पोर्चुगलको दोस्रो उपाधि



लन्डन, (एजेन्सी)
आयोजक पोर्चुगलले नेसन्स लिगको उपाधि भिडन्तमा नेदरल्यान्डस्लाई १–० ले हराएर तीन वर्षमा दोस्रो प्रमुख उपाधि जितेको छ ।

यसअघि पोर्चुगलले फर्नान्डो सान्टोसको नेतृत्वमा २०१६ को युरोपियन च्याम्पियनसिप जितेको थियो । आयोजक पोर्चुगलको जितमा गोन्कालो गुडेसले ६०औं मिनेटमा निर्णायक गोल गरेका थिए । नेसन्स लिग प्रतियोगिता पहिलो पटक आयोजना भएको हो । रोनाल्डोको पनि यो दोस्रो प्रमुख उपाधि हो । फ्रान्समा भएको युरो २०१६ जित्दा उनी टोलीका कप्तान नै थिए ।

प्रतियोगिताको फाइनलमा दुई चर्चित कप्तान पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो र नेदरल्यान्डका सेन्टर ब्याक भर्जिल भान डिएकबीच को उत्कृष्ट हुने भिडन्तको रुपमा हेरिएको थियो । दुबै खेलाडीले गत सिजनमा क्लबस्तरमा उपाधि जितेका थिए । रोनाल्डोले युभेन्टसलाई सिरि ए र भान डिएकले लिभरपुललाई च्याम्पियन्स लिग उपाधि दिलाएका थिए । ३४ वर्षीय रोनाल्डोले नेसन्स लिगअन्तर्गत सेमिफाइनल खेलमा स्विट्जरल्यान्डविरुद्ध ह्याट्रिक गरेका थिए ।

पोर्चुगल पछिल्ला १० खेलमा अपराजित रहेको छ । पोर्चुगल प्रमुख प्रतियोगिताको उपाधि आयोजकको रुपमा जित्ने फ्रान्स (१९९८ विश्वकप) पछि पहिलो युरोपियन राष्ट्र बनेको छ । नेदरल्यान्डस् भने चौथो पटक प्रमुख प्रतियोगिताको फाइनलमा पराजित भएको छ । यसअघि विश्वकपमा तीन पटक डच टोली फाइनलमा हारेको थियो ।

प्रतिक्रिया दिनुहोस्