प्रितम सेकेन्ड रनर्सअप



चर्चित भारतीय सिंगिङ रियालिटी शो सारेगम लिटिल चाम्सको फाइनलमा नेपालका प्रितम आचार्य सेकेन्ड रनर्सअप र आयुष केसीले चौथो स्थान हासिल गरेका छन्।

आइतबार राति भारतीय टेलिभिजन च्यानल जीटीभीबाट प्रसारित फाइनलमा पुगेका ६ जनामध्ये सुगन्धा दातेले उपाधि जितिन् भने मोहम्मद कैफ दोस्रो भएका छन्।


सुनसरी, इटहरीका प्रितम आचार्य इटहरीस्थित विश्व आदर्श स्कुलमा अध्ययनरत छन्। आयुष सिन्धुपाल्चोक घर भई हाल भक्तपुरस्थित मोर्डन बोर्डिङ स्कुलमा अध्ययनरत छन्। ११ वर्षका प्रितम र १२ वर्षका आयुष भारतभरिका २ हजारभन्दा बढी बाल प्रतिभालाई उछिन्दै फाइनलका लागि छनौट भएका थिए भने अन्तिम ६ मा पुगेपछि उनको चर्चा अझै चुलिएको थियो।

सोमबार नेपाल फर्किएका प्रितमलाई काकडभित्तामा भव्य स्वागत गरियो भने आयुषलाई बाजागाजासहित त्रिभुवन विमानस्थलमा उनका आफन्त र शुभचिन्तकले भव्य स्वागत गरेका थिए। उनीहरू २ वर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणका फाइनलिस्ट हुन्। प्रतिस्पर्धामा १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सहभागिता जनाउन पाउने व्यवस्था छ। यस वर्ष नेपालका ८ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्