विदेश लैजाने भन्दै १५ नेपालीलाई बेच्ने दुई जना पक्राउ



काठमाडौँ ।
वैदेशिक रोजगारीको आश्वासन दिएर १५ जना नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन् । सङ्खुवासभाका ४४ वर्षीय कमल भन्ने लोकमान राई र खोटाङ घर भई हाल काठमाडौँ बस्ने ३६ वर्षीय तिर्थबहादुर विश्वकर्मा भन्ने राहुल थापालाई नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

पीडितहरुलाई ब्यूरोको टोली, लिबियामा शान्ति स्थापनार्थ रहेका नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनको संयुक्त पहलमा नेपाल फिर्ता ल्याईएको छ ।

उनीहरुले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्य गर्दै आईरहेको अनुसन्धानमा खुल्न आएको प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुले आकर्षक रोजगारीको प्रलोभन देखाइ रु पाँच लाखदेखि आठ लाखसम्म लिएर नयाँ दिल्ली, पाकिस्तान, लिबिया हुँदै दुबई पु¥याएर पीडितको पासपोर्ट, नगद तथा राहदानी खोसेर बन्दक बनाई काममा लगाउने गर्दै आएका थिए ।

पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार अनुसन्धान भइ कारवाही अगाडि बढाईने प्रहरी उपरीक्षक जबराले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका राई यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार कसुर अपराधमा थुनामा परेर दश लाख धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्