स्थानीय तह जुटे बजेट निर्माणमा



धनवीर दाहाल, रुकुम ।
आगामी आर्थिक बर्षको बजेट,निति तथा कार्यक्रमका बिषयमा स्थानीय तहहरुले सरोकारवालासँग छलफल तिब्र बनाएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर स्थित राजनितिक दल, संघ संस्था एवं अन्य सरोकारवालासँग बजेट, निति तथा कार्यक्रमका बिषयमा छलफल गरेको हो । शोमबार चौरजहारी नगरपालिकामा भएको पुर्व बजेट एवं निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रलाई समेटेर निति तथा कार्यक्रम ल्याउन सरोकारवालाले सुझाव दिएका छन् ।

आत्मनिर्भर, एकता र समृद्ध नगरपालिका निर्माण गर्ने नारालाई व्यवहारिक रुपमा कार्यान्वन गर्नका लागी आगामी बजेटले बिशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर के.सीले नगरपालिकालाई समृद्ध बनाउन कृषि, शिक्षा एवं स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकता राख्न सुझाव दिनुभयो । नेपाली कांग्रेसका प्रतिनिधि बलबिर गोसाँईले देखिने खालका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

सरोकारवालाका सुझावलाई निति तथा कार्यक्रम एवं बजेटमा समेट्ने नगरप्रमुख बिशाल शर्माले प्रतिबद्धता जनाउनुभयो । नगरप्रमुख शर्माले भन्नुभयो “नगरपालिकालाई समृद्ध गराउन कार्यक्रम ल्याइने छ । नगरलाई समृद्ध बनाउने अभियानमा सबैको सहयोगको अपेक्षा गरेको छु ।” यस अघि नगरपालिकाले १४ वटै वडामा योजना तर्जुमा र आगामी बजेट सम्बन्धी सरोकारावालासँग छलफल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्