नेपाल–भारत सम्बन्धका आयामहरु



डा. टीकाराम पोखरेल
छिमेकी मुलुक भारतमा मोदीको नेतृत्वमा भाजपाले चुनाव जितेसँगै फेरि एकपटक नेपाल–भारत सम्बन्ध अब कस्तो होला भन्ने चर्चा शुरु भएको छ । सन् २०१४ मा पनि मोदीले चामत्कारिक निर्वाचन जितेका थिए र अहिले २०१९ मा झनै ठूलो चमत्कार गरिदिए । भारतीयहरु यसलाई ‘मोदी म्याजिक’ भन्न थालेका छन् । सन् २०१४ मा चामत्कारिकरुपमा सत्तामा उदाएका मोदीको विगत ४ बर्से कार्यकालमा नेपाल–भारतबीचको सम्बन्ध विवादास्पद र अस्थिर रहेकाले पनि अबको नेपाल–भारत सम्बन्धका बारेमा चर्चा हुनु स्वाभाविक हो ।

कहिले नेपालमाथि नाकाबन्दी लगाई नकारात्मकरुपमा प्रस्तुत हुने त कहिले नेपालको संसद्मा सम्बोधन गरी ‘नेता भनेको त यस्तो पो हुनुपर्छ’ भन्ने नेपाली जनतालाई छाप छोड्न सफल हुने भएकाले पनि मोदी भविष्यमा नेपालप्रति सकारात्मक वा नकारात्मक कुन तरिकाले अगाडि बढ्लान् भन्ने जिज्ञासाले ठाउँ पाएको हो ।

सामान्य अर्थमा बुझ्दा भारतमा जुनसुकै पार्टीको सरकार बने पनि वा जो प्रधानमन्त्री भए पनि नेपाल–भारत सम्बन्धमा नीतिगत तहमा ठूलो अन्तर हुँदैन । भारतको नेपालप्रतिको नीति नेपाललाई आफ्नो छत्रछायामा राख्ने नै हो । तर व्यक्तिहरुका फरक स्वभाव हुने भएकाले कार्यगत तहमा कुन प्रधानमन्त्री बन्यो भन्ने कुराले पनि फरकचाहिँ पार्छ र बेला–बेला सम्बन्धमा उतारचढाव पनि आउने गर्छ । नेपाल–भारत सम्बन्धमा यो उतारचढाव आज मात्र होइन, परम्परादेखि चल्दै आएको हो र सम्भवतः भोलिका दिनमा पनि यसै गरी चल्नेछ, जबसम्म नेपाल आर्थिकरुपमा आत्मनिर्भर हुँदैन र नेताहरु राजनीतिकरुपमा स्वभिमानी हुँदैनन् । वर्तमान सन्दर्भमा नेपाल–भारत सम्बन्धको कुरा गर्दा चारवटा कोणबाट विश्लेषण हुनु जरुरी छ– आर्थिक–सामाजिक सम्बन्ध, कूटनीतिक सम्बन्ध, भारतीय चिन्तन र नेपाली मानसिकता ।

आर्थिक–सामाजिक सम्बन्ध
नेपाल–भारतबीचको सबैभन्दा मजबुत सम्बन्ध भनेको सामाजिक सम्बन्ध नै हो, जसलाई नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध भन्ने गरिन्छ । यसभित्र पारिवारिक, आर्थिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय, कामदारहरु आदानप्रदानका सम्बन्धहरु पर्दछन् । खुला सीमा भएकै कारण नेपाल–भारतबीच यो सम्बन्ध निकै मजबुत छ । यदाकदाको आर्थिक उतारचढावबाहेक यो सम्बन्ध सधैँ स्थिर छ । नेपाल वा भारतमा कुन सरकार बन्यो वा कस्तो राजनीतिक व्यवस्था छ भन्ने कुराले यो सम्बन्धमा कुनै फेरबदल गर्दैन ।

अझ कतिसम्म भने, कतिपय यी सम्बन्धका पक्षहरुलाई नेपाल वा भारतमा कसको सरकार छ र सरकारको परराष्ट्र नीति कस्तो छ भन्ने कुरासमेत थाहा हुँदैन । न त दुई देशबीचको परराष्ट्र नीतिले नै यी कुराहरुमा ठूलो फरक पार्दछ । नेपाल–भारतबीच खुला सिमाना भएकाले पनि दिल्ली–काठमाडाँंबीचका सम्बन्धमा उतारचढावले सीमामा धेरै ठूलो असर नपरेको हो । रोटी–बेटीको सम्बन्ध भन्ने गरिएको यो सम्बन्ध कुनै सरकारले निर्माण गरेको नभई स्वस्फूर्त सम्बन्ध हो र यो स्थिर पनि छ । विगतमा, वर्तमानमा र भविष्यमा पनि यो सम्बन्धमा ठूलो परिवर्तन हुने सम्भावना देखिँँदैन ।

कूटनीतिक सम्बन्ध
नेपाल–भारतबीचको कूटनीतिक सम्बन्ध नीतिगत तहमा स्थिर छ भने कार्यगत तहमा अस्थिर देखिन्छ । नेपालप्रतिको भारतीय नीति नेपाललाई सधैँ छत्रछायामा राख्ने नै हो । आफ्नो छत्रछायामा राख्न बेला–बेलामा अनेक अस्वाभाविक गतिविधि हुने गर्दछन् । यसै कारण कहिले अत्यन्त सहयोगात्मक भाइचाराको सम्बन्ध देखाउने र कहिले सम्बन्धमा दरार आउने गर्दछ । नेपालको शान्ति क्षेत्र प्रस्तावमा असहयोग, बेला–बेलामा गरिने नकाबन्दी, नेपालको मानव अधिकारसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आलोचना, युरोप–अमेरिकालाई भारतीय आँखाबाट नेपाललाई हेराउने भारतीय नीति आदि नेपालमाथि भारतीय हस्तक्षेपका केही उदाहरण हुन् । नेपाल–भारतबीचको कूटनीतिमा कुनै समस्या छैन भन्ने तर समस्या भने सधँैँ रहिरहने परम्परा नै बनेको छ ।

सामान्यतया आफू सत्तामा नपुगेसम्म नेपाल–भारत सम्बन्धमा देखिएका झीना–मसिना समस्यालाई पनि बढाइचढाइ विरोध गर्ने र सत्तामा पुगेपछि तिनै समस्यालाई ढाकछोप गर्ने नेपाली सत्ताको चरित्र बुझेर नै भारतले नेपालका राजनीतिक दल र नेतामाथि खेलिरहन्छ । त्यसैले नेपालीको सोच स्थिर नभएसम्म नेपाल–भारत सम्बन्ध स्थिर हुने देखिँदैन ।

भारतको परराष्ट्र नीतिका दृष्टिले नेपाल दक्षिण एसियामा एकदम महत्वपूर्ण देश हो । एकातिर नेपालको चीनसँग सिमाना जोडिएको र अर्कोतिर नेपाल–भारतबीचको खुला सिमाना हुनुले पनि नेपालतिर भारतको बढी चासो हुनु स्वाभाविक हो । चीनका कारण युरोप–अमेरिकाले नेपाललाई बढी महत्वमा राख्नाले पनि नेपाल भारतको प्राथमिकतामा पर्ने नै भयो । त्यसो त भारतको लागि नेपाल मात्र नभएर नेपालको लागि भारत पनि महत्वपूर्ण हुँदै हो । महत्वपूर्ण तर उतारचढाव पनि भएकाले नेपाल–भारतबीचको कूटनीति सधैँ अर्धविवादित रहेको छ ।

भारतीय चिन्तन
नेपाल–भारत दुवै स्वतन्त्र र सार्वभौमिकता भएको मुलुक भए पनि व्यवहारमा भारतले नेपाललाई त्यो दृष्टिले कहिल्यै हेरेन । नेपाललाई भारत आफ्नो नियन्त्रणमा राख्न चाहन्छ । भारतको अघोषित यो नीतिलाई कार्यान्वयन गर्न भारतले नेपालमाथि बेला–बेलामा आर्थिक नाकाबन्दी लागाउने, सरकार परिवर्तनमा अनावश्यक हस्तक्षेप गर्ने, नेपालको राजनीतिमाथि अनावश्यक टीकाटिप्पणी गर्ने, भारतीय सुरक्षाकर्मीहरु विनाअनुमति नेपाल प्रवेश गर्ने, सीमामा नेपालीमाथि दुव्र्यवहार गर्ने, सीमा मिचिएका समस्या आदि पर्दछन् । भारतीय चिन्तन र व्यवहार नेपालप्रति समकक्षीको होइन, आफू दाजु र नेपाल भाइ भन्ने प्रकृतिको छ । भारत नेपालसँग मात्र होइन, दक्षिण एसियामा नै अरु देशको समकक्षी भएर बस्न चाहँदैन । ऊ यो क्षेत्रमा अरु देशमाथि आफू सुपर पावरको मनोवैज्ञानिक दबाब सिर्जना गर्न चाहन्छ । भारतको यही चिन्तनले सार्क ऊर्जाशील हुन सकेको छैन । सार्कमा हरेकपटक समस्याको कारक भारत बन्ने गरेको छ ।

भारतविना नेपालको केही चल्दैन भन्ने मनोवैज्ञानिक त्रास र दबाब सिर्जना गर्न चाहन्छ भारत । यो मोदी वा गान्धीको चिन्तन मात्र होइन, भारतीय चिन्तन हो । भारतमा जुन सरकार आए पनि उनीहरुको नेपालप्रतिको चिन्तन एउटै हुन्छ । त्यसैलाई उनीहरु आफ्नो नेपालप्रतिको परराष्ट्र नीतिको सफलता ठान्छन् । यो भारतको कूटनीतिभित्रको कूटनीति हो । भारतीय यही चिन्तन नै नेपाल–भारतबीचको समस्याको जड हो ।

नेपाली मानसिकता
नेपाल–भारत सम्बन्धमा भारतको नीति र चिन्तन जति दोषी छ त्योभन्दा बढी दोषी नेपाली मानसिकता छ । नेपालका जुनसुकै सरकारको पनि मानसिकता भारतलाई रिझाउने र रिझाउन सके दंग पर्ने नै हो । भारत खुशी पार्न सके परराष्ट्र सम्बन्ध राम्रो भयो र भारत खुशी पार्न नसके परराष्ट्र सम्बन्ध असफल भयो । त्यो पनि कूटनीतिक माध्यमबाट खुशी पारेको भए छुट्टै हुन्थ्यो । तर व्यक्तिगत लेनादेना र भारतको स्वार्थ पूर्ति गरिदिएर खुशी पार्ने नेपाली नेताहरुबीच होडबाजी नै चल्छ । सामान्यतया आफू सत्तामा नपुगेसम्म नेपाल–भारत सम्बन्धमा देखिएका झीना–मसिना समस्यालाई पनि बढाइचढाइ विरोध गर्ने र सत्तामा पुगेपछि तिनै समस्यालाई ढाकछोप गर्ने नेपाली सत्ताको चरित्र बुझेर नै भारतले नेपालका राजनीतिक दल र नेतामाथि खेलिरहन्छ । त्यसैले नेपालीको सोच स्थिर नभएसम्म नेपाल–भारत सम्बन्ध स्थिर हुने देखिँदैन ।

निष्कर्ष के हो भने, नेपाल–भारतबीचको कूटनीतिक सम्बन्ध समकक्षताको कहिल्यै भएन । भविष्यमा पनि हुने सम्भावना कमै छ । भारतको परराष्ट्र नीतिमा नेपाल खुशी हुुनु र नहुुनुले त्यति महत्व राख्दैन, जति महत्व नेपालमा भारत खुशी पार्नु र नपार्नुलाई दिइन्छ । भारत दक्षिण एसियामै आफूलाई ठूलो माछोको रुपमा उतार्न चाहन्छ । त्यसको मार भने नेपाललगायतका साना माछाहरुले भोग्नुपरिरहेको छ । भारतको यो कूटनीतिभित्रको कूटनीतिमा नेपाली दरिद्र मानसिकताले मलजल गरिरहेको छ, यो ठूलो विडम्बना हो । नेपाल–भारत सम्बन्धको सफलताको मापन भारतलाई कति खुशी पार्न सकियो भन्ने होइन, बरु भारतसँग कतिको समकक्षी सम्बन्ध निर्माण गर्न सकियो भन्ने आधारामा हुनुपर्दछ । नेपाल–भारत सम्बन्धको सफलताको कसी भारतमाको प्रधानमन्त्री भयो भन्ने भन्दा पनि हामी कसरी भारतसमक्ष प्रस्तुत भयौं भन्ने आधारमा निकाल्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्