हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी



हेटौंडा ।
हेटौंडामा शनिवार तापक्रम अधिक बढेको छ । शनिबारको तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । तापक्रम उच्च भएपछि हेटौंडावासीको जनजीवनमा प्रभाव परेको छ ।

शनिबार हेटौंडाको तापक्रमलाई यस वर्षको उच्च तापक्रमका रुपमा लिइएको छ । यस वर्ष कम वर्षा भएकोले पनि तापक्रम उच्च भएको हुने अनुमान छ । उच्च गर्मीका कारण मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने भएकोले स्वास्थ्यमा ख्याल गर्न र प्रशस्त पानी पिउन चिकित्सकले सुझाव दिएका छन् ।

चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि केही दिनयता सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ । बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको छ । तापक्रम बढ्नाका साथै चल्ने तातो हावा, हुरी, धुलोसँगै आगलागीको जोखिम पनि बढेको छ ।

तातो हावाहुरीकै कारण हरियो तरकारी खेती प्रभावित भएको छ । कामदारको दैनिक जीवन कष्टकर बन्न थालेको छ । तातो हावाकै कारण दिउँसो बाहिर हिँडडुल गर्न गाह्रो भएको छ । तापक्रम उच्च भएपछि बालबालिका बिरामी हुन थालेका छन् ।

गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्त हुनु हो । काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, पचाउन नसकिने खाद्य पदार्थले खाद्यान्न विषाक्त हुने र यसबाट वान्ता हुने, पखाला लाग्ने र ज्वरो आउनेजस्ता समस्या देखापर्न सक्छ ।

तातो हावाका कारण शरीरबाट पसिना धेरै निस्केर शरीरमा पानीे कम हुन्छ । पानी कम भएपछि अंगहरुले तापक्रमलाई व्यबस्थित राख्न नसक्दा कमजोरी हुनेलगायत अन्य शारीरिक समस्या देखापर्ने भएकाले यसबाट बच्न पर्याप्त पानी पिउन डाक्टरहरुले सुझाएका छन् ।

अस्पताल तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप बढ्दै गएको छ । वैशाख र जेठ महिनाभर हेटौंडा क्षेत्रमा खासै पानी परेको छैन ।

प्रतिक्रिया दिनुहोस्