पालेदाइ बनाउँछन् लालपुर्जा, पियनभाइ भिडाउँछन् श्रेस्ता



मोतीराम तिमल्सिना, काभ्रे ।
मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा मंगलबार दिनभर सुरक्षाका लागि खटिएका ‘पालेदाइ’ लालपुर्जा बनाउने र ‘पियनभाइ’ मोठ श्रेस्ता भिडाउने कार्यमा खटेका देखिए ।

‘कानुनत यो जिम्मेवारी दिनु गलत हो, जनशक्ति अभावका कारण हामी बाध्य छौं’–मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत ध्रुर्व्रप्रसाद कोइरालाले लाचारी देखाउनु भयो– तर, यसको सम्पूर्ण जिम्मेवारी म लिन्छु ।

मालपोत कार्यालयमा कर्मचारीको अभाव चाहिं निकै चर्को नै देखियो । कर्मचारी नभएको कारण देखाउँदै शुक्रबार, आइतबार र सोमबारको राजस्व जम्मा नभएपछि मंगलबार भएको छड्के जाँचमा आठ कर्मचारी अनुपस्थित देखिए । कर्मचारी अभावकै कारण सुरक्षा गार्ड र कार्यालय सहायक ‘हाकिम’ को जिममेवारी पूरा गर्न बाध्य थिए ।

छड्के जाँचका लागि विभागबाट आएका कर्मचारीले बैंक दाखिला गर्नबाँकी १ करोड २६ लाख ४४ हजार २ सय ७९ रुपियाँ भएको पाए, जो कानुनतः आपत्तिजनक हो ।
राजस्व संकलन अनियमित भएको सूचना प्राप्त भएपछि शाखा अधिकृत टीकाराम निरौला र एकनारायण अर्यालको टोली विभागबाट छड्के अनुगमनमा आएको थियो ।

कोइरालाले भन्नुभयो– ८ जना कर्मचारी अनुपस्थित देखिए, १ बजेसम्मको विदा मिलाएर काममा फर्कायौं ।

४५ जना दरवन्दीमा १६ व्यक्ति अझै मालपोतमा छैनन् ।

धुलिखेलको सार्वजनिक सडक किचबेच गराउने पनि यही मालपोत कार्यालय हो । कर्मचारीको चरम लापर्वाही र अनियमितताकै कारण अनौठा घटना हुनेगरेको सेवाग्राहीहरुको टिप्पणी छ ।

यस्तै लापर्बाही सडक विभागमा पनि छ । त्यहाँका कर्मचारीको लार्पवाहिका कारण व्यक्तिका नाममा भएको जमिन सबै सडकमा परेको छ । पछिल्लो एक जानकारीअनुसार सडकको ६० कित्ता जमिन आज पनि व्यक्तिको नाममा दर्ता छ । करिब ५ सय मिटर सडकखण्ड ओगटेको जमिनको व्यक्तिले लालपुर्जा बोकेर हिंडेका छन् ।
सडक विभागले लगत्त कट्टा नगर्दा ब्यक्तिले सडकमा परेको जमिनको स्थानीय सरकारलाई राजस्व बुझाइरहेका छन् ।

‘पिच सडक विक्री हुनु लगत कट्टा नहुनु प्रमुख कारण हो’–नापी कार्यालय काभ्रेका अधिकृत सुरेश मानन्धरले भन्नुभयो–‘जिल्लाका प्रमुख मार्गहरुमा पनि लगत कट्टा हुन सकेको छैन, जसका कारण ब्यक्तिका नाममा भएको जमिन सडकमै परेको अवस्थामा पनि किनबेच सहज भएको छ ।’

अरनिको राजमार्गको २८ किलोदेखि भूमि ब्यवस्थापन केन्द्र जाने चोकसम्म चार सय २५ मिटर सडकमा पर्ने झण्डै ६० कित्ता जमिनको अवस्था हो यो । जमिन सडकमा परेको भएपनि लगत कट्टा गरिएको छैन ।

लगत कट्टा गर्न कि त ब्यक्तिले निवेदन दिनुपर्छ कि त सडक विभाग आफैले उक्त कित्ता भएका जमिन सडकमा परेकाले लगत कट्टाको प्रक्रिया अघि बढाइदिन नापी कार्यालयलाई अनुरोध गर्नुपर्छ । सडक विभागले अनुरोध गरेपछि सम्वन्धित जग्गा धनी नापी कार्यालयमा उपस्थित भई ल्याप्चे लगाई दिएपछि मात्रै जमिन नेपाल सरकारको नाममा जान्छ ।

काठमाडौ विश्वविद्यालय जाने उक्त सडकको ४ सय २५ मिटर जमिन पिच भए पनि अझै ब्यक्तिको नाममा कायम छ । यसबीच यो जग्गा तीन पटक किनबेच भइसकेको समाचार नेपाल समाचारपत्रले प्रकाशित गरिसकेको छ ।

यस्तै, अरनिको राजमार्गको बनेपा पुलबजार खण्डदेखि बुडोल खोलासम्म सडकमा परेको जमिन अझै ब्यक्तिको नाममा कायम छ । ‘८२ कि ७५ फुट’ भन्ने विवादका कारण राजमार्ग फराकिलो बनाउनसमेत रोकिएको छ । खावासम्मको लगतकट्टा भए पनि खावादेखि दोलालघाट अझै राजमार्ग तातोपानीसम्म विवादकै कारण लगत कट्टा हुन सकेको छैन ।

‘राजमार्गको हकमा किनबेच हुँदा लगत कट्टा गरेर मात्रै कित्ताकाट गर्ने गरिएको छ’–नापी कार्यालय काभ्रेका अधिकृत मानन्धरले भन्नुभयो–‘जिल्लामा विपी राजमार्ग, बेथान्चोक र मण्डनदेउपुरमा स्तरोन्नती भएको सडकमा बाहेक अन्यत्र लगत कट्टा भएको छैन ।’

धुलिखेल नगरपालिका वडा नम्वर ४ अरनिको राजमार्गसँगै रहेको काठमाडौ विश्वविद्यालय मार्गको सडकको ३ आना जग्गा विक्री प्रकरणमा मालपोत कार्यालय काभ्रे र धुलिखेल नगरपालिकाका कर्मचारीको संलग्नता देखिएपछि छानविन शुरु भएको छ ।

मंगलबार भूमि ब्यवस्थापन तथा अभिलेख विभागको टोलीले पिच सडक विक्रीका बारेमा भएको श्रेस्ताहरुको अनुसन्धान गरेको छ । प्रमुख मालपोत अधिकृत कोईरालाले कानुनअनुसार दोषी देखिएका कर्मचारीहरुलाई कारवाही हुने बताउनुभयो । ‘अनुसन्धान जारी छ, धेरै कुरा बताउन मिल्दैन, अनुसन्धान सकिएपछि जानकारी गराउँला ।’

प्रतिक्रिया दिनुहोस्