हज कार्यसम्पादन समितिका लेखापालसहित १० जनाविरुद्ध मुद्दा दायर



काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले हज कार्यसम्पादन उपसमितिका पदाधिकारी, हज समिति सचिवालयका सदस्य–सचिव र लेखापाल तथा हिना ट्राभल्स एण्ड टुर्सका संचालकको मिलेमतोमा सबैभन्दा कम अंक प्रस्ताव गरी हज यात्री ल्याउने लैजाने जिम्मा लिने संस्थाको बोलपत्र स्वीकृत नगरी दोश्रो कम अंक कबोल गर्ने संस्था हिना ट्राभल्स एण्ड टुर्सको एकलौटी ढंगले बोलपत्र स्वीकृत गरी हज पठाएको भन्दै बुधवार मुद्दा दायर गरेको हो ।

हज समितिका लेखापाल तिलकराज पन्तसहित मोहम्मद शोऐब, अतावुल अंसारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, भीमराज पोखरेल र दाउद हुसैनविरुद्ध मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार गत २०७४ सालमा नेपालबाट साउदी अरब जाने हज यात्रीहरूलाई आउन जानको लागि हवाई टिकट व्यवस्था गर्न नेपाल हज समितिको सचिवालयले २०७४ साल जेठ ११ गते शिलबन्दी बोलपत्र आह्वान गरेको थियो । तर उक्त सूचना पश्चात रित पूर्वक दर्ता हुन आएका यूनिभर्सल टूर्स एण्ड ट्राभल्स, हिना टूर्स एण्ड ट्राभल्स, सिलिङ्क टूर्स एण्ड ट्राभल्समा बोलपत्र दाताहरूले क्रमशः ८८ हजार ९ सय ९५, ९० हजार र ९५ हजार ३ सय कबोल गरेकोमा सबैभन्दा कम रुपैयाँमा तिर्थयात्री ल्याउने लैजाने जिम्मा लिने संस्थासँग सम्झौता गरी बोलपत्रको कार्यान्वयन नगरेको अनुसन्धानमा खुल्न आएको छ ।

अनुसन्धानका क्रममा हिना ट्राभल्स एण्ड टुर्सलाई हवाई टिकटको सम्पूर्ण रकम भुक्तानी दिएको बोलपत्रमा उल्लेख भए बमोजिम उक्त कम्पनीले बोलपत्र जमानत वापतको ३८ लाख जफत गर्नुपर्नेमा बोलपत्र जमानत तथा कार्यसम्पादन जमानतसमेत फुकुवा गरिदिएको पाइएको सहायक प्रवक्ता कोइरालाले बताउनुभयो । कोइरालाका अनुसार उनीहरुलाई कानून बमोजिमको जरिवानासहित कारवाहिको माग गरि मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्