‘वातावरण तथा दिगोपनाका बारेमा बिश्व सम्मेलन हुने



नेपाल समाचारपत्र
काठमाडौं । त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागको आयोजनामा आगामी नोभेम्वर २२ देखि २४ सम्म काठमाडौंमा ‘वातावरण तथा दिगोपना सम्वन्धित विश्व सम्मेलन’ हुने भएको छ ।

सम्मेलन सुदुरपश्चिम, नेपाल खुल्ला,संयुक्त राज्य अमेरिका स्थित क्यालिफोर्निया स्टेट विश्वविद्यालय, कोलोरोडा स्कुल अफ साइन्स, जोन हप्किन्स, फ्लोरिडा कृषि तथा यान्त्रिक, फ्लोरिडा स्टेट तथा वायोमिङ्ग विश्वविद्यालयसँगको सहकार्यमा सम्मेलन आयोजना हुन गइरहेको हो ।

सम्मेलनमा वायु प्रदुषण तथा जलवायु परिवर्तन,फोहर मैला व्यवस्थापन,दिगो विकास तथा वातावरणीय नीति लगायतका विषयमा विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्रिविले आयोजना गरेको पत्रकार सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थराज खनियाले सम्मेलनवाट वातावरण सम्वन्धि महत्वपूर्ण विषयमा अन्तराष्ट्रिय क्षेत्रमा अनुभव प्राप्त वैज्ञानिकहरुले महत्वपूर्ण सुझाव प्राप्त हुने वताउनुभयो ।

उहाँले वातावरणको क्षेत्रमा मुलुकले भोगिरहेको प्रतिकुलतालाई सम्वोधन गर्न आगामी सम्मेलन कोशेढुंगा सावित हुने धारणा व्यक्त गर्नुभएको थियो ।

वातावरण केन्द्रीय विभागका प्रमुख प्राडा रेजिना मास्केले वातावरणीय दिगोपना जस्ता मुद्दाहरुलाई सम्वोधन गर्न सन् २०३० सम्ममा प्राप्त गर्ने लक्ष्यका साथ दिगो विकासका लक्ष्य तर्जुमा गरिएको परिपेक्षमा विकास लक्ष्य अनुसार आर्थिक विकास, वातावरणीय संरक्षण तथा सामजिक न्याय जस्ता विषयहरु एकसाथ अघि वढने विश्वास व्यक्त गर्नुभएको थियो ।

वातावरण विभागका प्राध्यापक डा.केदार रिजालले विश्व सम्मेलन आयोजना गर्नुको उद्देश्यका वारेमा प्रष्ट पार्नुभएको थियो । क्यालिफोर्निया स्टेट विश्वविद्यालयका सह–प्राध्यापक डा.मोहन डाँगीले विश्व सम्मेलनका तयारीका वारेमा जानकारी गराउनुभएको थियो । सम्मेलनमा विश्वका २ सय बैज्ञानिक काठमाडौंमा उपस्थित हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्