जापानका प्रधानमन्त्री इरान भ्रमणमा



तेहरान ।
जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गर्नुभएको छ । प्रधानमन्त्री आबे संयुक्तराज्य अमेरिका र इरानबीच जारी द्वन्द्व र तनाबलाई मत्थर पार्ने उपायको खोजी गर्न इरानको भ्रमणमा हुनुहुन्छ ।

प्रधानमन्त्री आबेको यो भ्रमण सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक भएको हो । अमेरिकासँग अतिनिकट सम्बन्ध रहेको जापानको इरानसँग पारम्परिक सम्बन्ध रहिआएको छ । खामेनीको आधिकारिक ट्वीटमा जापानका प्रधानमन्त्री शिन्जो आबेसँगको भेटवार्ताका तस्वीरहरु राखिएको छ ।

गत वर्ष मे महिनामा संयुक्तराज्य अमेरिकाले सन् २०१५ को ऐतिहासिक इरानी आणविक सम्झौता त्याग्ने घोषणा गरेपछि दुबै मुलुकबीचको सम्बन्ध चिसिएको छ । अमेरिकाले उक्त आणविक सम्झौताको आडमा आणविक हातहतियार निर्माणलाई गुप्तरुपमा विकास गरिरहेको आरोप लगाएको छ ।

हाल संयुक्तराज्य अमेरिकाले इरानमाथि कडा नाकाबन्दीको घोषणा गर्नुका साथै सम्भावित इरानी आक्रमण भन्दै मध्यपूर्वमा सैनिक उपस्थिति बाक्लो बनाएको छ । अमेरिकी प्रतिबन्धसँगै इरानी खनिज तेलको बिक्री रोकिएको छ जसबाट भारत, चीन, जापान समेतका प्रमुख तेल आयातकर्ता मुलुकहरुको अर्थतन्त्रमा नकारात्मक असर पर्ने अनुमान गरिएको छ ।

इरानले यमनका विद्रोही हुथी समूहलाई राजनीतिक, आर्थिक तथा हातहतियार उपलब्ध गराएको आरोप समेत लाग्ने गरेको छ जसलाई इरानले लगातार अस्वीकार गरिरहेको छ । हुथी विद्रोहीले छिमेकी मुलुक साउदी अरेबिया, युएई समेतका मुलुकमा ड्रोन र क्षेप्यास्त्र आक्रमण गरिरहेको आरोप लाग्दै आएको छ ।

जापानी प्रधानमन्त्री आबेले अहिले मध्यपूर्वका मुलुकहरुमा तनाब बढ्दै गएको र भिषण द्वन्द्व कुनै पनि समय शुरु हुन सक्ने बताउनुभएको छ । उहाँले सशस्त्र युद्धको अवस्था आउन दिनु हुँदैन भन्नुभयो । प्रधानमन्त्री आबेले जापानले तनाब न्यून गर्न सबै प्रयास गर्ने बताउँदै यही एकमात्र उद्देश्यका साथ आफू इरान आइपुगेको बताउनुभयो ।

तेहरानमा आयोजित पत्रकार सम्मेलनमा इरानी राष्ट्रपति रौहानीले संयुक्तराज्य अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दीजस्तो दबाब रोकेमा मध्यपूर्वमा सकारात्मक परिवर्तनको सम्भावना धेरै रहेको बताउनुभयो । उहाँले अमेरिकाले इरानमाथि सैनिक हस्तक्षेत्र गरेमा त्यसको उचित जवाफ दिइने चेतावनी पनि दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्