भोलिबाट न्यूरोडमा स्मार्ट पार्किङ, मोबाइलबाटै बुकिङ गर्न सकिने



Vector smart parking concept with parking lot with cars vehicle carpark map. Isolated illustration with city urban landscape, phone navigation application advertising design template

प्रदिप विवश भण्डारी, काठमाडौँ ।
काठमाडौँ उपत्यकाको व्यस्त बजारमध्ये एक न्यूरोड क्षेत्र पनि हो । यस क्षेत्रमा मानिसको घुईँचो नभएको कुनै दिन हुँदैन । मानिसको घुईँचो त जताततै हुन्छ नै तर पनि यहाँ अव्यवस्थित सवारी साधन पार्किङका कारण धेरैले सास्ती खेप्दै आईरहनु परेको थियो । तर आजबाट भने न्यूरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवाको सुरुवात हुने भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्यूरोड आसपासमा स्मार्ट पार्किङ सेवा शुरु गर्न लागेको हो ।

स्मार्ट पार्किङ स्टेशनमा एकपटकमा मोटरसाइकल र गाडीहरु गरि तीन सय देखी चार सय वटा सम्म पार्किङ गर्न सकिने काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो । डंगोलका अनुसार ह्वील्स ट्रली योर्स प्रालिसँगको सहकार्यमा न्यूरोडको विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, न्यूरोड पाको, रामेश्वर मिठाई पछाडिको भाग र आरबी कम्प्लेक्स अगाडिको स्थान गरि पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्था हुन लागेको छ । ती सम्पूर्ण ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम बनाइएको छ ।

यसको आईतवार काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गर्न लागेको प्रवक्ता डंगोलले जानकारी दिनुभयो । उपभोक्ताहरुले ती स्थानहरुमा पार्किङको सूविधाका लागि मोबााईलबाट पनि पार्किङ स्थल बुकिङ गर्न सक्नेछन् । जसका लागि ‘केएमसी पार्किङ’ एन्ड्रोइड एप डाउनलोड गर्न सकिनेछ ।

ठाउँ रिजर्भ नगरी त्यँहा जानुभयो भने अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्ने प्रवक्ता डंगोलले जानकारी दिनुभयो । उहाँले त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरासहितका पार्किङ सहयोगी राखिएको र उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड हुने बताउनुभयो ।

प्रवक्ता डंगोलले भन्नुभयो, ‘‘यो हाम्रो एउटा सुरुवात मात्रै हो । न्यूरोड जस्तै व्यस्त सडक उपत्यकामा धेरै नै छन् त्यसैले क्रमशः अन्य ठाउँमा पनि स्मार्ट पार्किङको व्यवस्था गर्ने तयारीमा छौँ ।’’

प्रतिक्रिया दिनुहोस्