क्यान्सर हुँदै विश्वकप जिते युवराजले



नयाँ दिल्ली, (एजेन्सी)
क्यान्सर जस्तो खतरनाक रोगबाट मुक्त भएर फेरि मैदानमा खेल्ने साहस गरे उनले । उत्कृष्ट खेले पनि उनले । खेल्दा उनी स्वस्थ नै देखिन्छ । यही खेलाडीले हालै अन्तर्राष्ट्रिय करियरलाई विश्राम दिएका छन् ।

भारतका अलराउन्डर युवराज सिंहले गएको सोमबार क्रिकेटका सबै फम्र्याटबाट संन्यास लिएका हुन् । उनले १९ सालको सुन्दर करियर समाप्त पारे । उनी २०११ मा भारतले जितेको क्रिकेट विश्वकपमा प्लेयर अफ द सिरिज घोषित भएका थिए ।

युवराजले बताए—विश्वकप जित्नु नै मेरो करियरको सबैभन्दा स्मरणीय क्षण हो । क्यान्सर जस्तो रोग पालेरै युवराजले विश्वकपमा खेले । विश्वकप जित्ने सपना पनि पुरा गरे । यसपछि मात्रै उनले क्यान्सरको उपचार गराएका थिए । उनले क्यान्सरलाई जितेर फेरि खेलेका थिए ।

६ बलमा ६ छक्का
२००७ मा टी २० विश्वकपको पहिलो सिजनमा इंग्ल्यान्डविरुद्ध खेलमा युवराजको जादुइ प्रदर्शन भयो । इंग्ल्यान्डका लागि १८औं ओभरमा एन्ड्रयु फ्लिन्टफले बलिङ गरेका थिए । युवराजले फ्लिन्टफको दुई बललाई बाउन्ड्री पार गराए । युवराजले लगालग दुई चौका प्रहार गरेकोमा फ्लिन्टफ रिसाएका थिए । उनको युवराजसँग शब्द युद्ध पनि भएको थियो । १९औं ओभरमा स्टुआर्ट ब्रोडले बलिङ गर्न आए । युवराजले उनको ६ बलमै लगातार छक्का प्रहार हान्दै १२ बलमै अर्धशतक पुरा गरेका थिए ।

यो खेल भारतले १८ रनले जितेको थियो । युवराजले १७ ओभरको पाँचौ बलमा ब्याटिङ गर्न क्रिजमा आएका थिए । त्यतिबेला भारतको स्कोर ३ विकेटको क्षेतिमा १ सय ५५ रन थियो । यसपछि युवराजले १६ बलमा ५८ रन बनाएपछि भारतले २० ओभरमा २ सय १८ रन जोडेको थियो ।

पंजाबी फिलिममा पनि सिंह
१९८१ मा चण्डीगढमा जन्मेका युवराजले पन्जाबी फिलिममा बाल कलाकारको रुपमा काम गरिसकेका थिए । तब उनलाई फिलिमको मोहले आकर्षण गर्न सकेन । उनले पछि क्रिकेटमै सफल करियर बनाए । उनी यो खेलमा जमे । करियरमा उनले ४० टेस्ट खेल्दै ३३.९२ को औसतमा १ हजार ९ सय रन बनाएका छन् । उनले ३ शतक र ११ अर्धशतक प्रहार गरे । त्यस्तै वानडे अन्तर्राष्ट्रियमा ३ सय ४ खेल खेलेर उनले ३६.५५ औसतसहित ८ हजार ७ सय १ रन बटुलेका छन् ।

युवराजले वानडेमा १४ शतक र ५२ अर्धशतक प्रहार गरिसकेका छन् । उनले टी २० अन्तर्राष्ट्रियमा २८.०२ औसतसँगै १ हजार १ सय ७७ रन बनाएका छन् । उनले टेस्टमा ९, वानडेमा १ सय ११ र टी २० अन्तर्राष्ट्रियमा २८ विकेट लिएका छन् । यसैले पनि उनलाई अलराउन्डर क्रिकेटरको रुपमा परिचित गराएको हो ।

प्रतिक्रिया दिनुहोस्