पानीको अभावले रोपाइँमा आलोपालो



चिरञ्जीवी मास्के, दाेलखा
दोलखा सदरमुकाम चरिकोटसंग जोडिएको सानो गाँउ हो रामकोट । पानीको सङ्कटले रोपाईमा समस्या भएपछि रामकोटका स्थानिय समुदाय मिलेर रोपाईमा आलोपालो सुरु गरेका छन् । आलोपालो नहुदा रोपाईमा पानीकै लागि बेला बखत झै –झगडा समेत हुने गरेको रामकोटमा अहिले असारे भाखाको तालमा आत्मियताका साथ रोपाई हुदै आएको छ ।

रोपाईको लागि आलोपालो गर्न स्थानिय समूदायले समितिनै बनाएका छन् । र त्यहि समितिले दिनमा दुईवटासम्म रोपाईको लागि आलोपालो मिलाउने गर्छ – स्थानिय हिमाल न्यौपानेले भने । अब असारमा पानीको मुहान बढ्न थालेपछि दिनमा तीन वटासम्म रोपाई गर्न सकिने न्यौपानेको भनाई छ ।

आलोपालोले अहिले रामकोटमा पानीकोमात्र हैन खेतालाको समेत समस्या हल भएको छ – स्थानिय हिमाल न्यौपानेले भने । आलोपालो नहुदा पानीको समस्याले झै झगडाको खतरा त थिदै थियो, खेतालाको अभावमा कतिपयले समयमा रोपाई गर्न सक्दैन थिए स्थानिय हिमालले भने – अहिले आलोपालो हुने भएपछि पानीको समस्या पनि केहि हदसम्म टरेको छ, अनि आत्मीयतासंगै छिमेकीको रोपाईमा सहयोग गर्ने संस्कारको पनि विकास भएको छ ।

भीमेश्वर नगरपालिकाको वडा नम्बर ६ मा पर्ने रामकोटमा झण्डै एक सय घर धुरीको करिब दुई सय रोपनी खेत छ । चरिकोटबाट आधा किलोमीटरको दूरीमा रहेको उपत्यका जस्तो रामकोटमा पानीको समस्या नहुदा प्रयाप्त धान खेती हुने गरेको स्थानिय बताउछन् ।

पानीको अभावले विगतमा रोपाईको बेला झगडा हुने गरेको रामकोटमा हिजआज दैनिक असारे भाखाको तालमा रमाईलो गर्दै रोपाई हुने गरेको अर्का स्थानिय रामप्रसाद न्यौपानेले बताए । रोपाईमा आलोपालोले रामकोटको रौनकनै फेरिएको र अब हरेक कुरामा सहयोग गर्ने भावनाको समेत विकास हुदै गएको रामप्रसाद बताउछन् । रामकोट उपत्यकामा राम्रो धान फल्ने भएकोले स्थानिय तहले पानीको व्यवस्थापनमा सहयोग गर्नुपर्ने रामप्रसादको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्