ब्रमास्मी एसईई कप कैलालीलाई



नेपाल समाचारपत्र, काठमाडौं
नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा मुलपानी क्रिकेट मैदानमा सम्पन्न ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिताको उपाधि कैलाली डल्फीनले जितेको छ ।

बुधबार भएको फाइनल खेलमा कैलाली डल्फीनले काठमाण्डौ रोयल्सलाई ७४ रनले पराजित गर्दै उपाधी जितेको हो । टस जितेर ब्याटिङ रोजेको कैलालीले २७.३ आभर खेल्दै सबै विकेट गुमाएर १ सय ६२ रन बनायो । टोलीका लागि सुदिप बस्नेतले २३ बलमा ३६ रन, साहिल पटेलले ४० बलमा २९ रन, डबल ऐरले ३६ बलमा २७ रन र सरद सुबेदीले १७ बलमा १६ रन बनाएका थिए । बलिङ तर्फ काठमाण्डौका सुमित बुढाथोकीले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै अनुप नेपाल र रोशन शाहले समान २÷२ विकेट हात पारेका थिए ।

जवाफी ब्याटिङ मा उत्रेको काठमाण्डौ १८.३ ओभरमा अल आउट हुँदै मात्र ८८ रनमा खुम्चिएको थियो । टोलीका लागि साहियद मन्सुरीले २६, निकेश गुप्ता १४, अनुप नेपाल १३ र सुनोज के सीले १२ मात्र बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंक पनि जोड्न सकेनन् । बलिङ तर्फ कैलालीका डबल ऐरले ५ ओभरमा १५ रन दिएर ह्याट्रीकसहित ६ बिकेट हासिल गरे । फाइनल खेलका म्यान अफ द म्याच डबल ऐर भएका थिए । प्रतियोगितामा म्यान अफ द सिरिज साहियद मन्सुरी, बेष्ट बलर निकेश गुप्ता र बेष्ट ब्याट्सम्यान सुदिप बस्नेत घोषित भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी ब्रह्मास्मी कलेजका अध्यक्ष क्षितिज उपाध्यायले प्रतियोगिताका म्यान अफ द सिरिज, बेष्ट बलर र बेष्ट ब्याट्स म्यान लाई ११ र १२ कक्षा अध्ययनका लागि निशुल्क छात्रबृती को घोषणा गर्दै अम्पाएर टिमले छनौट गरेका अन्य ३ उत्कृष्ठ खेलाडीलाई पनि निशुल्क छात्रबृती प्रदान गर्ने बताउनु भयो ।

उहाले ट्यालेन्ट हन्ट छनौट भैई ७ दिने बन्द प्रशिक्षणमा सहभागी सबै १२० खेलाडीहरु लाई ५० प्रतिशत छात्रबृती दिने र प्रतियोगितामा सहभागी ६४ जना खेलाडीहरु लाई खेल क्षमता र एसईईको रिजल्टको आधारमा छात्रबृतीको प्रतिशत बढाउने समेत जानकारी गराउनु भयो ।

कार्यक्रम का सभापति एबं नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले पनि उत्कृष्ठ ६ खेलाडीलाई एकेडेमीको शाखाको रुपमा संचालित भारतको नोयडा स्थीत ब्याट्रीक क्रिकेट एकेडेमीमा १ बर्ष निशुल्क प्रशिक्षणको घोषणा गरे । निकट भबिस्ययमा श्रीलंकामा सम्पन्न हुने सिरीजका लागि प्रतियोगितामा सहभागी खेलाडी मध्यबाट १४ जना तत्काल छनौट गरिने पनि उनले बताए ।

देशभरका १२ स्थानमा ट्यालेन्ट हन्ट गरी १२० जना खेलाडीहरु छनौट गर्दै छनौट भएका खेलाडीका लागि काठमाण्डौमा ७ दिने बन्द प्रशिक्षण गरिएको थियो । उक्त बन्द प्रशिक्षण बाट ६४ खेलाडी छनौट गरि ४ टिममा अक्सनबाट बिभाजन गर्दै राउण्ड रोबिन लिग आधारमा उक्त प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगितामा कैलाली डल्फीन, काठमाण्डौ रोयल्स, बिराटनगर लाईन्स र दङगाली त्रिशुल सहभागी भएका थिए ।

एसईई कप २०७७ मा भने थप ४ सामरिक महत्वका शहर हरुको नाम का टिम थप गरिने जानकारी गराउदै अक्सनमा छनौट हुने खेलाडी को पारिश्रमिक निर्धारण गरिने एकेडेमीका प्रबन्ध निर्देशक बिजय शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्