विद्यालय जान लागेकी बालिकाको चट्याङ लागेर मृत्यु, ३ जना घाइते



परशुरामधाम । डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया सङ्गीता भाट रहेकी छन् । आज बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

बिहान ७ बजेतिर विद्यालय जानका लागि तयारी गरिरहेको बेला उनलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिनुभयो । सङ्गीता भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

प्रहरी निरीक्षक पाण्डेयका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्य तीन घाइते भएका छन् । घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट रहेका छन् । मीना मृतक सङ्गीताकी दिदी हुन् । घाइतेमध्ये भरतको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्