सभ्यताको सूचक सडक



लिच्छवि र मल्लकालतिर राजधानीको सौन्दर्य यहाँको वास्तुकलामा निर्भर थियो । सांस्कृतिक र जनजीवनको पाटो त छँदैछ । तर, पछिल्लो समय सडकलाई सभ्यताको पहिचानका रुपमा हेरिन थालिएको छ । सडक सफा र नियमसंगत बनेको छ र त्यहाँ चल्ने सवारी साधन अनुशासित छन् भने वरिपरिको समाज सभ्य भएको सूचक मानिन्छ ।

छिमेकी चीन र सूर्य उदयको देश जापानले बनाइदिएको क्रमशः चक्रपथ र कोटेश्वर–भक्तपुरको सडकका कारण राजधानीको सुन्दरता बढेको छ । चीन र जापानले बनाइदिएका अन्य धरोधर पनि उत्तिकै महत्वपूर्ण छन् । अन्य सहयोगी विदेशी मित्रहरुबाट बनाइएका विभिन्न भौतिक संरचनाले हामीलाई आधारभूत आवश्यकता पूर्ति गर्न सहज भएको छ । राजधानीको पूर्वाधारको स्तरोन्नतिका लागि मित्र राष्ट्रहरुको सहयोगको उच्च मूल्यांकन हुनैपर्छ ।

पछिल्लो समय काठमाडौंबाट भक्तपुर जाने सडक र कोटेश्वरबाट कलंकी जाने चक्रपथ खण्डमा सवारीसाधान गुडाउने जो कोहीलाई प्रसन्नताको अनुभव हुन्छ, नेपालमा पनि यस्ता सडक बने भन्ने गर्वको अनुभूति हुन्छ । यस्तै, गर्विलो भौतिक संरचना राजधानी काठमाडौं प्रवेश गर्ने प्रमुख नाका त्रिभुवन राजपथमा बन्न लागेको नेपालकै पहिलो सुरुङ मार्ग हुने निश्चित छ । यसको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको, सुरुङ निस्किने ठाउँमा परेको जग्गाका लागि जग्गाधनीहरुलाई मुआब्जाको व्यवस्था भइसेको बताइएको छ । जापानले नै निर्माण कम्पनी चयन गरेर बनाउन दिने यस योजनाको पूर्णता राजधानीबासीका लागि मात्र नभएर सबै नेपालीको प्रतीक्षाको विषय बनेको छ ।

राजपथको नागढुङगा–नौविसे सडकखण्ड अन्तर्गत दहचोकदेखि–सिस्ने खोलासम्म छिचोल्ने यस सुरुङको लम्बाइ २.७ किलोमिटर हुनेछ । चौडाई ९.५ मिटर तथा उचाई १८ मिटर हुने यस सुरुङमा साढे ३ मिटर दरका २ लेन सडक र बाँकी साढे २ मिटर यात्राका क्रममा सवारीमा कुनै समस्या आएमा साइड लगाउन मिल्नेगरी निर्माण गरिनेछ । यसले राजधानी प्रवेशको मुख्य गौडोमा सधैंभरि हुनेगरेको सबारीसाधनको जाम निकै हदसम्म समाधान गर्नेछ । सो सडकले नागढङ्बाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्ने बताइएको छ । सडकको लम्बार ८ किलोमिटर कम हुनेछ ।

यता, कोटेश्वर–कलंकी १० किलोमिटर सडक खण्ड फराकिलो र चिटिक्क पारेर चिनियाँहरु स्वदेश फर्किसकेका छन् । चिनियाँ पक्षले चक्रपथको बाँकी खण्ड पनि यस्तै बनाउने विशेष चासो राख्दै विस्तृत अध्ययन गरी डिजाईन बनाएर फर्किने बेला पनि भइसकेको छ । कोटेश्वर–कलंकी खण्डजस्तै चक्रपथको बाँकी खण्डमा काम गर्न पनि आर्थिक र प्राविधिक सहयोग चिनिया पक्षले व्यहोर्ने जनाईएको छ । तर त्यस अघि नेपाल पक्षले भने बाटोमा पर्ने संरचना, बिजुलीको पोल, रुख हटाउनु पर्नेहुन्छ । तर नेपाल पक्षबाट त्यसमा सिथिलता देखाइएको पाइन्छ । यद्यपि सरकारले आर्थिक वर्ष २०७६÷७७ मा यस सडक विस्तारको लागि १ अर्ब ८१ करोड रुपियाँ बजेट विनियोजन गरिसकेको छ । बजेट विनियोजन हुनु स्वागतयोग्य पक्ष हो, तर काममा गति ल्याउन सरकारका तर्फबाट सक्रियता बढाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्