नेपाल र फ्रान्सका व्यवसायीबीच सहकार्य हुने



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेसनलबीच पेरिसमा आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणका क्षेत्रमा सहयोग एवं सहकार्य गर्ने विषयमा सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणका अवसरमा भएको सहमतिमा महासंघका अध्यक्ष भवानी राणा र मेडेफ इन्टरनेसनलका अध्यक्ष फ्रेडरिक सान्जेजले हस्ताक्षर गर्नुभएको छ ।

सहमतिअनुसार एक अर्का देशमा व्यावसायिक प्रतिनिधिमण्डलको आदान प्रदान, आर्थिक तथा व्यापारिक क्षेत्रबाट परियोजना अध्ययन समूहको भ्रमण, दुवै संस्थाको सहयोगमा सम्बन्धित विषयमा गोष्ठी, छलफल, सेमिनारलगायतका कार्यक्रम आयोजना गर्ने, प्राविधिक क्षेत्रमा सम्मेलन आयोजना गर्नेछन् ।

त्यस्तै आर्थिक तथा व्यावसायिक क्षेत्रबीच नियमित सम्पर्कमा रहेर सूचना तथा जानकारीको आदान प्रदान गर्ने, एकअर्का देशले अवलम्वन गरेका नीति नियम आदान प्रदान गर्ने, आर्थिक व्यापारिक क्षेत्रमा सहयोगका अवसर जुटाउने, व्यापारिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणमा सहकार्य गर्ने उल्लेख छ ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले फ्रान्सेली लगानीकर्तालाई नेपालमा आएर लगानी गर्न आग्रह गर्नुभयो । उहा“ंले स्वदेशी एवं विदेशी लगानी आकर्षणका लागि हालै भएका प्रगति एवं नीतिगत सुधारका विषयमा समेत स्पष्ट पार्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहु“दै महासंघका अध्यक्ष भवानी राणाले महासंघ र मेडेफबीच सम्पन्न सम्झौताले आगामी दिनमा नेपाल फ्रान्सबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा अझ बढी सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो ।

नेपालको साना तथा मझौला व्यवसायको विकास, विस्तार तथा प्रविधिगत रुपमा उनीहरूको क्षमता विस्तारमा समेत यो सहमति कोशेढुंगा हुने दाबी गर्नुभयो । भेटवार्तामा नेपाल–फ्रान्सबीच दुई पक्षीय लगानी, प्रविधि हस्तान्तरण, केबुलकार, पर्यटन पूर्वाधार, जडीबूटी प्रशोधन लगायतका क्षेत्रमा संयुक्त लगानीका लागि आग्रह समेत गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्