अमेरिकाको खुशी मनाउने शैली अशोभनीय



लन्डन, (एजेन्सी)
यतिबेला अमेरिकाकी स्टार फुटबलर एलेक्स मोर्गान र अमेरिकी फुटबल टिमले चर्चा बटुलिरहेका छन् । फ्रान्समा भइरहेको महिला विश्वकप फुटबलमा अमेरिकाले थाइल्यान्डलाई १३–० ले हराउँदा मोर्गान एक्लैले ५ गोल गरेकी छिन् । यो महिला विश्वकपमा ठूलो जित हो । पुरुष विश्वकपमा समेत यति फराकिलो जित अहिलेसम्म निकाल्न कुनै टोलीले सकेको छैन ।

मोर्गान र उनको टीमले थाइल्यान्डविरुद्ध गरेको गोलमा खुशी मनाउने क्षण अहिले विवादमा तानिएको छ । टोलीका हरेक खेलाडीहरुमाथि प्रत्येक गोलमा फाइनल जितेजस्तो खुशीयाली मनाएको आरोप लगाइएको छ । यो भर्खर फुटबलमा पाइला जमाइरहेको थाइल्यान्ड टोलीमाथि अपमान गरेको केही मिडियाले समेत आरोप लगाएको थियो ।

अमेरिकी खेलाडीको खुशी मनाउने शैलीप्रति निकै अशोभनीय भएको क्यानडाकी पूर्व खेलाडी केलीन काइलले टिप्पणी गरिदिइ । काइलले क्यानडीयन टिभीलाई बताइन्—यस्तो तरिकाको खुशीयाली हामीले कहिल्यै विचार गरेको छैन । मैले भन्नु पर्दा यो अशोभनीय, अपमानजनक हो । त्यस्तो क्षणमा थाइल्यान्डले उनीहरुको शीर उच्च राखेकोमा म उनीहरुलाई सम्मान गर्छु ।

थाइल्यान्ड विश्व महिला फुटबलको वरियतामा ३४औं स्थानमा रहेको छ । यसअघि सन् २०१६ मा अमेरिकासँगै खेलेको मैत्री खेलमा थाइल्यान्ड ९–० ले पराजित भएको थियो । यो दोस्रो पटक एशियाली टोलीले विश्वकै सबैभन्दा राम्रो टीम अमेरिकासँग खेलेको थियो ।

काइलको टिप्पणीले सामाजिक सञ्जालमा वादविवाद गर्न एउटा मसालाको रुपमा व्यापकता पायो । काइलले यस्तो टिप्पणी गरे वापत उनलाई मार्ने धम्की पनि आएको बताएकी थिइन् । उनले इन्स्टाग्राममा भनिन्—हरेकलाई आफ्नो विचार राख्न स्वतन्त्रता छ । तर मार्ने धम्की कृपया नदिऔं । म वादविवाद गर्न मनपराउँछु ।

उता मोर्गानले बताइन्— यस्ता टिप्पणीलाई बेवास्ता गर्छु । यदि हामीले खुशी नमनाएमा यो अशोभनीय हुन्छ । ९० मिनेट हामीले राम्रो खेल्यौं । यदि हामीले नराम्रो खेलेको भए यो झनै थाइ टिमको लागि असम्मान हुनेछ । मैले माल पगको गोलमा खुशी मनाए । साम मेविस र रोज लाभेलको गोलमा खुशी मनाएँ । उनीहरुको यो पहिलो विश्वकप हो ।

प्रतिक्रिया दिनुहोस्