसुन्धरा भुसाल) दिदीसँग भेट भयो। उहाँमार्फत नै फिल्म क्षेत्रमा प्रवेश भयो।

चोट फिल्ममा काम गर्न जाँदा होटल लिएको थिएन, घर लिएको थियो। त्यसैले बेडिङको सामान बोकेर गएका थियौं। कति ठाउँमा शौचालयको व्यवस्था हुँदैन थियो, ड्रेस चेन्ज गर्ने ठाउँ हुँदैन थियो। त्यो बेला त कहालीलाग्दो अवस्था थियो।

एउटा कलाकार हुनुको नाताले सन्तुष्टि र असन्तुष्टि के–के छन्?

असन्तुष्टिभन्दा सन्तुष्टि नै बढी छ। म शुरूदेखि कलाकार त थिइनँ, तर बुबा आर्मीमा कलाकार भएकाले कलाप्रेमी अवश्य थिएँ। बुवा लेख्नु पनि हुन्थ्यो। बुबाको कलात्मक पक्ष ममा पनि आयो। कहीं न कहीं जोडिन्थे होला। अहिले पनि लेख्छु। अभिनयचाहिँ स्वविवेकले गरेको होइन। अचानक गरेको हो। यसबाट परिचय मैले आफूले मात्र पाइनँ, अरूलाई पनि दिन सकें। त्यसैले उपलब्धि बढी छ। जुनसुकै क्षेत्रमा कुरा कहीं न कहीं असन्तुष्टि हुन्छ। मलाईचाहिँ पुरुष र महिलालाई पारिश्रमिक र व्यवहारमा गरिने अन्तर मन पर्दैन थियो। त्यस्तो धेरै त छैनन्, तर कतै–कतै भएको छ। अहिले त अलि सिनियर भइयो, गौरी दिदी भनेर व्यवहार गर्छन्। संघर्षको समयमा देखिएका अन्तरभेदले मन पोल्छ। पहिचान र अस्तित्व, रोल र काम समान भएपछि अरूमा किन विभेद? विष्णुगोपाल श्रेष्ठ जस्तो मान्छे पढेलेखेको मान्छेबाट चाहिँ कहिले असमान व्यवहार भएन। तर, धेरै अल्पज्ञानी मान्छे पनि भेटिए। अहिलेसम्म सम्झिँदा हासो पनि उठ्छ। अहिले त्यस्तो छ कि छैन अहिलेका बहिनीहरूलाई सोध्नुपर्छ।

यो क्षेत्रमा लागेर के पाउनुभयो र के गुमाउनुभयो?

नाम पाएँ, मान्छेहरू पाएँ। समाजमा प्रतिष्ठा पाएँ। यति धेरै आत्मीयता पाएँ कि त्यसको लेखाजोखा नै छैन। गुमाए भन्नेचाहिँ कहिलेकाहीं मात्र फिल हुन्छ। बुबाको सपना म आर्मीमा जाओस् भन्ने थियो। कहिलेकाहीं खट्किन्छ। बुबासँग आत्मीयता भएकाले पनि होला त्यो कुराले घचघच्याइरहने गर्छ। पेन नै हुन्छ। बेला–बेलमा बुबाको तस्वीर हेरेर छोरीले काँधमा फुली लगाओस् भनेर बुबाले देख्नुभएको सपना सम्झेर भावुक हुन पुग्छु।

यसका बाबजुद यो क्षेत्रमा लागेर ठीक गरें भन्ने लाग्छ या कहिलेकाहीं पछुतो पनि हुन्छ?

पछुतो त कुनै पनि हालतमा हुँदैन। बुबाको सपना तोडेजस्तो चाहिँ कहिलेकाहीं लाग्छ। जबकि जिन्दगीमा बुबालाई नसोधी केही गरिनँ। आर्मीमा हर्सराइडिङ पनि बुबाले सिकाइदिनुभएको थियो। कलाकार भएर जति गरें, योभन्दा बढी के गर्थें होला र? नर्स भएको भए पनि नाम चलेको नर्स हुन्थें होला।

हलिउड र बलिउडदेखि नेपालसम्म चलेको मि टुको लहरलाई कसरी लिनुभएको छ?

म जुन बेला जापानबाट फर्केको थिएँ, एउटा मानिससँगको घटनलाई लिएर गौरी मल्ल जापानबाट बलात्कृत भएर आई भनेर थुप्रै समाचार लेखियो। त्यसपछाडिको सत्य तथ्यको पछाडि कसैले हेरेन। हामी जब घरबाट निस्किन्छौं, कसैले गलत नियतले हेर्यो, नराम्रो शब्द प्रयोग गर्यो, गलत मनशायले कुरा गर्यो भने, त्यो पनि बलात्कार हो। नङ्ग्याएरै बलात्कार गर्नुपर्छ भन्ने पनि छैन। मैले त्यो मान्छेलाई समाजमा रहन लायक मान्छे होइन भनेको थिएँ। आइन्दा कुनै स्त्रीलाई नराम्रो नियतले नहेरोस्, अपशब्द नबालोस्, नराम्रो दृष्टिकोणले नहेरोस् भनेर एम्बेसी गएर लिखितरूपमा माफिनामा दिन लगाएको थिएँ। नेपाली मिडियाले के हो भनेर बुझ्नै चाहेन। अनुमानका भरमा समाचार फैलाइयो। त्यो सिंगो घटना पनि मि टुकै अंग थियो।

केही वर्ष जापान र अमेरिका बस्नुभयो है?

जापान ट्रिटमेन्टका लागि गएको थिएँ, बसेकोबस्यै भइयो। अमेरिका कार्यक्रमका लागि गएको थिएँ, एउटा मान्छेले १५÷१६ लाख खाइदिएकाले त्यतै अड्किएँ। मुवा बिरामी भइस्यो, मुवाको स्वास्थ्यका अगाडि पैसा ठूलो कुरा भएन र फर्किएँ। पैसा अहिलेसम्म पाएको छैन।

हिजोआज पर्दामा कम देखिइरहनुभएको छ नि?

होइन, म खाली बसेको छैन। खाली बस्नै पाएको छैन। मेरा फिल्महरू आउँदै छन्। सरकारी जागिर, कठपुतली, सम्हालिन्छ कहिले मनलगायत ४÷५ वटा फिल्म रिलिजको तयारीमा छ। दुई वटा फिल्मको स्क्रिफ्टमा छलफल चलिरहेको छ।

करियरलाई अगाडि बढाउने क्रममा फिल्म निर्माण र निर्देशन गर्ने विचार आउँदैन?

आउँछ। मसँग भएको कथालाई स्क्रिफ्टको रूप दिनुपर्नेछ। मन र विचार मिल्ने स्क्रिफ्ट राइटरसँग बस्न बाँकी छ। अरूको काम गर्दागर्दै आफ्नो काम गर्न फुर्सद भइरहेको छैन। राम्रो कथाको फिल्मबाट अफर आएपछि लोभ लाग्छ। नाइँ भन्न मन लाग्दैन। फिल्म निर्माण पनि गर्छु, तर निर्देशनमा बढी फोकस हुने प्लान छ। ४÷५ वर्षदेखि सोच बनाइरहेको छु, अगाडि बढ्न सकेको छैन। टाइम नआएर हो कि?
हिजोआज धेरै कलाकार तथा फिल्म क्षेत्रसँग सम्बन्धित संघ–संस्थाहरू राजनीतिक दलमा विभाजित भइरहेका छन्, कस्तो लाग्छ?

कलाकारितामा त्यस्तो हुनुहुँदैन। राजनीति नाङ्लो पसलेदेखि फाइभ स्टारको मालिकसम्म सबैलाई लाग्छ। आस्था राख्नु एउटा कुरा, तर झन्डै बोकेर हिँड्ने कुरा हुँदैन। कलाकारिताको छुट्टै मर्यादा र पहिचान छ। अरूको चिज बोकेर हिँड्नु हुँदैन, हिँड्नै पर्दैन। झण्डा घर वा अफिसमै छोडेर हिँड्नुपर्छ।

नयाँ पुस्ताका कस्तो पाउनुभएको छ?

अहिलेको कलाकारका हरेक कुरा आइरहेका हुन्छन्। अवसर पनि धेरै छ।

फिल्म वा टेलिफिल्ममा काम गर्न तपाईंको समयमा सजिलो थियो या अहिले?

टेक्निकल्ली त्यति बेला गाह्रो थियो। त्यति बेला यस्तो भइदिएको भए सुनमा सुगन्ध थियो। मैले त्यति बेला स्टोरी र प्रोडक्सन हाउस पाएँ र आफ्नो क्षमताअनुसार काम गरें। अहिलेको जस्तो काम गर्ने तरिका उपकरण भइदिएको भए कुरै अर्कै हुन्थ्यो। वसन्ती त्यति बेलाको साटो अहिले बनेको भए कस्तो हुन्थ्यो होला, भीएफएक्सले फिल्म नै अर्कै हुन्थ्यो होला।

तपाईं सिंगल बसिरहनुभएको छ। फेरि बिहे गर्ने विचार कहिल्यै आएन?

अहँ आएन। आको भए फेरि बिहा गरिहाल्थें नि। बिहे गर्नुभनेको कुन ठूलो कुरा हो र चाहना भयो भने? अहिले पनि फेमिलीको मान्छे यो एक्लै हुन्छ भनिरा हुन्छन्। तर, म त्यतिकै उडाइदिन्छु। जापानमा हुँदा डिप्रेसनमा थिएँ, लाइफ अलिकति अध्यात्ममा गयो। ध्यान त्यता गएपछि अरू कुरा माइनस हुँदै गयो। बिहे आवश्यक छजस्तो लाग्नै छोड्यो। वितृष्णा जागेको पनि होइन। यो बिना म बाँच्न सक्दिनँ, पुरुष चाहिन्छ भन्ने लागेन। एक्लै पनि बाँच्न सक्छु भन्ने लाग्यो।

बुढेसकाल कसरी बिताउने सोच्नुभएको छ?

म एकछिन अगाडिकै कुरा सोच्दिनँ। बुढेसकालसम्मको कुरा त झन् सोचेको छैन। क्षमता भएसम्म काम गरिरहन्छु। तर, यस्तो पनि लाग्छ कि म बुढेसकालसम्म बाँच्छु र? बाँच्ने केका लागि। बिहेको अनुभव पनि भयो। नामको अनुभव पनि, गीत पनि गाइयो। अब त बोनसको लाइफ बाँचिरहेको छु। नर्मल्ली हेर्दा अब गर्न बाँकी नै के छ र?

 

प्रतिक्रिया दिनुहोस्