दिउँसै बन्द भए हेटौंडाका पसल



हेटौंडा ।
हेटौंडामा शुक्रबार दिउँसो केही पसल एकाएक बन्द भए । वडा–१० स्थित बुद्धचोकका व्यवसायीले शुक्रबार पसल बन्द गरेका हुन् ।
आफ्नो व्यवसाय सञ्चालनका क्रममा उपमहानगरपालिकाले असर पु¥याएको भन्दै व्यवसायीले पसल बन्द गरेका हुन् । बुद्धचोकका करिब १० व्यवसायीले पसल बन्द गरेका थिए । बुद्धचोकको खाली स्थानमा उपमहानगरपालिकाको अनुमतिमा थुप्रै कार्यक्रम सञ्चालन हुँदा व्यवसायमा असर पुगेको व्यवसायीको गुनासो छ ।

सधैंजसो कार्यक्रम हुँदा त्यहाँको व्यवसाय धरासयी बनेको व्यवसायी ओसन पौडेलले बताउनुभयो । ग्राहकले पार्किङ गर्न नपाएपछि सामान खरिद गर्ने नगरेको उहाँको भनाइ छ । त्यसकै विरोधमा व्यवसायीहरुले दिउँसो पसल बन्द गरेका हुन् । व्यवसायलाई असर पर्ने गरी कुनै प्रदर्शनी गर्न नदिन व्यवसायीले माग गरेका छन् ।

शुक्रबार एक प्रचार कार्यक्रम हुँदा व्यबसायलाई असर परेको भन्दै विरोधस्वरुप पसल बन्द गरिएको व्यवसायीको भनाइ छ । सार्वजनिक स्थानमा सेवामूलक कार्य गर्नुपर्नेमा व्यावसायिक प्रमोशनका कार्य हुनु गलत भएको भन्दै उपमहानगरपालिकाले यसतर्फ ध्यान नदिएको व्यबसायीको गुनासो छ ।

आफूहरुले उपमहानगरलाई व्यावसायिकरुपमा प्रमोशनका लागि सार्वजनिक स्थान नदिइयोस् भनेर पटकपटक लिखित माग गर्दा पनि स्थानीय व्यबसायी भन्दा प्रमोशन कार्यक्रम गर्ने पक्षमा उपमहानगर लागेको व्यबसायीको आरोप छ । चोकमा होहल्लाबीच हुने कार्यक्रमले आफूहरुलाई मात्र नभएर पैदलयात्रुलाई समेत असर परेको व्यबसायीको गुनासो छ ।

कुनै उत्पादनको प्रचार गर्ने थलो हेटौंडाका अन्य सार्वजनिक स्थानलाई बनाउन सकिने भन्ने जानकारी मकवानपुर उद्योग वाणिज्य संघलाई समेत आफूहरुले ध्यानाकर्षण गराएको अबस्थामा कुनै पक्षबाट पनि सुनुवाइ नहुँदा दुःख लागेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्