विश्वकपमा वर्षा हावी बन्दै



लन्डन, (एजेन्सी)
इंग्ल्यान्ड र वेल्समा जारी क्रिकेट विश्वकपमा वर्षाको कारण खेलहरु रद्द भइरहेका छन् । बिहीबार भारत र न्युजिल्यान्डबीचको खेल पनि पानी परेकै कारण रद्द भयो । यो समेत गरी जारी विश्वकपमा चार वटा खेल रद्द भइसकेका छन् । यसले विश्वकपको रौनकमा खल्लो भइरहेको छ ।

साथै टिमलाई पनि घाटा भइरहेको छ। कति घाटा हुने त्यो त पछि शीर्ष चारमा पुग्न नसकेपछि प्रष्ट हुनेछ । अहिलेसम्म श्रीलंकाले दुई खेल वर्षाको कारण खेल्न पाएन भने बंगलादेश, भारत, न्युजिल्यान्ड, वेस्ट इन्डिज, पाकिस्तान र दक्षिण अफ्रिकाले एक एक पटक खेल्न पाएनन् र अंक बाँडेका छन् ।

वर्षाले खेल रद्द भइरहेपछि रिजर्भ डे (वैकल्पिक दिन) राख्नु पर्ने माँग उठेको छ । यसमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेभ रिचर्डसनले रिजर्भ डे राख्न नसकिने बताएका छन् । उनले भने—रिजर्भ डे राख्यो भने प्रतियोगिता लम्बिनेछ । यो बेमौसमको वर्षा हो । त्यसैले पनि रिजर्भ डे राख्नु व्यवहारिक पनि हुँदैन ।

उनले थपे—जति पनि वर्षा जुनमा हुनु पर्ने अहिले ज्यादै वर्षा भइरहेको छ । ब्रिटेनमा यो महिना सबैभन्दा सुक्खा मानिन्छ । जुन २०१८ मा केवल दुई मिमी वर्षा भएको थियो । तर पछिल्ला दिनमा दक्षिण पूर्वी इंग्ल्यान्डमा १ सय मिमि भन्दा बढी वर्षा भइसकेको छ ।

यसैगरी रिचार्डसनले रिजर्भ डे राख्यो भने पनि समस्या हुने भन्दै बताए—माँग जायज छ भनेर लौ रिजर्भ डे राखौला । त्यो दिन पनि वर्षा हुँदैन भनेर के गारेन्टी हुन्छ ? रिजर्भ डे राख्दा पिच र टिमको तयारी देखि लिएर यात्राको दिनसम्म समस्या हुनेछ । यसले दर्शक प्रभावित हुन सक्छन् । जसले खेल हेर्नका लागि कयौै घण्टाको यात्रा गरेको हुन्छ ।

रिजर्भ डे नराखेकोमा बंगलादेशका कोच स्टिभ रोड्स निकै रिसाएका छन् । उनले रिसमै बताए—हामी मान्छेलाई चन्द्रमा बसाइदिन्छौं, किन हामीलाई रिजर्भ डे चाहियो ? साँच्चि भनौं भने शेड्युल नै ज्यादै लामो छ ।

प्रतिक्रिया दिनुहोस्