अच्छा मोडलको कार्यक्रम



धेरै जिल्लामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम शुरु भएका समाचार आइरहेका छन् । बेरोजगारले आफ्नै गाउँ ठाउँमा सरकारी दानापानी पाउने भएसी कुरो नराम्रो पक्कै होइन । तर बेरोजगारलाई खटाइएको कामको प्रकृति भने अचम्मैको छ ।

मकै गोडमेल गर्न, बाँदर धपाउन, सडक किनारा र सार्वजनिक स्थल सरसफाई गर्न, सब्जी गोडमेल गर्न बेरोजगार खटाइएको छ । कहि कतै त मकै र सब्जी गोडमेल गर्न हेलमेट सहित धमाधम बेल्चा लगाउँदै ग¥या जनशक्ति पनि देखियो । खेतवारी सुरुङमार्ग र भिर पहरा भित्र भएर हेलमेट लाउनुपर्ने भा हो कि, बोट विरुवालाई आवश्यक पर्ने मल र पानी हेलमेट र बेल्चाले नै दिने हो, कुरो बुझ्न गाह्रो भो ।

देशभर बढ्दो बाँझो जमिनले सरकारलाई गिज्याएको गिज्याएकै छ, कयौ ठाउँका डाडापाखा रुख बुझ्यान नभएर उजाड छन्, उर्भरा जमिन झाडी बुट्यानले ढाकिएको वर्षौ भयो त्यस्तो लाज छोप्न चाहिँ बेरोजगार कहिले परिचालन हुने हुन् कुन्नी ?

ए साँच्ची, रोजगार कार्यक्रममा आवद्ध भएकालाई परैबाट चिनाउने ज्याकेट पनि हुँदो रै’छ । हिजो–आजको चर्को गर्मीमा ज्याकेट लगाउन उर्दी गर्ने सरकारी हाकिम चाहिँ कुन ग्रहका रै’छन्, उनको हुलिया नजिकबाट नियाल्ने धरहराको धोको छ । त्यस्ता हाकिम धरहरा वरिपरी नै भेटिन्छन् भने यसो खवर पाउँ है पाठकवृन्द !

प्रतिक्रिया दिनुहोस्