अस्पतालको ‘चरम लापरबाही’ः महिलाको मृत्यु



भगवती तिमिल्सिना, काठमाडौं । अस्पतालबाट भएको ‘चरम लापर्वाहीका कारण’ एक महिलाको ज्यान गएको छ । पित्तथैलीको अपरेसनका लागि चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोक इन्द्रावती–१० की रामप्यारी थापालाई बिहीबार मृतक घोषणा गरिएको छ ।

हाल नयाँ बानेश्वरमा बस्दै आएकी ५० वर्षीया रामप्यारी थापाको उपचारका क्रममा मृत्यु भएपछि बिहीबार दिनभर अस्पताल घेराबन्दीमा प¥योे । थापालाई मृतक घोषणा गरेपछि बिहानैदेखि अस्पतालमा बिरामीका आफन्त र शुभचिन्तकले अस्पताल घेराउ गरे ।

अस्पतालमा दिनभर छेकथुन, नारावाजी र प्रहरी तथा आफन्तबीच ठेलमठेलको अवस्था रह्यो । बिरामीका आफन्त खड्ग श्रेष्ठ भन्नुहुन्छ— शल्यक्रियाका क्रममा डाक्टरले चरम लापरवाही गरे । आन्द्रामा प्वाल परेको थाहा पाउँदापाउँदै आन्द्राको प्वाल नै नटाली बाहिरमात्र सिलाए । आन्द्राको प्वालबाट दिसा निस्किएर संक्रमण फैलियो र बिरामीको मृत्यु भयो ।

बिरामीका आफन्तले घटनाको विषयमा उचित छानबिन गर्दै दोषीलाई कारबाही र क्षतिपूर्तीको माग गरेका छन् । आफन्त श्रेष्ठ भन्नुहुन्छ— ‘गत साता विहिबार डा. रविन कोइरालाई भेटेर उहाँकै सल्लाहअनुसार शुक्रवार भर्नाभै सोही दिन अप्रेशन गरियो । डाक्टरले अप्रेशनका क्रममा आन्द्रा प्वाल परेको थाहा पाएर पनि प्वाल टालेनछन् र अप्रेशनको लागि दुरविन छिराउन प्वाल पारेको छाला मात्रै छोपेछन् । शनिवार बेलुकाबाट बिरामी छटपटाउँदै गइन् । आइतबार बिहानै फेरि सिटी स्क्यान गरियो, केही छैन भने र बिरामीलाई आईसियूमा राखे । भिडियो एक्सरेमा निमोनिया देखियो भने । यसो भनेको २ मिनेट बित्न नपाउँदै डाक्टर कोइरालाले हामीलाई बोलाएर आन्द्रामा प्वाल रहेछ भने ।’

पित्तथैलीको अपरेसनका लागि मोटरसाइकलमा आएकी रामप्यारी शवमा परिणत

श्रेष्ठका अनुसार रिपोर्टमा केही नदेखेको बिरामीको डा.कोइरालाले शंका लागेर टाँका खोलेर हेरे आन्द्रामा घाउ छ भने । डाक्टरको व्यवहारप्रति आफन्तलाई शंका लाग्यो । ‘आइतबार राति १० बजे तुरुन्तै आन्द्रामा प्वाल परेर कुहेको रहेछ भने, अर्को अप्रेशन गरे, डेढ मिटर आन्द्रा काटेर फाले । भित्र भएको फोहोर निकालेर फाले भेन्टिलेटरमा राखेकोछ ठीक हुँदै छ भने,’ श्रेष्ठले विवरण दिनुभयो ।

बिहिवार बिहान ७ बजे डा. कोइरालाले नै बिरामीलाई बचाउन सकेनौं साह«ै दुःख लाग्यो भनेको पनि श्रेष्ठले खुलाउनुभयो ।


‘म सतप्रतिशत ठीक छु तपाईहरु कानूनी रुपमा जानसक्नुहुन्छ भन्दै धम्कीको भाषा बोल्नुभयो र तत्काल अस्पताल परिसरमा प्रहरी तैनाथ गरियो । हामीले लाश उठाएका छैनौं, अस्पताल प्रशासनसँग एकपटक वार्तामा बस्यौं, कुरा नमिले पछि डाक्टरले भनेजस्तै कानूनी बाटोमा जान पारिवारिक सल्लाह गर्दैछौं’ श्रेष्ठले भन्नुभयो ।

मृतक पक्षको माग
हाम्रो ११ जनाको ठूलो परिवार छ । शुक्रवार बिहान पनि उहाँले नै खाना बनाएर सबैलाई खुवाएर आफ्नो अप्रेशन गर्ने हुनाले आफू नखाई मोटर साइकलको पछाडि बसेर अस्पताल आउनुभएको थियो ।

उहाँको श्रीमान मुटुको रोगी हुनुहुन्छ, छोरा भर्खर ११ कक्षामा पढ्दैछ । बिरामीमाथि चरम लापर्वाही भएको स्वीकार गर्दै अस्पताल र चिकित्सकले माफी माग्नुपर्यो र रोगी श्रीमान् र बिद्यार्थी छोराको सम्बोधन हुनुपर्छ अनि मात्र कुरा मिल्छ । दोषी को हो भन्ने बारेमा छानविन हुनुपर्छ र दोषीउपर कारवाही हुनुपर्छ ।

अस्पतालको भनाइ
डा.केपी देवकोटा मेडिकल डाइरेक्टर
उहाँको पित्तको थैलीमा पत्थरी रहेछ । पित्त थैलीको पत्थरीको लागि अप्रेशन गर्न आउनुभएको रहेछ । सर्जन डाक्टर, बिरामी र बिरामीका आफन्तहरुसँग छलफल गरिसकेपछि पत्थरीको अप्रेशन गर्नुपर्ने निर्णयअनुसार कुरा अगाडि बढेको र गएको शुक्रवार ६ दिन पहिला पत्थरीको अप्रेशन गरिएको थियो । यो साधारण खालको अप्रेशन थिएन ।

महिलाको विगतमा पेटको र पाठेघरको अप्रेशन तीन पटक भैसकेको रहेछ । तीन पटक अप्रेशन भैसकेको अवस्थामा फेरि पेटभित्र अप्रेशन गर्दा धेरैनै समस्या हुन्छ र अप्ठ्यारो हुनसक्छ भन्ने कुराको सर्जन डाक्टरसाबलाई पहिला नै ज्ञात थियो र त्यही अनुसार बिरामीको मान्छेहरुलाई पनि काउन्सिलिङ गर्नुभएको थियो ।

जे भएपनि पित्तको थैलीमा स्टोन छ, चुप लागेर बस्ने कुरा त भएन भनेर सल्लाहअनुसार अपरेसन गरियो । शुरु गर्दा जुन अपेक्षा गरिएको थियो, त्योभन्दा जटिल रुपमा आन्द्रा धेरै नै जेलिएर पित्तको थैलीलाई छोपिएको अवस्थामा पाइएको र ल्याप्रोसकोपिक इन्ष्टुमेन्ट, इकुप्मेन्टलाई पेटभित्र छिराउनका लागि त्यो जेलिएको र टासिएको आन्द्राहरुलाई छुट्याइयो । त्यसपछि मात्रै पित्तथैली देखिन पुग्यो ।

पित्तको थैली कलेजोमा टासिएको अवस्था थियो । तैपनि डाक्टरले पित्त थैलीलाई सफलतापूर्वक निकाल्नुभयो । दुरबिनले गर्ने अप्रेशन भित्तामा ठूलो स्क्रीनमा टेलिभिजनमा देखिन्छ । त्यस टाईममा उहाँले यसभित्र अब केही छकि भनेर हेर्नुभयो । आन्द्रा बिभिन्न ठाउँबाट छुट्याएको छ त्यसले गर्दा भित्र उपकरणले केही घाउ बनाएको छकि भनेर चेकजाँच गर्दा त्यस्तो केही पनि भेट्नुभएन । आन्द्राहरु पनि राम्रै अवस्थामा थियो । कही आन्द्रामा प्वाल परेको पनि थिएन । त्यस हिसाबले उहाँ बिश्वसनीय हुनुभयो कि अब यहाँ सब ठीक छ मैेले पित्तको थैलि निकाले भन्ने हिसाबले उहाँले अप्रेशन सकेर आउँनुभयो । शनिवारको दिनसम्म पनि ठीकै थियो, बिरामीले चार–पाँच सय एमएल झोल पदार्थ पनि खानुभयो ।

साँझपखसम्म पनि ठीक थियो राती पेट दुख्यो भन्ने कम्प्लेन भयो । जनरल अवस्था हेर्दा नराम्रो देखियो र जाँच गर्दै जाँदा छातीमा निमोनिया टाइपको समस्या देखियो । बिरामीको अवस्था नसुध्रिएको कारणले यहाँ कही न कही केही न केही त मिस भैरहेको छ भन्ने हिसाबले दुइ टाँकामध्ये एउटा टाका खोलेर हेर्दा त्यहाँबाट फोहोरचिज आएको देखियो । यो आइतबार दिउसोतिरको कुरा थियो । आधा घण्टा भित्र पुनः अप्रेशनमा लगियो । आइतबार अप्रेशन गरेर हेर्दा आन्द्रामा सानो प्वाल देखियो । अप्रेशनपछि बिरामीलाई आईसीयूमा भेन्टिलेटरमै राखियो । अप्रेशन पछिपनि बिरामीको अवस्था त्यति सुधार आएन । यसपछि किडनी देखि लिएर अरु अर्गानहरु पनि फेलरमा गयो । हामीले जतिसुकै राम्रो एनटीवायोटिक्सहरु दिए पनि त्यसले काम गरेन । बारम्बार डायलासिस पनि भएको थियो तर आइसियुमा उपचार चल्दै गरेको अवस्थामा विहीबार बिहान ७ बजे बिरामीको निधन भयो ।

थापाअघि भट्टराई र श्रेष्ठ

अहिले रामप्यारी थापाको घटना विवादास्पद बनेजस्तै २०७४ को भदौ २९ गते कमला भट्टराई र २०७४ को चैत्रमा सावित्री श्रेष्ठको घटना पनि ओम अस्पतालमै भएका थिए । मेडिकल काउन्सिल र प्रहरी प्रशासनले पनि यस्ता घटनालाई गम्भीर रुपमा नलिइदिंदा कुनै पनि घटनामा पीडित पक्ष सन्तुष्ट हुनसकेको छैन । मृतकका परिबारलाई क्षतिपूर्ति दिदै सत्यतथ्य लुकाउँदै गर्ने छुट पाएका कारण अस्पतालबाट फेरि यस्तो घटना भएको मृतकका आफन्तको भनाइ छ ।

कानुनमा के छ ?
मुलुकी ऐनको अपराध संहितामा बिरामीको उपचारमा लापरबाही भएको ठहरेमा उपचारमा संलग्न चिकित्सकलाई पाँच वर्षको जेल सजाय र ५० हजार रुपियाँ जरिवाना हुने उल्लेख गरिएको छ ।

तर चिकित्सकको लापरवाही प्रमाणित गर्ने निकाय मेडिकल काउन्सिल नेपाल यतिबेला पदाधिकारीविहीन अवस्थामा छ । पदाधिकारी भए नै पनि अहिले सम्म बिरामीको पक्षमा काउन्सिलले निर्णय गरेको कुनै घटना छैन ।

सर्वोच्च अदालतले भने एकजना बिरामीको आँखाको उपचार गरि बिकलांग नै बनाएको ठहर गरि ब्लूक्रस नर्सिङ होम र उपचारमा संलग्न चिकित्सकलाई कानूनी कारवाही सहित क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्