लमजुङ अपराधमुक्त जिल्ला !



नेपाल समाचारपत्र, लमजुङ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले लमजुङलाई अपराधमुक्त जिल्ला बनाउने प्रण गर्नु भएको छ । प्रनाउ गुरुङले आफ्नो कार्यकक्षमा पत्रकार भेटघाटको आयोजना गरी बुधवार त्यस्तो बताउनुभएको हो ।

यस जिल्लामा भरखरै पदस्थापन (सरुवा) भई आउनु भएका उहाँले आफू कास्की जिल्लामा बसेर आएको हुँदा लमजुङमा काम गर्न धेरै सहज अनुभव गरेको बताउँदै तर पनि स–साना कुराहरू बढ्दै जाँदा जटिल हुने हो म पत्रकारहरूसँग सहकार्य गरी लमजुङलाई अपराध मुक्त जिल्ला बनाउने प्रण गर्दछु भन्नुभयो । उहाँले लमजुङमा पुराना केसका अपराधी पत्ता लगाउने, लागू औषध र जुवातासको बढी समस्या भएको देखिएको आफूले पाएको बताउनु भयो । पछिल्ला दिनमा बेसीशहर बजारमा ट्राफिकको पनि समस्या देखिएको आफूले अनुभव गरेको सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘सुरक्षित लमजुङको प्रत्याभूति दिन कुनै कसर बाँकी राख्ने छैन ।’

उहाँले कास्कीमा कार्यरत रहँदा एक महिनाको अवधिमा एक सय ५१ जना अपराधीलाई पक्रेर कारावही गरेको समेत बताउँदै महिला हिंसा तथा बालबालिका र जेष्ठ नागरिकको हकमा शून्यसहनशीलता अपनाउने जानकारी दिनु भयो । उहाँले नेपाल प्रहरीले सञ्चालन गरेका सामुदायिक साझेदारी, मुस्कान सहितको सेवा आदि अभियानलाई निरन्तरता दिदै मानवअधिकारको रक्षा गर्ने प्रतिवद्धता पनि जाहेर गर्दछु भन्नुभयो । उहाँले पत्रकार र प्रहरीको उद्देश्य एउटै भएको हुँदा अपराध नियन्त्रण तथा मुलुकको विकासका कार्यमा सहकार्य गर्ने बताउनु भयो । उहाँले कार्यक्षेत्रमा खटिरहँदा हामीबाट हुने कमीकमजोरीलाई पनि औंल्याइदिएमा परिस्कृत हुने मौका मिल्ले पनि प्रनाउ गुरुङले बताउनु भयो ।

सो अवरिमा प्रहरी निरीक्षक बसन्त पाण्डेले पत्रकारहरूको स्वागत गर्दै पत्रकारहरूसँग साझेदारी गरी मानवअधिकार र सूचनाको हकको प्रत्याभूति गराउन नेपाल प्रहरी सदा तत्पर रहेको बतउनु भयो ।

त्यस्तै सो अवसरमा पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङले प्रहरीसँग आफूहरूले समदुरीमा रहेर कर्तव्य निभाउने बताउनु भयो । उहाँले प्रहरीले पक्रेर ल्याएका व्यक्तिहरूले जिल्ला प्रहरी कार्याmलयमा एकथरी र अदालतमा अर्कोथरी बयान दिने प्रवृत्ती निरुत्साहित गर्न प्रनाउँलाई सुझाव दिनु भएको थियो ।

यसैगरी, पत्रकार महासंघका पूर्वअध्यक्ष कृष्ण केसीले प्रहरीले पूर्वसूचना पाउने कार्यमा बढी ध्यान दिनु पर्ने देखिएको सुझाव राख्नु भयो । त्यस्तै, पत्रकार महासंघ लमजुङका संस्थापक अध्यक्ष नवराज पहाडीले महंगी नियन्त्रण तथा बसवालालाई स्कूलिङ गर्ने तथा गाडीमा टिकट दिने र दूरी अनुसारको भाडादर गाडीमा टास्ने बानीको विकास गर्न सक्दा सर्वसाधारणलाई सहज हुने अनुभव सुनाउनु भयो । त्यस्तै पत्रकार मीना गुरुङले जिल्लामा रहेका स्थानीय सञ्चारमाध्यमलाई बाइपास गर्ने प्रवृत्तीमा सुधार गर्नु पर्ने देखेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्