सदस्य सचिवमा शाहीको दाबी



काठमाडौं, (नेस)
राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव पदमा राखेपकै सदस्य सुदिल शाहीले दाबी गरेका छन् ।

असार ९ गतेदेखि रिक्त हुन लागेको सदस्य सचिव पदमा शाहीले गरेका हुन् । करिब साढे ३ दशकदेखि खेल जीवनमा प्रवेश गरेका शाही नेकपाका अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड) खेल प्रशिक्षकको रुपमा काम गर्दै आएका छन् । प्रचण्डका खेलकुदका गुरु भनेर चिनिएका शाहीले साढे ४ वर्षदेखि प्रचण्डलाई टेबलटेनिस सिकाउदै आएका छन् ।

लगातार १५ वर्षदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको रुपमा लागि परेका शाही नेपालका चर्चित टेबल टेनिस खेलाडीको रुपमा परिचित छन् । दर्जनौ विद्यालय तथा संघ संस्थामा आबद्ध रहेर खेल र खेलकुद क्षेत्रको विस्तार र बिकासमा तल्लिन शाही बिगत दुई वर्षदेखि राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यको रुपमा छन् ।

प्रदेश ३ को खेलकुद परिषदको संयोजक रहेका शाहीले खेलकुद क्षेत्रमा आफुले गरेको योगदानलाई खेलाडी समक्ष परिचय दिन र राखेपको सुधार गर्न सदस्य सचिवको लागि दाबी गरेको बताए । उनले भने–खेल र खेलाडीको भविष्य सुनिश्चित गर्न र समग्र खेलकुद क्षेत्रको विकास गर्न आफुले सदस्य सचिवमा दाबी गरेको हो ।

नेपालमा आयोजना हुन लागेको १३औ दक्षिण ऐशियाली खेलकुद प्रतियोगिता र सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकुदको तयारी तथा प्रशिक्षणको व्यवस्थापनको जिम्मा पाएका शाहीले आफु सदस्य सचिव भए खेल क्षेत्रको थप विकास र बिस्तार गर्न लागि पर्ने बताए ।

अर्थशास्त्रमा स्नातकोत्तर शाही नेपाल विभिन्न १० क्षेत्रमा सम्पन्न टेबल टेनिस प्रतियोगितामा पदक प्राप्त गरिसकेका छन् । त्यस्तै बंगलादेशमा सम्पन्न अन्तराष्ट्रिय टेबल टेनिस प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका थिए । थाइल्याण्डमा ३ र जापानमा सम्पन्न प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता समेत जनाए उनले ।

यसैगरी ७ वटा फुटबल, बास्केटबल टुर्नामेन्टमा मेनेजरको भुमिका निर्वाह गरेका उनी नेशनल स्पोस्र्ट सोसाइटीका र ललितपुर जिल्ला टेबलटेनिस एसोशियसनका अध्यक्ष पदमा रहेका छन् । उनी ब्रिटिस, सेन्ट मेरिज, ल्याबोरेटरी, युलेन्सलगायत स्कुलका टेबलटेनिस प्रशिक्षकको रुपमा काम गर्दै आएका आएका छन् ।

प्रतिक्रिया दिनुहोस्